• १३ साउन २०८१, आइतबार

मूल्यको ‘ग्राफ’ उकालो लाग्न थालेपछि उखु खेतीतिर किसान आकर्षित

blog

मोरङ, फागुन ८ गते । समयमै भुक्तानी पाउने र मूल्यको ‘ग्राफ’ उकालो लाग्न थालेपछि उखु खेतीतिर किसान आकर्षित बन्न थालेका छन् ।

अरू बालीजस्तो स्याहारको आवश्यकता नपर्ने र एकमुष्ट रूपमा उपजको रकम हात पर्ने भएपछि उखु खेतीतर्फ किसानको आकर्षण बढ्न थालेको हो । सुनसरीको बर्जू गाउँपालिकामा रहेको इस्टर्न सुगर मिलले केही वर्ष अघिसम्म बेलैमा उखु किसानलाई भुक्तानी दिँदैन थियो ।

उखु किसान कमलप्रसाद कामतले उखुको भुक्तानीमा समस्या नभएको र मूल्य पनि बढेकाले उखु खेतीतर्फ पुनः लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘मिलबाट समयमै भुक्तानी नपाएपछि किसानहरू सङ्घर्ष समिति बनाएर आन्दोलन गर्दथे । बेलामा भुक्तानी नपाउँदा उखु किसान पलायन हुन बाध्यसमेत थिए र सीमित किसानले मात्र उखु लगाउने गर्दथे । तर पछिल्लो केही वर्ष यता उखुको भुक्तानीमा समस्या नभएको र मूल्य पनि बढेकाले उखु खेतीतर्फ किसानहरू पुनः लोभिएका हुन् ।’’

अर्का उखु किसान शीतल साहले किसानले उखुको भुक्तानी समयमा नपाएका कारण विगतमा सङ्घर्ष गर्नुपरेको थियो । तर अहिले समयमा नै किसानहरूले उखुको भुक्तानी पाउने गरेकाले पुनः उखु खेतीतर्फ लागेको बताउनुभयो ।

‘‘त्यसबाहेक सरकारले ढिलै भए पनि अनुदान रकम थप्ने आश्वासन दिएको छ । एकपल्ट उखु लगाएपछि तीन वर्षसम्म त्यसैबाट आम्दानी गर्न सकिने र गोडमेल गर्नुपर्ने समस्या खासै नरहने भएकाले पनि किसान यसतर्फ आकर्षित बनेका हुन् ।,’’उखु किसान साहले भन्नुभयो, ‘‘ किसानले उखुको भुक्तानी समयमा नपाएका कारण विगतमा सङ्घर्ष गर्नुपरेको तर अहिले समयमा नै किसानहरूले उखुको भुक्तानी पाउने गरेकाले पुनः उखु खेतीतर्फ लागेका छौँ ।’’

उहाँले अहिले मिलले इन्स्योरेन्स गराएको भए पनि क्षतिपूर्ति नदिएको गुनासो गर्नुभयो ।

इस्टर्न सुगर मिलका महाप्रबन्धक पवनकुमार झाले पाँच वर्षअघि २५ लाख क्विन्टल उखु पेल्ने क्षमता रहेको इस्टर्न सुगर मिलले आठ लाख क्विन्टलमात्र ‘क्रसिङ’ गर्ने गरेको बताउनुभयो ।

महाप्रबन्धक झाले ‘‘उखु खेती विस्तार भएसँगै कोशी प्रदेशको एकमात्र चिनी मिललाई भ्याइ नभ्याई छ । अघिल्लो वर्षमात्र १३ क्विन्टल उखु पेलेको मिलले यस पटक १९ क्विन्टल उखु क्रसिङ गर्ने र आगामी वर्ष त्यसलाई बढाएर २५ लाख क्विन्टलमा पुर्‍याउने विश्वास लिएको छु । विगतमा ३५ करोडको उखु खरिद गरेको मिलले यस पटक एक अर्ब २५ करोडको उखु खरिद गर्ने लक्ष्य राखेको छ ।’’

मूल्यको ‘ग्राफ’ पनि निरन्तर बढ्नु र मिलले पनि विविध कुरामा सहुलियत दिने गरेकाले कोशी प्रदेशमा उखुतिर आकर्षण बढेको मिलका कर्मचारी बताउँछन् । किसानहरूलाई १५ दिनेदेखि डेढ महिना भित्रमा भुक्तानी गरिरहेको दाबी झाको गर्नुभयो ।

यसैगरी, कृषि ज्ञान केन्द्र मोरङका निमित्त प्रमुख रामदेव सिंहले विशेषगरी कोशी प्रदेशको सुनसरी, मोरङ र झापाका किसानले उखु खेती विस्तार गर्न थालेको जानकारी दिनुभयो ।

मोरङमा दुई हजार सात बिगाहा क्षेत्रफलमा ३७ हजार पाँच सय क्विन्टलसम्म उखु उत्पादन हुने गरेको छ । विगत वर्षहरूका तुलनामा यस वर्ष उखु उत्पादन बढ्ने अनुमान गरिएको छ ।

किसानले मिलबाट प्रतिक्विन्टल उखुको दाम ५६५ रुपियाँ पाउँछन् । त्यसमा सरकारले ७० रुपियाँ अनुदान रकम थप्ने गरेको छ ।