• २० असोज २०८१, आइतबार

धनकुटामा २२ परिवारको गाईजात्रा

blog

धनकुटामा निकालिएको गाईजात्रा । तस्बिर : कविराज घिमिरे

कबिराज घिमिरे

हिले, भदौ १४ गते । धनकुटामा यो बर्ष २२ परिवारले गाईजात्रा निकालेका छन् । यो बर्ष मृत्यु भएका ब्यक्तिको परिवारले गाईजात्रा निकालेका हुन् । जात्रामा सहभागी हुन तथा हेर्न धनकुटा बजारमा हजारौं सहभागी भएका छन् ।

जात्रामा लाखे नाच, लाठी नाचलगायत प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र कृष्णपक्षमा मनाइने गाइजात्रा बिहीबार धनकुटामा पनि मनाइएको छ । 

एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिंगारी आफ्ना क्षेत्रमा परिक्रमा गराउने चलन नेवारी समुदायमा रहिआएको छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरु गाईको पुच्छर समाती वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । 

धनकुटाको श्रीवानीमा भेला भइ सुरु भएको गाइजात्रा मदनचोक, चुवाको बोट, भीमनारायण चोक, माथिल्लो कोप्चे, तल्लो कोप्चे हुँदै टुँडिखेलमा आएर समापन भएको थियो ।

राजा प्रताप मल्लले पुत्रशोकले भाव विह्वल आफ्ना रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई मृत्यु भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउन आदेश दिएपछि गाइजात्राको चलन सुरु भएको मानिन्छ । 

गाइजात्राले मात्रै रानीको मन शान्त नभएपछि विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरुप जात्राको प्रचलन चलेको विश्वास गरिन्छ ।