• १३ असोज २०८१, आइतबार

पर्यटकको रोजाइमा ‘पित्लेक’

blog

पर्यटकलाई सांस्कृतिक कार्यक्रममार्फत मनोरञ्जन गराउँदै पित्लेक सामुदायिक होमस्टेका सदस्य । तस्बिर : राधाकृष्ण डुम्रे

वालिङ समाचारदाता 

वालिङ, मङ्सिर २७ गते । स्याङ्जाको वालिङ नगरपालिका–५ मा रहेको ‘पित्लेक’ अर्गानिक तरकारी, खाद्यान्न र फलफूल उत्पादनका लागि परिचित सुन्दर गाउँ हो । पित्लेक, आरुपाटा र पाँडथोक गरी तीन गाउँ यो क्षेत्रमा पर्छ । यहाँ गुरुङ, मगर, बाहुन र दलित समुदायको बाक्लो बसोबास रहेको छ ।

पछिल्लो समय यो गाउँ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । यस पालिकाको १४ वटै वडाका विभिन्न स्थानको अवलोकनसँगै आकर्षक हिमदृश्य देखिने भएकाले पित्लेक पर्यटकको रोजाइमा परेको हो । गाउँबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छे्रलगायत हिमाल स्पष्टसँग देखिन्छ । वालिङ बजार र आँधी खोलाको सुन्दर दृश्य यहाँबाट देख्न सकिन्छ । यहाँ १४१९ मिटरको उचाइमा होमस्टे छ । 

नमुना कृषि गाउँको नामबाट परिचित पित्लेकमा २०६५ सालदेखि गाउँमा गुरुङका सात घरमा होमस्टे सुरुवात गरिएको थियो । अहिले १८ घरमा घरबास सुविधा छ । 

पित्लेक सामुदायिक होमस्टेका अध्यक्ष भूपेन गुरुङका अनुसार एक हजार रुपियाँ प्याकेजमा स्वागत खाजा, साँझको खाना, बास, सांस्कृतिक कार्यक्रम र बिहानको खाजाको सुविधा छ । गाउँमा हेर्न लायक आरुपाटा सोलार लिफ्टिङ, पित्लेक खहरे ग्राभिटी रोपवे, क्होंबो, कालिका मन्दिरलगायत छन् । गाउँ पुग्ने पर्यटकले अर्गानिक तरकारी, फलफूल र मह कोसेली लैजाने गरेको होमेस्टेका सचिव तिलक गुरुङले बताउनुभयो ।  स्थानीय गुरुङ समुदायले पर्यटकको मनोरञ्जनका लागि संस्कृति झल्कने रोधी, मारुनी, सालैजो देखाउने गरेका छन् । बुटवलबाट साथीसँगै घुम्न आउनुभएका अमृत पाण्डेले यहाँ छुट्टै आनन्दको महसुस गरेको बताउनुभयो ।

पोखराबाट फर्कंदा हाम्रो वालिङ बजारको होटेलमा बस्ने योजना थियो तर पित्लेकको बारेमा जानकारी पाएपछि यता आएका हौँ, पाण्डेले भन्नुभयो । बजारबाट नजिकै रमाइलो गर्ने अवसर पायौँ उहाँको भनाइ छ ।