• १३ साउन २०८१, आइतबार

सामाजिक एकता लोकतान्त्रिक गणतन्त्रको लक्ष्य : राष्ट्रपति

blog

राष्ट्रपति रामचन्द्र पौडेल अछामको वैद्यनाथमा १४४ वर्षीय कोटिहोमको उद्घाटन कार्यक्रममा सहभागी हुनुहुँदै । तस्बिर: शिवराज ढुंगाना

शिवराज ढुंगाना
अछाम, फागुन १० गते ।
 राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको एकता नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य हो । अछामको वैद्यनाथमा १४४ वर्षीय कोटिहोमको उद्घाटनका क्रममा सो कुरा बताउनुभएको हो । राष्ट्रपति पौडेले धार्मिक, सांस्कृतिक एकतासँगै संविधानले धर्मनिरपेक्षता सबैलाई एकताबद्ध बनाउने लैजाने भनाइ राख्नुभयो । वैद्यनाथलाई पर्यटनको विकास गरेर आर्थिक विकाससँगै सामाजिक एकतामा विकास गर्न सकिने भयो ।

नेपाल धार्मिक र सांस्कृतिक रूपमा पुण्यभूमि भएको भन्दै देवी देउताका मन्दिरले भरिएकाले पर्यटन र तीर्थाटन दुवै हुने भएको राष्ट्रपति पौडेलको भनाइ छ । 

उहाँले सबै जात, जाति, धर्म, सम्प्रदाय, भाषाभाषीको समभाव र एकता नै संघीय लोकतान्त्रिक गणतन्त्रको मूल लक्ष्य भएको बताउनुभयो। “ सबै धर्म, संस्कृतिको संरक्षण गर्ने हाम्रो संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सास्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको छ। अधिकारका विभिन्न प्रकार उल्लेख गरेपनि सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपयोग गर्ने विषय नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य हो”, राष्ट्रपति पौडेलले भन्नुभयो। उहाँले कोटीहोम प्रारम्भ भएको आजको यस पवित्र दिनमा संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको त्यही दर्शनलाई सार्थक रूप दिन सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो। 


“स्वस्थ र सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाजको निर्माण गर्ने तथा सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक, सद्भाव, ऐक्यवद्धता र सामञ्जस्य कायम गरी राष्ट्रिय एकता सुदृढ गर्ने राज्यको सामाजिक र सांस्कृतिक उद्येश्यलाई साकार रुप दिन आवश्यक छ भन्ने मलाई लाग्दछ”, उहाँले भन्नुभयो। 

यस क्षेत्रको विकास, संरक्षण र सम्वद्र्धनको लागि विगतमा वैद्यनाथ क्षेत्र विकास संस्थाको गठन भई सरकार तथा जनसहभागिताबाट मन्दिर पुननिर्माणलगायतका काम हुनु खुशीको कुरा हो भन्दै उहाँले यस क्षेत्रको समग्र विकासका लागि विस्तृत अध्ययन गरी गुरुयोजना तयार गरी अल्प, मध्य र दीर्घकालीन रुपमा गरिने कामसहित पूर्वाधार निर्माणका काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। 

“तीनै तहका सरकारले आफ्नो बजेट, नीति तथा कार्यक्रमभित्र समावेश गरी यस्ता धार्मिक तथा ऐतिहासिक क्षेत्रलाई आकर्षक पर्यटकीय  क्षेत्रको रुपमा विकास गरी देश विकासमा योगदान पु¥याउन सकिने पनि मैले देखेको छु”, राष्ट्रपति पौडेलको भनाइ थियो।  

शिवरात्री, मकर सङ्क्रान्ति, विषु, होरीपर्व, दसैँ, श्रावण स्नान, बोलवमलगायत वर्षभर हुने पर्वपूजा यहाँ धुमधामका साथ मनाइने गरिनुले पनि यसप्रतिको आकर्षण सदैव जीवन्त रहिआएको छ। “यसलाई थप आकर्षण केन्द्र बनाएर लाखौं पर्यटक भित्र्याउने संभावनाप्रति म सबैको ध्यानाकर्षण गराउँदछु, यसबाट वैदिक सनातन धर्म संस्कृतिको संरक्षण, लोकसंस्कृतिको प्रदर्शन, वैद्यनाथ वेदविद्याश्रमको स्तरोन्नति गरी आयुर्वेद मावि बनाउने र यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यको विकास गर्ने कार्यमा योगदान पुग्नेछ भन्ने मैले विश्वास लिएको छु”, उहाँले भन्नुभयो।

६/६ वर्षमा हुने लक्षहोमसहितको अर्धकुम्भ मेला, १२/१२ वर्षको महालक्षहोमसहितको कुम्भमेला र १४४ वर्षमा गरिने कोटिहोम महायज्ञसहितको महाकुम्भमेलाको परम्परालाई निरन्तरता दिने अभिप्रायसाथ यो कुम्भमेला आयोजना गरिएको जनाइएको छ। राष्ट्रपति पौडेलले यो पवित्र स्थल तिर्थाटनबाटै आकर्षक पर्यटन केन्द्र बनेको बताउदै यसप्रकारको धार्मिक कार्यक्रम गरेकोमा सुदुरपश्चिम क्षेत्रका सबै धन्य भएको बताउनुभयो १ उहाँले हिमालहरूको बीच ऋषिहरूको तपस्याभूमि र देवीहरूको मन्दिरले भरिएको पवित्र भूमिमा उभिन पाउँदा आफूलाई अत्यन्त खुसी लागेको पनि बताउनुभयो।  


उद्घाटनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउँद, भौतिक योजनामन्त्री प्रकाश देउवा, पूर्वउपप्रधानमन्त्री भीम बहादुर रावल, सांसद, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । वैद्यनाथ क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपाल प्रहरीका पूर्व महानिरीक्षक मोतीलाल बोहरा लगायतलाई सम्मान गरिएको छ ।

पौराणिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण वैद्यनाथ धाममा ६/६ वर्षको अर्धकुम्भ मेला,१२/१२ वर्षको महालक्ष्यहोम सहितको कुम्भमेला र १४४ वर्षमा गरिने कोटीहोम गरिने छ । वैद्यनाथधामको धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय महत्त्वको प्रचार प्रसार, वैदिक सनातन धर्म संस्कृतिको संरक्षण संवर्द्धन, समाजमा आध्यात्मिक चेतनाको पुनर्जागरणका लागि कोटिहोम थमलिएको मूल आयोजक समिति संयोजक तथा प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले जानकारी दिनुभयो ।

यस्तै वैद्यनाथ धामलाई पर्यटकीय गन्तव्य बनाउन, गुरुकुल शिक्षाको सुदृढीकरण तथा वैद्यनाथ वेद विद्याश्रमलाई आयुर्वेद माविमा स्तरोन्नति, लोकसंस्कृति, लोककला, लोकगाथाको संरक्षण संवर्द्धन गर्ने उद्देश्यले कोटिहोमको आयोजना गरिएको बताइएको छ ।

कोटिहोम बिहीबारबाट सुरु भएर यही फागुन २५ गतेसम्म चल्ने कार्ययोजना छ ।