• २२ वैशाख २०८१, शनिबार

पर्यटकीय गन्तव्य लुम्बिनी

blog

शान्तिका अग्रदुत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी रुपन्देही जिल्लामा पर्दछ । इशापूर्व ५६३ वैशाख पूर्णिमामा आमा मायादेवीको कोखबाट सिद्धार्थ गौतमबुद्धको जन्म भएको स्थल हो लुम्बिनी । लुम्बिनी विश्वकै धार्मिक पर्यटनको गन्तव्य बन्दै गएको छ । मायादेवी आफ्नो घर कपिलवस्तुबाट माइती देवदह जाँदैगर्दा बाटोमै लुम्बिनीमा गौतमबुद्धको जन्म भएको थियो । लुम्बिनीमा मायादेवी मन्दिर मुख्य आकर्षणको केन्द्र बनेको छ । धार्मिक पर्यटनको दृष्टिले नेपालकै प्रमुख पर्यटकीय गन्तव्य रहेको लुम्बिनीको नामले यस प्रदेशको पनि नामकरण गरिएको छ ।

लुम्बिनीमा यही फागुन २८ र २९ गते आयोजना गरिएको चौंथो लिरिएट्स एण्ड लिडर्स सम्मेलन स्थगित भएसँगै लुम्बिनीको ‘ब्राण्डिङ’ गर्ने एउटा अवसर गुमेको छ ।  विभिन्न देशका नोवेल शान्ति विजेताहरु आउने गरी लुम्बिनी प्रदेश योजना आयोगले सम्मेलन आयोजना गरेको थियो । तर केन्द्र सरकारमा सत्ता समीकरण फेरिएसँगै यो अभियान रोकिएको छ । लुम्बिनी प्रदेश सरकारले सम्मेलन स्थगित गरेको छ ।  

प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीका अनुसार शिखर सम्मेलनमा नौ जना नोबेल पुरस्कार विजेता सहित २० जना अति विशिष्ट व्यक्ति बालबालिका र शान्ति क्षेत्रका विज्ञ, विकास साझेदार, प्राज्ञिक सम्मेलनमा सहभागी हुन आउनुहुने कार्यक्रम थियो । उहाँले भन्नुभयो, “अहिलेसम्म नोबेल पुरस्कार विजेता नौ जना र २० जना अति विशिष्ट व्यक्ति, विकास साझेदार तथा नेपालका सरकारी निकाय, नागरिक समाज र निजी क्षेत्रका दुई सय जनाको सहभागिता हुने भनिएको थियो, तर सम्मेलन स्थगित भएको छ ।” लुम्बिनी प्रदेश सरकारले शिखर सम्मेलनका लागि चालु आर्थिक वर्षको बजेटमा छ करोड ५० लाख रुपियाँ विनियोजन गरेको थियो । तर सम्मेलन स्थगित भएसँगै प्रदेश सरकारको लुम्बिनीको ‘ब्राण्डिङ’ गर्ने एउटा अभियान गुमेको हो । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले लुम्बिनीको ‘ब्राण्डिङ’ गर्ने एउटा अवसर गुमेकोमा दुःख व्यक्त गर्नुभयो । सम्मेलनका लागि छ महिनादेखिको तयारी खेर गएको उहाँले दुःखेसो गर्नुभयो ।

सम्मेलनमा जोर्डनका राजकुमार अली विन अल हुसेन, अर्थशास्त्री जेफ्री स्याक्स, स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पानामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङगोङ समेत सहभागी हुने कार्यक्रम थियो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यस सम्मेलनमा सहभागी हुन आउने नोवेल शान्ति विजेताहरु लुम्बिनी आएर फर्केपछि लुम्बिनीलाई अन्तराष्ट्रिय स्तरमा ब्राण्डिङ गर्र्ने अवसर गुमेकोमा चिन्ता व्यक्त गर्नुभयो । 

लुम्बिनीमा पर्यटकहरुलाई सुविधाका लागि सुविधान सम्पन्न होटलहरु पनि खुलेका छन् । यहाँ तारे होटेलदेखि स–साना होटल तथा रेष्टुराहरु सञ्चालनमा छन् । लुम्बिनी विकास कोषले भौतिक संरचनाहरु पनि थपिरहेकाले कतिपय संरचना निर्माणाधिन अवस्थामा रहेका छन् । लुम्बिनीसँग बुद्धको मावली रुपन्देहीको देवदहस्थित भवानीपुरलाई पनि जोडेर पर्यटकहरु भ्रमण गर्ने गर्दछन् । 

वृहत लुम्बिनी 

गौतमबुद्धको पवित्र अस्तिधातु रहेको पश्चिम नवलपरासीको रामग्रामलाई पनि लुम्बिनीसँग जोडेर विकास गरिंदै छ । पश्चिम नवलपरासीको सदरमुकाम परासी रामग्राम नगरपालिकाको बजारमा रहेको रामग्राममा वुद्धका विविध आयामबारे खोज अनुसन्धान भइरहेको छ । रामग्राम स्तुपाको नामबाट रामग्राम नगरपालिकाको नामकरण गरिएको हो । बुद्धसँग सम्बन्धित अध्ययनका लागि पनि पर्यटकको आगमन परासीमा हुुने गरेको छ । निकै शान्ति र हराभरा रामग्राम पनि एक धार्मिक पर्यटनको केन्द्र बनेको छ । 

तिलौराकोट कपिलवस्तु जिल्लामा पर्दछ । भगवान गौतम बुद्धसँग सम्बन्धित भएकाले तिलौराकोट प्रसिद्ध मानिन्छ । भगवान गौतम बुद्धले तिलौराकोटमा २९ वर्ष बिताउनुभएको थियो । गौतम बुद्धका बुवा शुद्धोधन बस्ने यो तिलौराकोट कपिलबस्तुको सदरमुकाम तौलिहवादेखि तीन किलोमिटर उत्तरमा वाणगङ्गा खोलाको तिरमा पर्छ । तिलोराकोट शिवगढ गाउँसँग यो जोडिएको छ । यहाँ तीनवटा भग्नावशेष छन् । दरबारको भग्नावशेष र पूर्वी पश्चिमी द्वारहरु रहेका छन् । तिलौराकोटलाई सरकारले संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ । गौतम बुद्धबारे चासो राखेर अध्ययन गर्न धेरै पर्यटक यहाँ पुग्ने गरेका छन् । भग्नावशेष जीर्ण बन्दै गए पनि निकै शान्त र सुन्दर लाग्ने यो स्थल पर्यटकको राजाईमा पर्ने गरेको छ । 

प्रदेशका अन्य पर्यटकीय स्थल

बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडेर यस प्रदेशका अन्य पर्यटकीय स्थलहरुमा पनि पर्यटकको आकर्षण छ । लुम्बिनीप्रदेशका १२ वटा जिल्लामा विभिन्न पर्यटकीय स्थल छन् । तर आवश्यक प्रचार–प्रसार र व्यवस्थापन गर्न नसक्दा ओझेलमा परेका छन् । खासगरी स्थानीय सरकारहरुले यी पर्यटकीय स्थलहरुको पहिचान, व्यवस्थापन र प्रचार गर्न जरुरी देखिन्छ ।

रानीमहल

नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानीमहल एक प्रसिद्ध पर्यटकीय स्थल हो । विसं १९५० देखि १९५४ सम्म चार वर्ष लगाएर बनाइएको कलात्मक रानीमहल दरबार पाल्पामा पर्यटकको मुख्य रोजाई बन्ने गरेको छ । पाल्पा गौंडाका तत्कालिन जनरल खड्ग शम्शेरले दिवंगत रानी तेजकुमारीको सम्झनामा बनाएको यो रानीमहल दरबार बेलायतका इन्जिनीयरले डिजाइन गरेको निकै कलात्मक छ । खासगरी प्रेमको प्रतिकको रुपमा रहेको यो महल हेर्न मुख्यत प्रेम दिवसको दिन पर्यटकको निकै भिड लाग्ने गर्दछ । नयाँ वर्षको पहिलो दिन र प्रणय दिवस (१४ फेब्रुअरी भ्यालेन्टाइन) का दिन अत्यन्तै भिड लाग्ने गर्दछ । खासगरी प्रेम जोडीहरु प्रेम दिवसका दिन रानीमहल पुग्ने गर्दछन् । अन्य दिन पनि पर्यटकहरु घुम्न यहाँ पुुगेका हुन्छन् । 

पाल्पाको सदरमुकाम पाल्पाबाट १३ किलोमिटर उत्तरतर्फ बौवागुम्बास्थित कालिगण्डकीको किनारमा ठुलो चट्टानमाथि यो दरबार अवस्थित छ । महलभित्र पोखरी, मन्दिर, बगैचा आदि रहेका छन् । कालिगण्डकीको तिरमा मनोरम प्राकृतिक स्थलमा रहेको रानीमहललाई तानसेन नगरपालिकाले सङ्ग्रहालय बनाएर संरक्षण गरेको छ । तानसेनबाट पैदल हिंडेरै पनि साढे दुई घण्टामा पुग्न सकिने रानीमहल पछिल्लो समय पाल्पामा पहिलो पर्यटकीय स्थलको रुपमा परिचित छ । 

भैरव मन्दिर 

यस्तै पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ४ मा पर्ने भैरवस्थाको अग्लो डाँडोमा भैरवको मन्दिर रहेको छ । ११ रोपनी चार आना क्षेत्रफलमा रहेको यो विशाल भैरव मन्दिर पाल्पाका तत्कालिन सेन बंशीय राजाले स्थापना गरेका हुन् । धार्मिक पर्यटनको हिसाबले निकै महìवपूर्ण रहेको यो मन्दिरमा पाल्पाका राजा मुकुन्द सेनले काठमाडौँबाट भैरवको मूर्ति ल्याएर विसं. १५१५ तिर स्थापना गरेका थिए । भैरवको मूर्ति भुँइतलामा छ । नजिकै कालीको मूर्ति छ । मन्दिरमा भाकल पूजा, पन्चवली पूजा, क्षमा पूजा आदि गरिन्छ । यो मन्दिरमा चढाइने प्रसादको रुपमा रोट प्रख्यात छ । यहाँ ठुलो त्रिसुल राखिएको छ । जनरल खड्ग शमशेरले आफ्नी श्रीमतिको चाहनामा यो त्रिसूलमा सुनको जलप लगाईदिएको भनाई छ ।

प्राकृतिक मनोरम स्थलमा रहेको मन्दिरको दक्षिणतिर रोट पकाउने रोटघरहरुले झनै आकर्षण बढाएका छन् । सफा, शान्त, सुन्दर मन्दिर परिसरमा धार्मिक पर्यटकहरु पूजाआजा गर्न र तस्बिर खिचाउन व्यस्त देखिन्छन् । यहाँ वली चढाएका पशुपन्छीलाई प्रसादको रुपमा तयार गरिदिने व्यवस्था पनि छ । मन्दिर नजिकै केही व्यवसायीले गत वर्षदेखि जीपलाईन पनि निर्माण गरेका छन् । जीपलाईन खेल्नका लागि पनि पर्यटक आउने गर्दछन् । पाल्पाको सदरमुकाम पाल्पाबाट १० किलोमिटर पश्चिममा रहेको भैरव मन्दिरमा  आन्तरिक पर्यटक मात्र होइन, बाह्य पर्यटक पनि उल्लेख्य मात्रामा आउने गर्दछन् ।

गुल्मीको रेसुङ्गा

गुल्मी जिल्लाको सदरमुकाम तम्घासबाट एक घण्टाको समयमा पैदल हिडेर पुग्न सकिने अग्लो घना जङ्गलसहितको डाँडा रेसुङ्गा नामले परिचित छ । करिब ३५ सय हेक्टर क्षेत्रफलमा फैलिएको रेसुङ्गामा प्राचीन युगमा ऋष्यशृंग ऋषिले तपस्या गरेका थिए । भगवान राम र लक्ष्मणले ऋष्यशृंग ऋषिको दर्शन गर्न आउँदा ऋषिलाई यहाँ के अभाव छ भनी सोधेको र ऋषिले पानीको समस्या देखाएपछि राम लक्ष्मणले धनुषवाण हानेर पानी निकालिदिएको किम्बदन्ती छ । यहाँ अहिले सुन्दर पोखरी र भ्यू टावर समेत निर्माण गरिएको छ । 

यहाँ गणेश, शिव, विष्णु, शिद्धबाबा लगायत देवीदेवताको मन्दिर स्थापना गरिएको छ । धार्मिक पर्यटनका दृष्टिले निकै चर्चामा रहेको रेसुङ्गामा खासगरी गर्मी महिनामा पर्यटकहरुको चाप बढ्ने गर्दछ । यस रेसुङ्गा डाँडाबाट धौलागिरि, माछापुच्छ«े, अन्नपूर्ण लगायत १५ वटा हिमाल देखिन्छन् । आन्तरिक तथा बाह्य पर्यटक लोभिने यो रेसुङ्गा डाँडामा होटल पनि खुलेका छन् । यहाँ खान बस्नको समेत सुविधा भएपछि सदरमुकाम तम्घास आउने पर्यटक रेसुङ्गा पुगेकै हुन्छन् । रेसुङ्गा पुगेका पर्यटकले रिडीको रुरु धाम पनि अवलोकन गर्न सहज छ । पक्की सहज सडक विस्तार भएकाले रेसुङ्गालाई रुरुको पर्यटकीय क्षेत्रसँग जोडिएको छ । रिडीमा अहिले तीनमुखे पुल बनेपछि थप रमणीय बनेको छ ।

सुपादेउराली 

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धीखर्कबाट ४७ किलोमिटर दक्षिणतर्फ कपिलबस्तुको गोरुसिङ्गे रोडमा पर्ने यो मन्दिर नरपानी र फलामे पहाडको खोंचमा अवस्थित छ । समुद्र सतहबाट करिब साढे चार हजार फिटको उचाईमा यो पर्छ । उच्च शिखर, चिसो हावा चल्ने निकै डरलाग्दो भिरको मुखमा निर्मित यो मन्दिर बाइसे चौबिसे राज्यका बेला खाँचीकोटका राजाले निर्माण गरेको किन्बदन्ती छ । 

धर्मात्मा मानिसले मागेको आशिश दिने सुपादेवीको यो मन्दिरमा धार्मिक पर्यटकको भिड प्रायः कम हुँदैन । भाकल गरेर फल प्राप्त भएपछि पनि देवीलाई ढाँटेको कारण एक लाउरेलाई यो भिरमा देवीले टाँसेको भन्ने मान्यता पनि चर्चा गरिन्छ । मन्दिर नजिकैको भीरलाई लाउरे टाँसिएको भीर नामकरण गरिएको छ । 

स्थानीयको भनाई अनुसार प्राचीन कालमा एक युवकले आफू लाहुरे (भारतीय सेना) हुन पाउँभनी भाकल गरेको र लाहुरे भइसकेपछि देवीलाई छलरे अर्कै बाटो प्रयोग गर्दा उनी भीरमा टाँसिएर मृत्यु भएको भनाई प्रचलित छ । जिल्लाको मध्यभाग देवीस्थलमा पर्ने यो मन्दिरमा बली दिएर पूजाआजा गरिन्छ भने विवाह व्रतवन्ध पनि गरिन्छ । बली चढाएका पशुपन्छी घर नलगी नरपानी डाँडामा प्रसाद बनाएर खाने प्रचलन छ । नरपानीको सुन्दर डाँडाबाट हिमशिखरहरु हेर्दै सुपादेउराली मन्दिरमा देवीको पूजा गर्न नेपाली मात्र नभइ भारतीय समेत आउने गर्दछन् । धार्मिक पर्यटनको केन्द्र बनेको सुपादेउरालीको प्राकृतिक सुन्दरता र मन्दिर दर्शनका लागि एकपटक पुग्ने पर्ने ठाउँ हो यो ।

स्वर्गद्धारी

प्युठान जिल्लामा पर्ने स्वर्गद्वारी निकै चर्चित धार्मिक पर्यटनको गन्तव्य हो । प्युठानको सदमुकाम खलङ्गाबाट २६ किलोमिटरको दुरीमा रहेको स्वर्गद्वारी मन्दिर नेपालकै प्रमुख धार्मिक पर्यटनको केन्द्र हो । परापूर्व कालमा पाण्डवहरु स्वर्गजाने बाटो (द्वार) भएकाले यसको नाम स्वर्गद्वारी रहेको बताइन्छ । भगवान ब्रह्मा र ऋषिहरुले तपस्या गरेका यो पवित्र भूमिमा ऐतिहासिक अग्निखण्ड, गुफा, महाप्रभु, गाईको दर्शन गर्नाले रोगब्याधि नलाग्ने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । 

कुल २६ सय रोपनीमा फैलिएको स्वर्गद्वारी मन्दिरको जग्गा दाङ जिल्लाका विभिन्न ठाउँमा पनि एक हजार ५० विगाहा जग्गा छ । समुन्द्र सतहदेखि सात हजार फिट उचाइमा रहेको स्वर्गद्वारीमा गौशाला, निरन्तर अग्निकुण्ड, महायज्ञ तथा पूजापाठ हुने गर्दछन् । यहाँ आउने भक्तजनलाई निःशुल्क प्रसादी तथा भोजनको व्यवस्था रहेको छ । गौशालाका सयौं गाईगोरुलाई हेरचाह गर्ने कामदार पनि राखिएको छ । विभिन्न देवीदेवताका मन्दिरहरु रहेको स्वर्गद्वारी साँच्चिकै अनुमान गरेको स्वर्ग जस्तै छ । 

स्वर्गद्धारीमा विदेशी पर्यटकहरु आउने गर्दछन् । विशेषगरी वैशाखे पूर्णिमा, उभौली पर्व तथा बुद्धजयन्तीमा भव्य मेला लाग्दछ । यहाँ रथयात्रा समेत गरिन्छ भने वेदको पाठशाला पनि सञ्चालन गरिएको छ । पर्यटकको भिडभाड भइरहने यो पवित्र स्थलको अवलोकन जो कसैले पनि एकपटक गर्न आवश्यक छ । स्वर्गद्वारीसँग प्यूठानको ओखरकोटमा अवस्थित कोट मन्दिरको पनि चर्चा गरिन्छ । एक शक्तिपीठको रुपमा परिचित ओखरकोटको कोट पनि पर्यटनको केन्द्र बन्दै गएको छ । अग्लो डाँडामा अवस्थित प्राकृतिक हिसाब निकै मनोरम स्थल कोटमा विभिन्न भौतिक निर्माणका काम भइरहेका   छन् । यस कोटमा पनि दैनिक पर्यटकहरु घुम्न आउने गर्दछन् ।

धारापानी 

दाङ जिल्लाको सुन्दर सहर घोराही निजकै रहेको धारापानी क्षेत्र धार्मिक पर्यटनको प्रमुख स्थल हो । यहाँ विश्वकै अग्लो भनी दावी गरिएको पन्च धातुमिश्रित त्रिसुल स्थापना गरिएको छ । यहाँ पाण्डेश्वरको मन्दिर रहेको छ, जहाँ पाण्डप शयन शिला, विभिन्न देवीदेवताका मन्दिरहरु रहेका छन् । यहाँ साढे ५५ फिट उचाइको त्रिसुल, १०८ शिवलिङ्ग, १०८ वरपिपल जोडी, १०८ सीमका वृक्ष, ओम कुण्ड आदि आकर्षणका रुपमा हेर्न सकिन्छ । 

यस धारापानीमा तिर्थाटन लागि धेरै आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । खासगरी शिवरात्रिका बेला यहाँ भव्य मेला लाग्दछ । पाण्डेश्वर धामका रुपमा परिचित यस धाम विशाल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यहाँ गुरुयोजना बनाएरै भौतिक संरचना बनाउने काम भइरहेको छ । यो धार्मिक पर्यटनको केन्द्र धारापानी आउने पर्यटकहरु दाङका विभिन्न जलासय पनि घुम्ने गर्दछन् । यहाँ दर्जनौ जलाशय कुण्ड छन् । त्यस्तै तुल्सीपुरको थारु सङ्ग्रहालय पनि एक पर्यटकीय स्थल बनेको छ । थारु संस्कृतिको अध्ययनका लागि यो पनि पुग्नै पर्ने एक ऐतिहासिक स्थल बनेको छ ।

त्यसैगरी बाँके जिल्लाको सदरमुकाम नेपालगञ्ज बजारमा अवस्थित बागेश्वरी मन्दिर धार्मिक पर्यटनको हिसाबले निकै चर्चित र महìवपूर्ण मानिन्छ । यहाँ सतिदेवीको जिब्रो पतन भएको जनविश्वास गरिन्छ । यो मन्दिरमा पूजाआराधना गर्दा मनोकांक्षा पूरा हुने विश्वास छ । यहाँ गणेश, जुंगे महादेव आदिको मूर्ति स्थापना गरिएको छ । यहाँ पूजा आराधना गर्न आउने धर्मावलम्बीको निकै भिडभाड लाग्ने गर्दछ । बागेश्वरी माताको पूजा गर्न दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख तथा भारतबाट समेत भक्तजन आउने गर्दछन् । धार्मिक पर्यटनको केन्द्र बन्दै गएको यो मन्दिर हेर्न लायक छ ।

राष्ट्रिय निकुञ्जहरु 

बर्दिया जिल्लाको बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको एक प्रमुख पर्यटनको गन्तव्य हो । बर्दियाको ठाकुरद्वारामा रहेको यो राष्ट्रिय निकुञ्ज करिब ९६८ वर्गकिलोमिटरको क्षेत्रफलमा फैलिएको छ । सन् १९६८ मा शाही शिकार आरक्षको रुपमा स्थापना गरिए पनि पछि  यसलाई शाही बर्दिया वन्यजन्तु आरक्षण नामकरण गरियो । बबई नदी आसपासको क्षेत्रलाई पनि समेटेर यसलाई राष्ट्रिय निकुञ्ज घोषणा गरिएको छ । 

यस राष्ट्रिय निकुञ्जमा बाघ संरक्षणको लागि मुख्य पहल गरिएको छ । यहाँ गैडा, घडियाल, डल्फीन, गोही आदिको संरक्षण गरिएको छ । यहाँ ५६ प्रजातिका वन्यजन्तु र ४३८ थरिका रैथाने र बसाइ सरी आउने चराहरु पाइन्छन् । बाँके जिल्लाको बाँके राष्ट्रिय निकुञ्ज पनि पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । यो ५५० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यी राष्ट्रिय निकुञ्जहरु निकुञ्ज पर्यटकको रोजाईमा पर्ने मुख्य पर्यटकीय स्थल हुन् । 

सुन्दर हिमालहरु

पूर्वी रुकुम जिल्लामा पर्ने पुथा र सिस्ने हिमाल पनि लुम्बिनी प्रदेशमा पर्ने प्रमुख पर्यटकीय क्षेत्र हुन् । पुथा लुम्बिनी प्रदेशमा पर्ने सबैभन्दा अग्लो हिमाल हो । समुन्द्र सतहदेखि पुथा सात हजार २४६ मिटरको उचाईमा छ भने सिस्ने पाँच हजार ८४९ मिटरको उचाईमा छ । यी हिमालका वरपर विभिन्न साना ठुला हिम तालहरु छन् । पूर्वी रुकुमको उत्तरपूर्वमा रहेको मैदान डाँडा र खोर्सेबाट सिस्ने हिमाल देख्न सकिन्छ । यी हिमालमा मानिसहरु नचढेकाले कन्या हिमाल पनि भन्ने गरिन्छ । पर्यटकीय हिसाबले निकै मनमोहक यी हिमालहरुलाई लुम्बिनी प्रदेश सरकारले चिनाउन भने सकेको छैन । यी हिमाललाई तराईको बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडेर विकास गरिनुपर्ने पर्यटन क्षेत्रका विज्ञहरु बताउँछन् । यी हिमालहरु निकै मनमोहक छन् । रुकुमका हिमालसँगै रोल्पा र रुकुमका कतिपय स्थलहरु युद्ध पर्यटनका हिसाबले पनि विकसित हुँदै गएका छन् । 

यसरी लुम्बिनी प्रदेशका महत्वपूर्ण पर्यटकीय स्थलहरुलाई उचित व्यवस्थापन र प्रचार–प्रसार गर्न सके पर्यटनबाट जनताको आयस्रोत समेत बढाउन सकिन्छ । ठाउँ अनुसारका उत्पादनहरुको ब्राण्डिङ गरेर अन्तर्राष्ट्रिय बजारमा समेत पु¥याउन सक्ने अवस्था छ । त्यसका लागि प्रदेश सरकारले अगुवाई गर्न जरुरी छ । मुख्यमन्त्री आफैले सम्हाल्नुभएको लुम्बिनी प्रदेशका पर्यटन मन्त्रालय र पर्यटन बोर्डले सक्रियता देखाउन नसक्दा पर्यटन प्रवद्र्धनका कैयौं काम ओझेलमा छन् । अब प्रदेश सरकारले पर्यटनको क्षेत्रमा गुरुयोजना बनाएरै काम थाल्नुपर्ने देखिन्छ ।

नोट : यहाँ प्रयोग भएका कतिपय तस्बिरहरु सामाजिक संजाल तथा संचार एजेन्सीबाट लिइएको हो ।

 

Author

भुवन कार्की