• १० पुस २०८१, बुधबार

बैरगनियाबाट क्रान्तिको उद्घोष

blog

नेपालको राजनीतिक इतिहासमा सबैभन्दा महत्वपूर्ण घटना नेपालको एकीकरण हो भने दोस्रो महत्वपूर्ण घटना प्रजातन्त्रको प्राप्ति हो । आधुनिक नेपालको सम्पूर्ण राजनीतिक चिन्तन यिनै दुई महत्वपूर्ण परिघटनाको केन्द्रीयतामा घुमेको देखिन्छ । पृथ्वीनारायण शाहले नेपालको एकीकरणमा मुख्य भूमिका निर्वाह गरे । उहाँका उत्तराधिकारीहरूले एकीकरण अभियानलाई निरन्तरता दिए । यसै गरी नेपाली कांग्रेसले प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्‍यो र अन्य दलहरू तथा नेपाली जनताले साथ दिए ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि नेपाली कांग्रेसको बैरगनिया सम्मेलनले लिएको निर्णय नै ऐतिहासिक बन्न पुग्यो । बैरगनिया सम्मेलनले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि सशस्त्र सङ्घर्ष गर्ने निर्णय गरेको थियो । यस सशस्त्र सङ्घर्षको निर्णयले तत्कालीन राणा शासन हल्लिन पुगेको थियो । जब आन्दोलनको सुरुवात भयो तब राणा शासन मक्किएको रुख झैँ गल्र्याम्म गुर्लुम्म ढल्यो । देशमा जहानियाँ राणा शासन ढाल्न सक्ने सामथ्र्यको ऐतिहासिक र क्रान्तिकारी निर्णय लिइएको बैरगनिया सम्मेलन पनि ऐतिहासिक पृष्ठभूमिमा नै भएको थियो ।

राणा शासनको स्थापना भएदेखि नै विरोध सुरु भएको थियो । विसं. १९३२/३३ तिर लखन थापाले जङ्गबहादुर राणाको विरोध गरेका थिए । थापा जेलमा नै सहिद भए । अनि गोरखाका गुरुङहरूले पनि सङ्गठित विरोध गरेका थिए तर दबाइए । यसै गरी विसं. १९५० मा माधवराज जोशीले 

‘आर्य समाज’ नामक सङ्गठनमार्फत प्रजातान्त्रिक विचारको विस्तार गर्दै राणा शासनको विरोध गरेका थिए । राजनीतिक आन्दोलनमार्फत नेपालबाट राणा शासन हटाउन र प्रजातन्त्र स्थापनाका लागि पहिलो पटक विसं. १९९३ मा टङ्कप्रसाद आचार्यको नेतृत्वमा नेपाल प्रजा परिषद्को स्थापना भएको थियो । त्यसमा दशरथ चन्द, रामहरि शर्मा, धर्मभक्त माथेमा, जीवराज शर्मा आदि थिए । राणा शासनको अत्याचार उत्कर्षमा थियो । प्रजातन्त्रको माग गर्नेहरूलाई बेपत्ता बनाउने, कठोर यातना दिने, फाँसी दिने काम भइरहेको थियो । यसै क्रममा बिपी कोइरालाले २००३ माघ १२ र १३ गते ‘नेपाली राष्ट्रिय कांग्रेस’ को सम्मेलन कलकत्तामा आह्वान गर्नुभयो । यस सम्मेलनमा नै नेपाली राष्ट्रिय कांग्रेसको विधिवत् स्थापना भयो, टङ्कप्रसाद आचार्य सभापति र बिपी कोइराला कार्यवाहक सभापति बन्नुभयो । उता सुवर्णशमशेर राणाको नेतृत्वमा ‘नेपाल प्रजातन्त्र कांग्रेस’ अस्तित्वमा थियो । दुवै कांग्रेसको उद्देश्य एउटै थियो, ‘एकतन्त्रीय राणा शासन हटाई देशमा प्रजातन्त्रको स्थापना गर्नु ।’ यसैले बिपी र सुवर्ण दुवै कांग्रेसलाई कलकत्ताको टाइगर सिनेमा हलमा २००३ चैत २७ का दिन एकीकरण गरी ‘नेपाली कांग्रेस’ बन्न पुग्यो । मातृकाप्रसाद कोइरालालाई पार्टीको सभापतिमा चयन गरिएको थियो । नेपाली कांग्रेसको स्थापनासँगै नेपालमा प्रजातन्त्र स्थापना गर्ने विचारका सबैमा नौलो उत्साह आएको थियो । नेपाली कांग्रेसको स्थापना भएपछि रौतहटका लक्ष्मण चौधरी कलवार घरपरिवार त्याग गरेर पार्टीको काममा सम्पूर्णतः सक्रिय हुनुभएको थियो ।

छिमेकी मुलुक भारतमा स्वतन्त्रता सङ्ग्राम उत्कर्षमा थियो । बनारस विश्वविद्यालमा विद्यार्थी छँदै बिपी कोइराला भारतीय स्वतन्त्रता सङ्ग्राममा सामेल भइसक्नुभएको थियो । उहाँ २९ नोभेम्बर १९४२ मा पटनाबाट पक्राउ परी हजारीबाग जेल पठाइनुभयो जहाँ डा. राजेन्द्रप्रसादसँग भेट भयो । उनै डा. राजेन्द्रप्रसाद स्वतन्त्र भारतको प्रथम राष्ट्रपति बन्नुभयो । दुई वर्षपछि बिपी जेलबाट रिहा हुनुभयो । त्यस समय गणेशमान सिंहसहित धेरै नेता तथा कार्यकर्ता भारतमा बसेर नै भारतीय स्वतन्त्रता सङ्ग्राम र नेपालमा प्रजातन्त्र प्राप्तिका लागि अहोरात्र खटिरहनुभएको थियो । 

महात्मा गान्धीले तत्कालीन अङ्ग्रेजविरुद्ध चलाएको ‘भारत छोडो’ आन्दोलनमा नेपालीको पनि सहभागिता तथा सहयोग रहेको थियो । भारत विहारको पूर्वी चम्पारण जिल्लामा महात्मा गान्धी आएर बस्दा रौतहटबाट हजारौँ मानिस भेट्न तथा उहाँको आन्दोलनप्रति समर्थन जनाउन पुगेका थिए । नेपाली कांग्रेसको स्थापना हुनुपूर्व नै रौतहटको राजपुर फरहदवाका लक्ष्मण चौधरी कलवार साधुको भेष धारण गरी राणा शासनको विरोधमा धार्मिक भजन तथा कीर्तन गाउँदै गाउँ गाउँ डुल्ने गर्नुहुन्थ्यो । चौधरीसँगै ब्रह्मपुरी महनपुरका सुवंश राय आर्य र शिवप्रसाद कुँवरको विशेष सक्रियतामा गाउँ गाउँबाट टायरगाडामा रसदपानीसहित हजारौँ मानिस गान्धीलाई समर्थन गर्न पुगेका थिए । भनिन्छ, केही मानिसको समूहमा गान्धीसित रौतहटवासीले पनि संवाद गर्न पाएका थिए ।

भारतीय स्वतन्त्रता सङ्ग्राममा रहेका केही भारतीय नेता पनि रौतहटलाई शरणस्थली बनाउनुभएको थियो । मुख्य गरी भारतीय कम्युनिस्ट पार्टीका केही प्रान्तस्तरीय तथा स्थानीय रूपमा चर्चित कम्युनिस्ट नेताहरू रौतहटमा आफन्त तथा नातेदारकहाँ आएर बस्ने गर्नुहुन्थ्यो । नेपालमा कम्युनिस्ट पार्टीको स्थापना नहुँदै रौतहटका केही मानिस उनीहरूसँगै कम्युनिस्ट विचारप्रति आकर्षित भई भारतीय स्वतन्त्रता सङ्ग्राममा सरिक भइसकेका थिए । भारतीय स्वतन्त्रता सङ्ग्राममा सबै किसिमको सहयोग उपलब्ध गराउनुपर्ने मनोविज्ञानको विकास रौतहटमा भइसकेको थियो । भारत स्वतन्त्र भएपछि नेपाल पनि राणा शासनबाट मुक्ति पाउने आशा अलिकति पनि राजनीति बुझेका सबैमा विद्यमान थियो । जब भारत स्वतन्त्र भयो तब रौतहटमा अत्यन्त उत्साह देखियो, रौतहटको कतिपय गाउँमा अबिरजात्रा पनि गरिएको थियो । अङ्ग्रेजविरुद्धको आन्दोलनमा साथ दिएका नेपाली प्रजातन्त्र स्वतन्त्रताप्रेमीहरू पनि खुसी भएका थिए । नेपालमा प्रजातन्त्र प्राप्तिका लागि स्वतन्त्र भारतका राजनेताहरूको सहयोग, साथ र समर्थन पाउने स्वाभाविक अपेक्षा बढेको थियो ।

भारत स्वतन्त्र भइसकेपछि नेपाली राजनेताहरूको ध्यान नेपालमा प्रजातन्त्र प्राप्तिका लागि केन्द्रित हुन गयो । भारतबाट आन्दोलनका लागि सहयोगको अपेक्षा त थियो नै, साथै भारत सरकारबाट तत्कालीन राणा सरकारलाई आन्दोलन दबाउन कुनै किसिमको सहयोग नहुने निश्चित भइसकेको थियो । यसै पृष्ठभूमिमा तन, मन र धन सबै किसिमले ‘भारत छोडो’ आन्दोलनमा सहयोग गरेको रौतहटसँगै सीमा जोडिएको भारत विहारको सीतामढी जिल्लाको बैरगनिया बजारमा नेपाली कांग्रेसको निर्णायक सम्मेलन गर्ने निर्णय भएको थियो । बैरगनियामै सम्मेलन गर्न रोज्नुको पछाडि रौतहटले भारतीय स्वतन्त्रता सङ्ग्राममा दिएको साथ र गरेको सहयोग तथा समर्थनजस्ता वस्तुगत कारण पनि प्रमुख थियो ।

बैरगनिया रेलवे स्टेसनभन्दा दक्षिणपट्टि रहेको एउटा राइस मिलको गोदाममा २००७ असोज १० र ११ गते नेपाली कांग्रेसको सम्मेलन भएको थियो । सम्मेलनका लागि राजनेताहरूको आगमन असोज ९ मा नै भइसकेको थियो । सम्मेलन सफलताको व्यवस्थापनमा रौतहटका आन्दोलनकारीको भूमिका रहेको थियो । सम्मेलनको अध्यक्षता वा आयोजनको अध्यक्षता रौतहटका सुवंश राय आर्यले गर्नुभएको थियो । सम्मेलनमा मातृकाप्रसाद कोइराला, बिपी कोइराला, डाक्टर केआई सिंह, सुवर्णशमशेर राणा, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, खड्गजित बराल, बहादुरसिंह बराल, महेन्द्रनारायण निधिसहित दुई सय नेता कार्यकर्ता सहभागी हुनुहुन्थ्यो । सम्मेलनले अहिंसात्मक आन्दोलनबाट जनताको सर्वोच्चता प्राप्त हुन नसक्ने परिस्थितिको मूल्याङ्कन गरी आन्दोलनलाई सशक्त बनाउन ‘गर या मर’ अर्थात् कि राणा शासन खत्तम गर्ने कि हामी खत्तम हुने नीति अपनाउन स्वीकार गरेको थियो । नेपाली कांग्रेसको रणनीतिक सम्मेलन भनिएको बैरगनियामा ‘सशस्त्र क्रान्तिबाट मात्र देशमा परिवर्तन सम्भव छ’ भन्ने ठहर गर्‍यो । सम्मेलनले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि ‘सशस्त्र क्रान्ति गर्ने’ निर्णयसँगै सो क्रान्तिको सुप्रिम कमान्डर पार्टी सभापति मातृकाप्रसाद कोइरालालाई बनायो र त्यसको भित्री रूपले सञ्चालनको बागडोर बिपी कोइराला र सुवर्ण शमशेर राणालाई जिम्मा लगाइयो । सम्मेलनले नेपाली कांग्रेसको लडाकु दस्ता ‘मुक्ति सेना’ को गठन पनि गर्‍यो । 

यही निर्णय अनुसार मुक्ति सेनामा भर्तीको काम, हतियार तथा पैसाको जोहोको काम बिपी र सुवर्णको जिम्मामा आयो । यसमा भूपू सैनिक तथा आजाद हिन्द फौजका सदस्यको प्रधानता थियो । यसमा भारतीय नागरिक जो नेपालमा प्रजातन्त्र तथा मानव अधिकार बहालीका समर्थक हुनुहुन्थ्यो, स्वेच्छाले सामेल हुनुभएको थियो । सम्मेलनले नेपाली क्रान्तिलाई सहज बनाउन मुख्य चार कमान्डमा विभाजन गर्दै बिपी र सुवर्णलाई पूर्वको क्रान्ति इन्चार्ज तथा महेन्द्र विक्रम र सूर्यप्रसादलाई पश्चिमको क्रान्ति इन्चार्ज बनाएको थियो । सम्मेलनको निर्णय अनुसार २००७ कात्तिक २६ गतेदेखि प्रजातन्त्र प्राप्ति नहुन्जेल अनिश्चितकालीन आन्दोलन सुरु भएको थियो । यस आन्दोलनले देशभर उचाइ प्राप्त गर्दै गर्दा रौतहटमा पनि आन्दोलनको तयारी तीव्र भएको थियो ।

२००७ मङ्सिर ३ मा गौर कब्जा गर्ने तयारी गरिएको थियो । यस दिन विभिन्न गाउँबाट किसानको भेषमा आन्दोलनकारीहरू गौर बजारमा एकैचोटी प्रवेश गर्ने र अड्डामाथि कब्जा गर्ने योजना थियो । बैरगनिया सम्मेलनले राणा शासनविरुद्ध सशस्त्र आन्दोलन गर्ने निर्णय गरेदेखि नै गौर बजारमा सेनाको उपस्थिति र निगरानी बढेको थियो । त्यस दिन किसानको भेषमा एक हुल आन्दोलनकारी बरहवातिरबाट गौर बजारमा प्रवेश गर्दैगर्दा बैरगनियातिरबाट सचेत राजनीतिकर्मीसँगै ठुलो समूह नेपाल प्रवेश ग¥यो । आन्दोलनकारीको विशाल समूह भारतीय भूमिबाट गौर बजार प्रवेश गर्दैगर्दा गगनभेदी नाराले भन्सार क्षेत्रका सुरक्षाकर्मी पछाडि हटे । दसगजा क्षेत्रमा रहेको खोल्सी पार गर्दैगर्दा गौरतिरबाट गएका केही आन्दोलनकारीसित जम्काभेट भयो । भारततिरबाट आएको स्वतन्त्रता सङ्ग्रामीको विशाल समूहलाई केही सङ्ख्यामा रहेका गौरतिरको सङ्ग्रामी टोलीले स्वागत अभिवादन गर्‍यो । अहिले सोही ठाउँको स्मृतिमा क्रान्तिद्वार निर्माण भएको छ ।

भन्सारतिरबाट आएको जुलुसमा बरहवातिरको जुलुसको समूह पनि मिसियो । अन्य गल्लीबाट आएका आन्दोलनकारीहरू पनि एक भए । विशाल जुलुस अड्डातिर बढ्न थाल्यो । जुलुसमा सहभागी आन्दोलनकारीको हातमा नेपाली कांग्रेसको झन्डा, केही केहीको हातमा लट्ठी तथा केहीले राजा त्रिभुवनको तस्बिर लिएका थिए । खाली हात हुनेले जोसिलो मुठी उचालेका थिए । अड्डानजिक पुगेपछि जुलुसको बिचैबाट जोसिएर शिवप्रसाद कुँवर नेपाली कांग्रेसको झन्डा बोकेर अड्डामाथि चढे र अड्डाको छानामा पुगेर झन्डा के फहराएका थिए, ड्याङ गोली चल्यो । उहाँको छातीमा गोली लाग्यो, उहाँ त्यहीँ ढल्नुभयो । त्यसपछि भागाभाग मच्चियो, राणा सेनाले अन्धाधुन्ध गोली तथा लट्ठी बर्सायो । १८ जना त्यहीँ सहिद भए, सडकमा रगतको खोलो बग्यो । नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा मङ्सिर ३ विशिष्ट दिन हो । अझै पनि हरेक वर्ष मङ्सिर ३ गते रौतहट सदरमुकाम गौरमा सहादत दिवस मनाउने गरिन्छ, सोही दिनको स्मृतिमा । 

देशमा जनक्रान्तिले विस्तार पायो । अन्ततः आन्दोलनको अगाडि राणा शासन झुक्न बाध्य भयो । दिल्ली सम्झौताले २००७ फागुन ७ गते देशमा प्रजातन्त्रको बिहानी ल्यायो । बैरगनिया सम्मेलनले क्रान्तिका लागि औपचारिक वैधता पाएको नेपाली कांग्रेसको मुक्ति सेनालाई दिल्ली सम्झौता अनुसार रक्षा दलमा परिणत गरियो । विद्रोहपछि सिंहदरबारमा कैद गरिएका केआई सिंहलाई यही रक्षा दलको सहयोगमा मुक्त गरिएको थियो । देशमा अत्यन्त विशिष्ट घटनाको रूपमा प्रजातन्त्र प्राप्तिलाई मानिएको छ । यस प्रजातान्त्रिक आन्दोलनका लागि निर्णय गर्ने र आन्दोलनको प्रतीकात्मक साक्षीका रूपमा नेपाल–भारत सीमामा रहेको गौरको क्रान्तिद्वारले सदैव शिर ठाडो पारेको छ ।  

 

Author

सञ्जय साह मित्र