• १३ साउन २०८१, आइतबार

परिक्रमा क्षेत्रमा मासु मदिरामा रोक

blog

जिल्ला प्रशासन कार्यालय महोत्तरी । तस्बिर: गोरखापत्र

रवीन्द्र उप्रेती

बर्दिबास, फागुन ३० गते । महोत्तरी प्रशासनले मिथिलाञ्चलको महापर्व परिक्रमा यात्रा आसपासका क्षेत्रमा मासु मदिरामा रोक लगाएको छ । यस अवधिभर पशु वधमा पनि निषेध गरिएको छ । 

महोत्तरी प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले सूचना जारी गर्दै परिक्रमा यात्राका विश्राम स्थल र परिक्रमा सडक आसपासका १ किलोमिटर क्षेत्रमा आज (बुधवार) देखि चैत ४ गते आइतवरसम्मका लागि मासु मदिरा उत्पादन, विक्री वितरण, सेवन तथा ओसारपसारमा रोक लगाएको हो । 

मिथिला परिक्रमाका महोत्तरीमा ५ विश्राम स्थल छन् । भारतको कलना र गिरिजा स्थान हुँदै परिक्रमा यात्री फुलहरबाट आज (फागुन ३० गते) मटिहानी प्रवेश गरेका छ । मटिहानीमा आजको रात व्यतीत गरी यी धर्म यात्री चैत १ गते महोत्तरीकै जलेशवर, २ गते मडई, ३ गते ध्रुव कुण्ड, र ४ गते कञ्चनवनमा एक एक रात खर्च गरी यात्राको आठौँ दिन महोत्तरीबाट धनुषाको क्षिरेश्वरनाथ प्रवेश गर्ने धार्मिक तालिका रहेको छ । 

परिक्रमा यात्रीले विश्राम गर्ने महोत्तरीका प्रत्येक स्थान र उनीहरूले प्रयोग गर्ने सडक मार्गमा परेका गाउँ सहरमा मा एक–एक दिनका दरले मासु मदिरा निषेध गरिएको प्रशासनको सूचनामा उल्लेख छ । यो सूचानाको बेवास्ता र बर्खिलाप गर्ने जो कोहीमाथि प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ । 

मिथिला परिक्रमाको पवित्रता र धार्मिक पौराणिक महत्वलाई कायम राख्न यस्तो व्यवस्था मिलाइएको सहायक प्रजिअ न्यौपानेले बताउनु भयो । 

मिथिला महात्मयअनुसार १८ रौ शताब्दीदेखि यो धर्म यात्रालाई माध्यमिकी परिक्रमाको रूपमा मनाइँदै आएको हो । यस यत्राका सहयात्रीले नेपालका १ सय ७ एवम् भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिको पैदल यात्रा गर्ने परम्परा छ । फागु शुक्ल प्रतिपदाको शुभ साइतबाट प्रारम्भ हुने यो धर्म यात्रा १५ दिनभित्र जनकपुर पुगी होली खेलेर फागु पूर्णिमा तिथि पारि समापन गरिने परम्पराका कारण यसलाई १५ दिवसीय अथवा माध्यमिकि परिक्रमा भनिएको हो ।  

परिक्रमा यात्रामा नेपाल र भारतका लाख बढी धर्म परायण नरनारीको सहभागी रहेको छ ।