फडिन्द्र अधिकारी
पोखरा, पुस १२ गते। अङ्ग्रेजी नयाँ वर्षमा हुने सडक महोत्सव पोखराको पहिचान बन्दै गएको छ। २५ वर्षअघि सुरु भएको महोत्सव देशमा चलेको सशस्त्र विद्रोह होस् कि कोभिडको कहर, निरन्तर रह्यो। अफ सिजन मानिने चिसो मौसममा हुने यो महोत्सवले लेकसाइड वा पोखरा सबै महोत्सवका लागि भन्ने सन्देश दिएको छ।
बिदा मनाउन नेपाल आउने विदेशीलाई नयाँ वर्ष उत्सव मनाउन पाउने अवस्था सिर्जना गरेको छ भने नेपालका विभिन्न संस्कृति देखाएर यसको प्रवर्द्धन समेत गरेको छ।
आजबाट लेकसाइडको तीन किलोमिटरमा महोत्सव सुरु भएको छ। पोखरा महानगरका प्रमुख धनराज आचार्यले महोत्सव भव्य समारोहबिच उद्घाटन गर्नुभयो। महोत्सवको रजत वर्षको उपलक्ष्यमा पोखरालाई चिनाउने दिग्गज व्यक्तित्वलाई सम्मानसमेत गरिएको छ।
नयाँ वर्ष मनाउनकै लागि स्वदेशी र विदेशी पाहुना पोखरा आएका छन्। रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) पोखराले मेलालाई पृथक् बनाउने प्रयत्न गरेको छ। लेकसाइडको खहरेचोकदेखि कोमागाने पार्कसम्मको सडकमा सांस्कृतिक झाँकीसहितको र्याली निकालियो। र्यालीमा सहभागीले ब्राह्मण, मुस्लिम, किराँत, लिम्बू, थारु, पुन जातिका संस्कृति प्रदर्शन गरे। चितवनको थारु नाच, भजन, चुट्का, थाली नाचदेखि रुकुमको मयुर नाचसमेत देखाइएको छ।
महोत्सव हेर्न आएका स्वदेशी र विदेशी पाहुना फरक फरक संस्कृति एकै ठाउँमा चाख मानेर हेरिरहेका छन्। उनीहरू त्यसलाई फोटो र भिडियोमा कैद गर्न व्यस्त छन्। महोत्सव पुस १६ गतेसम्म चल्नेछ। ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नारासहित सुरु महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत, झाँकी प्रदर्शन, कन्सर्ट, बोट रेस, भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार र पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र प्रदर्शन गरिनेछ। महोत्सव पाँच लाखले अवलोकन गर्ने लक्ष्य छ। महोत्सव हुने क्षेत्रका सडक सिँगारिएका छन्।