• ३० वैशाख २०८२, मङ्गलबार

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

blog

फाइल तस्विर ।

रमेश विश्वकर्मा

गुल्मी, भदौ १५ गते । आज शुक्रबारदेखि रेसुङ्गा विमानस्थलमा हुने भनिएको पुनः नियमित उडान प्रतिकूल मौसमका कारण प्रभावित भएको छ । मौसममा क्रमशः सुधार आएसँगै आजदेखि पहिलेकै समयमा नियमित उडान हुने भनिएको नेपाल एयरलाइन्सको विमान मौसम प्रतिकूलका कारण आउन नसकेको रेसुङ्गा विमानस्थलका वरिष्ठ अधिकृत एवम् एयर ट्राफिक कन्टोलर अस्मिता बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौंदेखि रेसुङ्गा विमानस्थलतर्फ बिहान ६ः३० बजेको समयमा हवाई उडान हुने भनिए पनि मौसम प्रतिकूलताका कारण उडान हुन सकेन । शुक्रबार बिहानैदेखि मौसम खुल्न नसकेको कारण विमान दुई घण्टा काठमाडौंमै होल्ड गरेको तर मौसम सुधारमा सम्भावना नदेखिएकाले उडान रोकिएको हो ।

विगत दुई महिनादेखि प्रतिकूल मौसमका कारण विमानस्थलमा उडान हुन सकेको थिएन । काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि गत असार ६ गते उडान भए पनि खराब मौसमका कारण विमान बीचबाटै काठमाडौं फर्किएसँगै उडान भएको थिएन ।

रेसुङ्गा विमानस्थलमा गत वैशाख अन्तिम साताबाट नियमित उडान सुरु भएको थियो । रेसुङ्गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ः४५ बजे उडान गर्ने समयतालिका थियो । काठमाडौंदेखि गुल्मीका लागि ६ हजार ५०० रुपियाँ र गुल्मीदेखि काठमाडौंका लागि ६ हजार ३०० रुपियाँ भाडादर कायम गरिएको छ ।