• ७ जेठ २०८१, सोमबार

रोजगारी र पूर्वाधार प्राथमिकतामा

blog

मालिकार्जुन गाउँपालिका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्टिकोणले दार्चुलाको महत्वपूर्ण स्थानीय तह हो । सङ्घीयतापछि आठ वडामा विभाजित यो गाउँपालिका साबिकका मालिकार्जुन, डाँडाकोट, उकु, भगवती, हुनैनाथ र शङ्करपुर गाविस समेटिएर बनेको हो । पूर्वमा शैल्यशिखर नगरपालिका, पश्चिममा पवित्र महाकाली नदी, उत्तरमा महाकाली नगरपालिका र दक्षिणमा लेकम गाउँपालिका रहेको छ । पवित्र धार्मिक मठमन्दिर एवं प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालकै सात धाममध्येको शैल्यशिखर मालिकार्जुनलगायत विभिन्न देवीदेवताका मन्दिर रहेका छन् । उकु महललगायत सम्पदा, खोलानाला, वनजङ्गल, ढुङ्गा, स्लेट, जडीबुटी, वन पैदावार, कृषि, पशुपालन, नगदेबालीलगायत पर्याप्त स्रोत तथा सम्भावना रहेको पालिका हो । नेकपा (एमाले) बाट स्थानीय तह निर्वाचन २०७९ मा गाउँपालिका अध्यक्षमा निर्वाचित हिरासिंह धामीसँग गोरखापत्रका लागि दार्चुला समाचारदाता लोकेन्द्रप्रसाद जोशीले गर्नुभएको कुराकानी :

मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि के के काम गर्नुभयो ?

गाउँपालिकाको अध्यक्षमा जनताले निर्वाचित गरेदेखि नै हामी योजनाबद्ध ढङ्गले काम गरिरहेका छौँ । खास गरी शिक्षा, स्वास्थ्य र रोजगारीका माध्ममबाट समृद्ध मालिकार्जुन, सुखी मालिकार्जुनवासी बनाउने नीति तथा कार्यक्रम कार्यान्वयन गरेका छौँ । पहिलो वर्षलाई सिकाइ वर्षका रूपमा लिएर चालु आर्थिक वर्षमा विकासका सबै जसो क्षेत्रलाई उचित सम्बोधन हुने गरेर सुशासनसहित पूर्वाधार र सामाजिक विकासको क्षेत्रमा काम गरिरहेका छौँ । 

पालिकाले शिक्षा क्षेत्रमा के कस्ता काम गरिरहेको छ ?

यहाँका सामुदायिक विद्यालयहरूको दयनीय अवस्था रहेको विद्यमान परिस्थितिमा १५ वर्षे शैक्षिक गुरुयोजना निर्माण गरेका छौँ । आवश्यक ऐन, नियम, कार्यविधि तयार गर्दै शिक्षा क्षेत्रमा अबको पाँच वर्षभित्र, १० वर्षभित्र र १५ वर्षभित्र के के काम गर्ने भनेर योजना बनाइसकेका छौँ । शैक्षिक गुणस्तर सुधारका लागि शिक्षा ऐन, नियमावली ल्याएर कार्यविधि निर्माण गर्दै सामुदायिक विद्यालयको अवस्था बुझ्दै विद्यार्थी अनुपातमा विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान गर्ने काम गरेका छौँ । पहिलो वर्ष एक करोड ३० लाख रुपियाँको शिक्षा विकास कोष स्थापना गरेर विषयगत शिक्षकको व्यवस्थापन गर्न पालिकास्तरीय राहत दरबन्दी सिर्जना गरेका छौँ । गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले शिक्षाका आवश्यक पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापन गरेका छौँ । 

स्वास्थ्य क्षेत्रको सुधारमा के काम गर्नुभएको छ ?

मालिकार्जुनका आमनागरिक हाम्रा सम्पत्ति हुन् । नगरवासीलाई स्वस्थ राख्न र बिरामीको उपचार गर्न उपचारात्मक र निदान पद्धति अवलम्बन गरिरहेका छौँ । भएका स्वास्थ्य संस्थाहरूलाई व्यवस्थित गर्दै दुर्गम स्थानमा एक वर्षमा चार वटा सामुदायिक स्वास्थ्य एकाइ स्थापना र जनशक्ति व्यवस्थापन गरिसकेका छौँ । पहिलो वर्ष विशेषज्ञ चिकित्सकसहित चार वटा स्वास्थ्य शिविर सञ्चालन गरेका छौँ । चालु आर्थिक वर्षमा वडा वडामा एकीकृत घुम्ती शिविरका माध्यमबाट स्वास्थ्य सेवा प्रदान गरिरहेका छौँ । पालिकामै आँखा शिविर सञ्चालन गरेर सयौँलाई गाउँघरमै सेवा दिनुका साथै गेटा आँखा अस्पतालसँगको सहकार्यमा पालिकामै आँखा उपचार केन्द्र स्थापना गरेका छौँ । तीन वटा एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । सबै बर्थिङ सेन्टरमा सेवा सुधार, स्वास्थ्य संस्थामा जनशक्ति व्यवस्थापन र औषधीको उपलब्धतामा ध्यान दिएका छौँ । १० शøयाको अस्पताल निर्माण भइरहेको छ । 

सडकको पहुँच र यातायात सुविधामा कस्ता काम भइरहेका छन् ?

सीमित स्रोतसाधनका बिच पनि थन्किएर बसेको एक्साभेटर मेसिन प्रयोग गरी एक वर्षमा छ किलोमिटर सडक निर्माण गरिएको छ । गाउँपालिकाको बिच भाग भएर जाने कालोपत्रे महाकाली लोकमार्ग सञ्चालनमा छ । महाकाली नदी किनारमा महाकाली कोरिडोर निर्माणाधीन अवस्थामा छ । प्रत्येक वडालाई सडक सञ्जालमा जोडिएको छ । अब वडाहरू जोड्ने सडक स्तरोन्नतिको काम हुँदै छ । 

मालिकार्जुनमा सञ्चार र विद्युत् सुविधा हुन नसकेको भन्छन् नि ?

विद्युत्को पहुँच अधिकांश घरधुरीमा पुगिसकेको छ । बाँकी रहेको क्षेत्रमा चाँडै विस्तार गर्न पहल गरिरहेका छौँ । विगतको तुलनामा केही सुधार भए पनि सञ्चारको पहुँचबाट ग्रामीण क्षेत्रका जनता अझै वञ्चित छन् । जनजीवनसँग जोडिएको सञ्चार र विद्युत्को क्षेत्रमा छिटो काम गर्न अधिकतम पहल गरिए पनि केन्द्र तथा प्रदेश सरकारबाट अपेक्षाकृत सहयोग पाउन सकिरहेका छैनौँ । 

यहाँका कतिपय गाउँमा खानेपानीको अभाव छ ? खानेपानीको समस्या समाधान गर्न के कदम चाल्दै हुनुहुन्छ ?

खानेपानीको क्षेत्रमा पनि निरन्तर काम भइरहेको छ । कतिपय विवादित योजना सम्पन्न गरेर गत वर्ष ११ सय घरधुरीलाई लाभ पुग्ने गरी खानेपानी योजना निर्माण भएका छन् । मुहान नभएको ठाउँमा लिफ्ट प्रविधिबाट खानेपानी पु¥याइरहेका छौँ । खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि अझै धेरै काम गर्न बाँकी छन् । अबको दुई वर्षभित्र सबै काम गरिसक्ने योजना छ । 

स्वरोजगार र आत्मनिर्भरसम्बन्धी के काम गरिरहनुभएको छ ?

आत्मनिर्भर स्वरोजगार हाम्रो प्राथमिकताको विषय हो । गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम (मेडपा) मार्फत गत वर्ष ७५ जनालाई सीपमूलक तालिम दिनुका साथै २५ जना उद्यमीको क्षमता अभिवृद्धि गरिएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमसँगै अध्यक्ष स्वरोजगार कार्यक्रम जोडेर विकास निर्माणका कार्यक्रम सञ्चालन गरिएको छ । 

स्थानीय युवालाई प्रस्तावित व्यवसायको आधारमा अनुदान दिन अध्यक्षसँग स्वरोजगार कार्यक्रम सञ्चालनमा छ । पशुपालन, माहुरीपालन, फलफूल खेतीलगायत कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर दीर्घकालीन रोजगारी सिर्जना गर्ने कामहरू भइरहेका छन् ।

आन्तरिक आम्दानी बढाउन केही प्रयास हुँदै छन् कि ? 

दुःखको कुरा बजेट बनाउन केन्द्र सरकारकै भर पर्नुपर्ने अवस्था छ । राजस्वका दायरा बढाउने र स्रोतको खोजी गर्ने काम भए पनि आन्तरिक आम्दानी निकै कम छ । कुल बजेट ५५ करोड रुपियाँ भए पनि खर्च गर्न पाउने १२ करोड रुपियाँको हाराहारी मात्रै हो । ५० लाख रुपियाँ आन्तरिक आम्दानी हुने लक्ष्य निर्धारण गरिएको छ । 

गाउँपालिकाको विकासमा के कस्ता चुनौती आइलाग्ने रहेछन् ?

चुनौती भएकै ठाउँमा काम गर्न रमाइलो हुन्छ । चुनौतीलाई अवसरमा बदल्ने प्रयत्न जारी छ । समृद्ध मालिकार्जुन, सुखी मालिकार्जुनवासी नै हाम्रो मूल मर्म हो । सुशासनसहितको विकास एवं समृद्ध मालिकार्जुनको सपना साकार पार्न काम गरिरहेका छौँ । 

भ्रष्टाचार नियन्त्रण र सुशासनको क्षेत्रमा के काम भइरहेका छन् ?

पालिकाको विकास निर्माणलाई जनमैत्री, पारदर्शी, गुणस्तरीय र जनसहभागितामूलक बनाउने प्रयास गरिरहेका छौँ । कुनै पनि जनता विकासको मूलधारबाट वञ्चित हुनुहुँदैन भन्ने कुरामा सजक छौँ । भ्रष्टाचारमा शून्यसहनशीलता अपनाएका छौँ ।