• २० वैशाख २०८१, बिहिबार

पाँचौँ पटक सडकको रुट फेरियो

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, साउन १३ गते । राप्ती लोकमार्गको सल्यान–रुकुम सडकखण्डअन्तर्गत जिल्लाको त्रिवेणी गाउँपालिका–३ र ६ नम्बर वडास्थित ढाँरेगैराको रुट २२ वर्षमा पाँचौँ पटक फेरिएको छ । पटक पटक एउटै स्थानमा रुट फेर्दा सडक छेउका जग्गा सखाप भएको स्थानीय बासिन्दाले बताएका छन् ।

पहिरो र हिलोका कारण यातायात सेवा अवरुद्ध हुन थालेपछि त्यस ठाउँमा पाँच पटक नयाँ रुट खोलिएको सडक डिभिजन कार्यालय चौरजहारीले जनाएको छ । डिभिजन कार्यालयका प्रमुख ध्रुवकुमार झाका अनुसार पहिरो र भू–क्षयका कारण खौला–झुल्नेटा–ढाँरेगैरा सडकखण्डमा २२ वर्षमा पाँच पटक रुट परिवर्तन गरिएको बताउनुभयो । हिउँदमा धुलो, वर्षामा हिलो र पहिरोका कारण ढाँरेगैरामा यात्रुले हैरानी खेप्दै आएका छन् । सडकमा गाडी चल्न थालेपछि ढाँरेगैरा सडकखण्ड पाँच पटक भासिएको छ । 

सडक डिभिजन कार्यालयले यस पटक २५० मिटर नयाँ रुट निर्माण गरेको जनाएको छ । यस्तै पुरानो सडक भासिएपछि त्यसको माथिल्लो भागमा नयाँ रुट खोलिएको र सो रुट खोलिएपछि यातायातका साधन आवतजावतमा सहज भएको कार्यालयको भनाइ छ । स्थानीय लोकबहादुर खड्काले स्थानीय चार परिवारको जग्गा सडकमै सकिएको बताउनुभयो । सुरुमा सडक बन्दा केही जग्गा गएको र अहिले त ढाँरेगैराका सबै जग्गा सडकमा मासिएको खड्काले बताउनुभयो । पहिलो पटक सडक बन्दा खुसी भएका स्थानीयलाई अहिले सडकले नै उठिबास लगाउने जोखिम बढेको छ । भएको सबै जग्गा सडकमा मिसिएको, सडकबाट आएको पहिरोले पुरिएपछि जीविकोपार्जनमा समेत समस्या भएको उहाँको भनाइ छ । पछिल्लो पटकको सडकको नयाँ रुट बनाउँदा कसैले पनि क्षतिपूर्ति नदिएको पीडितको भनाइ छ । 

क्षतिपूर्तिबिनै सडक डिभिजन कार्यालयले सडक विस्तार गरेपछि स्थानीयवासी निकै पीडित बनेका छन् । स्थानीय देवबहादुर ओलीले सडककै कारण ढाँरेगैराको सबै जमिन भासिँदै गएको बताउनुभयो । यसको दिगो समाधान र स्थानीयवासीको समस्या सम्बोधन गर्न स्थानीय सरकार मुकदर्शक बनेको उल्लेख गर्नुभयो । उहाँले क्षतिपूर्ति माग गर्दै स्थानीय सरकारदेखि सडक डिभिजन कार्यालयसम्म जाँदा निकै सास्ती पाए पनि कसैले वास्ता नगरेको जानकारी उहाँले दिनुभयो । जिल्लामा राप्ती लोकमार्ग पुगेपछि २०५९ देखि यातायातका साधन सञ्चालन हुँदै आएका छन् ।