• १३ असोज २०८१, आइतबार

बालकुमारी घटनाबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

blog

बिहीबार बसेको प्रतिनिधि सभा बैठक ।

काठमाडौं, फागुन १० गते । सभामुख देवराज घिमिरेले बालकुमारी घटना प्रकरणका बारेमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन रुलिङ गर्नुभएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले सरकारले बालकुमारी घटना प्रकरणमा बेवास्ता गरेको आरोप लगाउँदै प्रतिवेदन सार्वजनिक गर्न माग गरेर संसद् अवरोध गरेसँगै सभामुख घिमिरेले सरकारलाई घटनाको बारेमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको हो ।

पुस १३ गते दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासमेत दोषी रहेको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएको भन्दै सांसदहरुले मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग राखेका थिए । संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् अवरोध गरेका थिए ।

संसद् अवरोधपछि सभामुख घिमिरेले भन्नुभयो, ‘‘यी विषय यसअघिको बैठकमा पनि उठेको छ, पर्याप्त रुलिङ पनि भएको छ । माननीय सदस्यहरुसँग कुरा राखिसकेको छु, मैले ६ गतेको बैठकमा यहाँ उठेका विषयलाई लिएर रुलिङ गरेको छु । आज पनि त्यही विषयमा माननीयज्यूहरुले विषय उठाउनुभएको छ । प्रतिनिधि सभाको नियमावली, २०७९ को नियम १५ मा रहेको व्यवस्थातर्फ सरकारको ध्यानाकर्षण गराउँछु । शून्य, आकस्मिक र विशेष समयमा उठेका सवालहरुमा राज्यले उपयुक्त ढङ्गबाट जवाफ दिनुपर्छ ।’’