लोकसेवा आयोगले निजामती तथा सङ्गठित संस्थाका विभिन्न पदमा गरेका विज्ञापनविरुद्ध परेका मुद्दाका कारण ठूलो सङ्ख्यामा कर्मचारीको पदपूर्ति अवरुद्ध हुने गरेको छ । खरिदार पदको विज्ञापनको पदपूर्ति तीन वर्षदेखि रोकिएको छ । कर्मचारी समायोजनको मुद्दाले आर्थिक वर्ष २०७६/७७ मा विज्ञापन भएर परीक्षा भएको खरिदारको नतिजा प्रकाशन रोकिएको छ । यसैगरी आव २०७७/७८ मा खुलेको खरिदारको विज्ञापनको अहिलेसम्म परीक्षा भएको छैन ।
राष्ट्रिय सभामा नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले आर्थिक वर्ष २०७८÷८० को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएपछि त्यसमा छलफल सुरु भएको हो ।
आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका कन्सल्टेन्सी व्यवसायी मनोज पाण्डेलाई कारबाही गर्न राष्ट्रिय सभाका सांसदहरूले माग गरेका छन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले बलात्कारजस्ता जघन्य हिंसा र अपराधमा भएको हदम्याद व्यवस्था हटाउनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौँमा सोमबारसम्म दक्षिणकाली नगरपालिका र कीर्तिपुर नगरपालिकाको निर्वाचन परिणाम सार्वजनिक भएको छ । दक्षिणकाली नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका मोहन बस्नेत निर्वाचित हुनुभएको छ । कीर्तिपुर नगरपालिकामा नेपाली काँग्रेसका राजकुमार नकर्मी विजयी हुनुभएको छ । उहाँले नौ हजार ४३ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेका रत्नकेशर वज्राचार्यले पाँच हजार ५०७ मत प्राप्त गर्नुभयो ।
स्थानीय तहको निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले गर्ने खर्चमा कमी आएको छ । निर्वाचनको प्रचार प्रसारका क्रममा प्रयोग गरिने विभिन्न खाले प्रचार सामग्रीमाथि बन्देज लगाएपछि खर्च कम भएको हो । हुन त कतिपय उम्मेदवारले रकम दिएर र भोज खुवाएर मतदातालाई आकर्षित गरेका समाचार पनि सार्वजनिक भएका छन् ।
स्थानीय निर्वाचनमा पहिलो पटक मतदान गर्न लागेका युवा मतदाता निकै उत्साहित भएका छन् । आफ्नो मताधिकार प्रयोग गरेर जनप्रतिनिधि छान्न पाउने कुराले उनीहरूमा उत्साह थपिएको छ । लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन पाउने र आफ्नो एक मतको विशेष महìव हुने विषयले नयाँ मतदातालाई जिम्मेवार बनेको पनि अनुभव भइरहेको छ ।