• १३ असोज २०८१, आइतबार

पर्यटकको रोजाइमा पुम्दीकोट

blog

फडिन्द्र अधिकारी

लेखनाथ, मङ्सिर २७ गते । पोखरा आउने पर्यटक अचेल आसपासका अरू पर्यटकीय स्थलसम्म पनि पुग्छन् । सराङकोट, काहुडाँडा, शान्ति स्तूपलगायतका ठाउँबाट पोखरा उपत्यका र हिमाल नियाल्नेले अहिले नयाँ गन्तव्य भेट्टाएका छन् पुम्दीकोट ।

पोखरा महानगरपालिका–२२ मा फेवातालको माथि डाँडामा पर्ने पुम्दीकोट अचेल आन्तरिक र बाह्य पर्यटकको समेत रोजाइमा पर्न थालेको छ । ४० करोड रुपियाँको बृहत् गुरुयोजना अनुरूप काम भइरहेको यो कोटमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससमेत पुग्नुभएको थियो । 

यहाँ रहेको ५१ फिट अग्लो शिवको मूर्ति पोखराबाट छर्लङ्ङ देखिन्छ । मूर्तिले आकर्षित भएका पर्यटकले त्यहाँ पुगेपछि छुट्टै संसारको अनुभूति गर्छन् । पोखरा–१७ बाट शनिबार पुम्दीकोट आएका रमेश बरालले पुम्दीकोटमा सोचेभन्दा धेरै संरचना बनिसकेको बताउनुभयो । 

पोखरा आएका पर्यटक एक घण्टाको सवारी यात्रा गरी यहाँ पुग्न सक्छन् । भगवान् शिवको मूर्ति र लहरै देखिने हिमाललाई पृष्ठभूमिमा राखेर तस्बिर खिच्नेको ताँती नै लागेको छ । विशाल महादेवको मूर्तिसँग आमनेसामने गरी सुमेरु पर्वत बनाइएको छ । 

सुमेरुमा मन्दिरसँगै पार्वती र कुमारको मूर्ति छ । करिब दुई करोडमा सुमेरु पर्वत बनाइएको हो । यसको काम सक्न पाँच करोड खर्च हुने अनुमान छ । गण्डकी प्रदेशका पूर्वअर्थमन्त्रीसमेत रहनुभएका स्थानीय बासिन्दा रामजीप्रसाद बराल पुम्दीकोटमा भएको योजनाबद्ध विकासबाट अब स्थानीयको जीवन उकास्नेतर्फ ध्यान दिनुपर्ने बताउनुहुन्छ । 

“पुम्दीकोटभन्दा माथि भुम्दीकोट छ, तल शान्ति स्तूप छ । यो क्षेत्रलाई धार्मिक पर्यटनको हब बनाउन लाग्नु पर्छ,” बरालले भन्नुभयो । पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालका अनुसार आरम्भमा पुम्दीकोट योजनाबद्ध विकासका लागि बनाइएको गुरुयोजनामा २० करोड रुपियाँ खर्च हुने अनुमान थियो । 

संरचना थपिँदै जाँदा अहिले लागत दोब्बर भएको छ । समितिका अध्यक्ष बरालले हालसम्म यहाँ २७ करोड रुपियाँ लगानी भइसकेको बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीय सरकारसहित भक्तजनबाट समेत स्रोत सङ्कलन गर्ने योजना छ । 

समितिले महादेवको मूर्ति रहेको थुम्कोबाट अर्काे थुम्कोमा रहेको सुमेरु पर्वतसम्म विद्युतीय चेयर कार चलाउने योजना बताएको छ । यहाँ अहिलेसम्म ५१ फिट अग्लो महादेवको मूर्ति, ३१ फिट अग्लो डमरु, गङ्गा पोखरी, १०८ धाराजडित तेस्रो आँखा, २१६ शिवलिङ्ग, १०८ सिँढी स्वर्गद्वारी बनिसकेका छन् । शिव ताण्डव नृत्य, अन्तर्राष्ट्रिय ध्यान केन्द्र, मोनोरेलद्वारा महादेव मूर्तिमा गणेशको परिक्रमालगायतका संरचना बनिसकेका छन् ।