• ५ जेठ २०८१, शनिबार

सामुदायिक विद्यालयमा 'मिनी म्याथ ल्याब'

blog

सामुदायिक विद्यालयलाई मिनि म्याथ ल्याव सामग्री वितरण गर्दै सूर्योदयका नगर प्रमुख रण बहादुर राई ।

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम), भदौ १४ गते । सामुदायिक विद्यालयको गुणस्तर सुधारमा लागि परेको इलामको सूर्योदय नगरपालिकाका सबै सामुदायिक विद्यालयमा मिनी म्याथ ल्याब (गणित प्रयोगशाला) सञ्चालन गरिएको छ । 

विद्यार्थीको नतिजा गणित विषयमा कमजोर हुने गरेका कारण गणितलाई अभ्यासका माध्यमबाट सहज बनाउनका लागि नगरपालिकाले नगर क्षेत्रका ६५ वटा सामुदायिक विद्यालयमा मिनी म्याथ ल्याब(गणित प्रयोगशाला) सञ्चालनमा ल्याएको हो । 

मिनी म्याथ ल्याब सञ्चालनका लागि आवश्यक पर्ने नौ प्रकारका सामग्री नगरमा आयोजित एक कार्यक्रममा विद्यालयलाई वितरण गरिएको छ । प्रत्येक विद्यालयलाई सात हजार पाँच सयका दरले ६५ वटा विद्यालयमा चार लाख ८७ हजार पाँच सय मूल्य बराबरका सामग्री वितरण गरिएको सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिनुभयो । शाखा प्रमुख भट्टराईले भन्नुभयो, ‘सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नका लागि हामीले नेपालमा उपलब्ध नभएका म्याथका सामग्री भारतबाट ल्याएर पनि वितरण गरेका छौँ ।’

नगरले पहिलो चरणमा कक्षा १ देखि ५ सम्म मिनी म्याथ ल्याब सञ्चालन गरेको छ । सानै कक्षाबाट गणितमा विद्यार्थीलाई अब्बल बनाउनका लागि तल्लो कक्षामा ल्याब सञ्चालनमा ल्याइएको हो । सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले गणित विषय एक प्रकारको खेल भएकाले वितरण गरिएका सामग्रीले विद्यार्थीलाई गणितसँग खेल्न सहज हुने बताउनुभयो । उहाँले नगरले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि नगरले विभिन्न प्रकारका प्रयत्न गरिरहेको बताउनुभयो ।

उक्त अवसरमा फिक्कल माध्यमिक विद्यालयका गणित शिक्षक भूपेन्द्र अधिकारीले म्याथ ल्याबका सामग्रीको प्रयोग गरेर देखाउनु भएको थियो । उहाँले नगरले वितरण गरेको एकै प्रकारका सामग्रीले धेरै तरिकाले विद्यार्थीलाई गणित सिकाउन सकिने बताउनुभयो । कार्यक्रममा सूर्योदय नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखाले नगर क्षेत्रका विद्यालयको शैक्षिक सत्र २०७९ को नतिजा विश्लेषण गरेको थियो । 

सूर्योदय नगरपालिकाले आधारभूत तथा माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७९ मा प्राप्त गरेको शैक्षिक नतिजालाई हरेक वर्ष विश्लेषण गर्ने र विश्लेषणबाट प्राप्त पृष्ठपोषणलाई आगामी शैक्षिक सत्रमा शैक्षिक सुधारका लागि सहयोगी सामग्रीको रूपमा प्रयोग गर्दै आएको छ । २०७९ को एसइईको नतिजामा भने नगरका सामुदायिक विद्यालय संस्थागत विद्यालयको तुलनामा गणित विषयमा कमजोर देखिएको छ । 

नगर प्रमुख राईले आजको आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्नेगरी अध्ययन गराउन विद्यालयलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी निरन्तर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा लागि रहँदा पनि गणित विषयमा विद्यार्थीको नतिजा कमजोर देखिनु दुखद हो, यसलाई सुधार गर्नु पर्छ । 

नगरपालिकाले नगरका सामुदायिक विद्यालयमा इन्टरनेट जडान गरी इ प्यानलबोड जडान गरेको छ । शिक्षकको इ हाजिरी यस अघि नै सञ्चालनमा ल्याइएको छ । फिक्कल माध्यमिक विद्यालय र ज्योति माध्यमिक विद्यालयमा यस अघि नै गणित र विज्ञान प्रयोगशाला ल्याब सञ्चालनमा ल्याइसकेको छ ।