• २० असोज २०८१, आइतबार

बेनीको गाईजात्रामा युवाको सहभागिता

blog

बेनीमा युवा र पाका पुस्ता मिलेर निकालेको गाईजात्रा । तस्बिर : ठाकुरप्रसाद आचार्य ।

ठाकुरप्रसाद आचार्य

म्याग्दी, भदौ १५ गते । बेनीमा युवा र पाका पुस्ता मिलेर गाजात्रा निकालेका छन् । नेवार समुदायको पुरानो मौलिक संस्कृति लोप हुन नदिन पाका पुस्तासँगै युवा पनि गाजात्रामा सहभागी भएका छन् । गाजात्रा बेनीका नेवार समुदायको मौलिक सांस्कृतिक पहिचान मानिन्छ ।  

जनै पूर्णिमाका अवसरमा नेवार समुदायले बजारमा गाईजात्रा निकालेका छन् । बर्खे नाच अन्तर्गत बिहीबार र शुक्रबार नेवार समुदायले बेनीमा गाईजात्रा निकालेका हुन् । नेवार समुदायले दिवंगत आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाउने परम्परागत प्रचलन छ ।  

वर्षभरी दिवंगत भएका आफन्तको सम्झनामा नेवार समुदायले सापारु निकाल्ने प्रचलन छ । सापारुलाई नेपालीमा गाईजात्रा भन्ने गरिन्छ । दिवंगतहरुको सम्झनामा ठट्टा र रमाइलो गर्दै गरिने गाइजात्राले मृत्युको शाश्वत सत्यलाई स्वीकार गरेर बाच्न प्रेरित गर्ने भनाइ रहेको नेवार समुदायका अगुवा दिनेशनारायण श्रेष्ठले बताउनुभयो । 

नागनागिनीको भेषमा गीत गाउँदै नाच्ने प्रचलन पनि छ । गाईजात्रा बेनीमा नेवार समुदायको बसोबास भएदेखि नै देखाउने प्रचलन रहेको श्रेष्ठले बताउनुभयो । मानिसलाई गाईको रुपमा शृङ्गारपटार गरेर बजार परिक्रमा गराउने प्रचलन छ । 


गाईजात्राका अवसरमा एक वर्षको अवधिमा दिवंगत भएका आफन्तको सम्झनामा बेनीमा नेपाल भाषा मंकाखल र ल्याम्ह पुचले एक वर्षभित्र दिवंगत भएका नेवार समुदायका घर–घरमा पुगेर तायमचा र नागनागिनी नाच प्रस्तुत गरेका छन् । 

मृतक आफन्तजनको सम्झनामा रामायणका करुण रसका गीत पनि गाउने गरिन्छ । गीत गाउने र नाच्ने युवाहरु छन् । साना–साना बालबालिकाहरु पनि नागनागिनीको भेसमा नाचिरहेका छन् । पुरानो मौलिक संस्कृति हामी युवाहरुले पनि सिक्न आवश्यक छ जेनेश श्रेष्ठले भन्नुभयो, ‘‘हाम्रो मौलिक संस्कृति संरक्षण गर्ने दायित्व युवाहरुको हो । त्यसैले मैले यस वर्षदेखि नागनागिने नाचमा नगिनीको भेषमा नाचिरहेको छु ।’’