• १३ साउन २०८१, आइतबार

गौशालामा राष्ट्रिय जनावरको बिजोग

blog

भल्कास्थित गौशालामा राखिएका मरेका गाईगोरुको अस्थिपञ्जर । तस्बिर : यस्पाल अवस्थी

अविनाश चौधरी

धनगढी, फागुन ९ गते । स्थानीय सरकारले व्यवस्थापन गरेको कैलालीको एक गौशालामा राष्ट्रिय जनावर गाईको बिजोग देखिएको छ । गोदावरी नगरपालिका–९ भल्कामा रहेको गौशालामा चौपायाको बिजोग भएको हो ।

छाडा चौपाया व्यवस्थापन गर्ने उद्देश्यसाथ गोदावरी नगरपालिकाले गौशाला स्थापना गरेर त्यहाँ गाईगोरु व्यवस्थापन गरेको छ । तर गौशालामा राखिएका चौपाया भोकभोकै मरिरहेका छन् । 

राम्रो स्याहार र खाना नपाएर धेरै चौपाया मरिसकेको स्थानीयको भनाइ छ । वडा अध्यक्ष रामलाल रानाले खाना नपाउँदा चौपाया मरिरहेको बताउनुभयो । उहाँले वडामा बजेट नभएका कारण चौपायाका लागि पराल खरिद गर्न नसकेको उल्लेख गर्दै भन्नुभयो, “केही उपाय नलागेपछि मैले आफ्नो व्यक्तिगत पैसाले नुन, त्रिपाल लगायतको कुरा किनेर दिएको थिएँ ।” 

एक चोटि सेहरी गाउँवासीले प्रतिघरबाट एकसय रुपियाँ सङ्कलन गरी चौपायाका लागि पराल खरिद गरेको अध्यक्ष रानाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिले ६०–७० चौपाया गौशालामा थिए । धेरै मरेकाले अहिले थोरैमात्र बाँकी छन् । ती चौपायालाई खुला ठाउँमा चराउन तीन जना हेरालु राखिएको छ । 

हेरालुहरुले १२–१ बजेपछि मात्र गौशालाबाट छाडा चौपायालाई निकाल्ने गरेको स्थानीयको आरोप छ । व्यवस्थापनको नाममा खुला आकाशमुनि थुनेर राखिएको चौपाया जाडोको बेला धेरै मरेको देखिएको छ । गौशाला वरिपरि अत्यधिक मरेका चौपायाको सिनो र अस्थिपञ्जर रहेको छ ।