रामेछाप समाचारदाता
रामेछाप, भदौ ६ गते । रामेछापको मन्थलीमा सञ्चालित मन्थली नगर अस्पतालले आफ्नो सेवालाई विस्तार गर्दै लगेसँगै बिरामीको चाप बढेको छ ।
मन्थली अस्पतालमा रामेछापसहित छिमेकी ओखलढुङ्गा, दोलखा, सोलुखुम्बु र सिन्धुली जिल्लाका नागरिक उपचारका लागि आउने गरेका छन् । मन्थली नगरपालिकाले मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शøयाको मन्थली अस्पतालमा स्तरोन्नति गरी सञ्चालन गरेको डेढ वर्ष भएको छ । यो अवधिमा सेवाग्राहीलाई प्रभावकारी स्वास्थ्य उपचार सेवा प्रदान गर्दै सेवाको विस्तार गरेको छ ।
अस्पतालले २४ घण्टे इमर्जेन्सी सेवा र शल्यव्रिmयासहितको प्रसूति सेवा उपलब्ध गराउने गरेको छ । एक जना एमडिजिपी एन्ड इमर्जेन्सी फिजिसियनसहित चार जना डाक्टर रहेको यस अस्पतालले ओपिडी, रेडियोलोजी सेवा, थेरापी सेवा, डेन्टल सेवा, पोस्टमार्टम, आँखा केन्द्र, ल्याब, फार्मेसीलगायत सेवा दिँदै आएको छ । अस्पतालमा साप्ताहिक खोप सेवा सञ्चालन हुने गरेको छ ।
नगर अस्पताल सुविधासम्पन्न बन्दै गएको सेवाग्राही विपिन भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालले स्वास्थ्य उपचार सेवामा विस्तार र विविधीकरण गरेपछि रामेछापको मन्थलीबाहेकको पालिकासँगै छिमेकी जिल्लाबाट पनि धेरै बिरामी उपचारका लागि आएका छन्, यो अस्पताल मन्थली नगरपालिकाको गर्व गर्न लायक बनेको छ । अस्पतालले अब स्वास्थ्य बिमामार्फत नागरिकले पाउने औषधि पर्याप्त मात्रामा व्यवस्थापन गर्न सके अझै राम्रो हुने उहाँको सुझाव छ । मन्थली नगरपालिका–९ पुरानागाउँकी ७६ वर्षीय धनमाया श्रेष्ठ स्वास्थ्य उपचार सेवा रहे पनि उपचारका लागि लामो समय पर्खनुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अस्पतालमा राम्रो उपचार भएर त होला नि मान्छेको भिड हुन्छ तर उपचारका लागि धेरै समय कुर्नुपर्दा हामी जस्ता बुढाबुढीलाई अलि समस्या हुन्छ ।”
दैनिक दुई सयलाई सेवा
मन्थली अस्पतालका प्रमुख डा. समीर क्षेत्रीले अहिले अस्पतालमा उपचारका लागि दैनिक दुई सय जना बिरामी आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय अस्पताल आउने बिरामी अत्यधिक मात्रामा बढेका छन् । उपचारका लागि अस्पताल आउनेमध्ये धेरै भाइरल ज्वरोका बिरामी छन् ।” मन्थली अस्पतालले आवश्यक मात्रामा औषधीको व्यवस्थापन गर्न सकेन भन्ने सेवाग्राहीको गुनासो छ । अस्पतालले सेवाग्राहीको गुनासो समाधानका लागि नगरपालिकासँग समन्वय गरेर औषधीको व्यवस्थापन गर्न लागिएको क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्थली अस्पताललाई दैनिक ५० हजार रुपियाँको औषधी आवश्यक पर्छ, यसलाई हेर्दा एक महिनामा १५ लाख रुपियाँको औषधि चाहिन्छ, अहिले नगरपालिकाले टेन्डर गरेको ५० लाख रुपियाँको औषधि केही दिनमा आउँछ ।”
नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशव फुयालले भन्नुभयो, “प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाएर चलाउन सकिन्छ कि सकिँदैन भन्ने थियो । चुनौतीलाई चिर्दै प्रभावकारी सेवा दिइरहेका छौँ । सुविधा सम्पन्न भवन निर्माणको अन्तिम चरणमा छ बनेपछि अस्पतालको सेवा झनै प्रभावकारी हुन्छ ।” स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गरी नगरपालिकाले २०७८ माघ २८ गतेबाट सञ्चालनमा ल्याएको थियो ।
सुविधासम्पन्न भवन बन्दै
बागमती प्रदेश सरकारको सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापमार्फत नौ करोड, ३२ लाख, ५० हजार ९८६ रुपियाँ लगानीमा मन्थली अस्पतालको भवन निर्माणको काम जारी छ । २०७९ मङ्सिरसम्म निर्माण सम्पन्न गर्ने गरी गाल्वा÷लाल शुभ मेन्द्रो जेभी काठमाडौँसँग २०७८ जेठ ३० गते अस्पताल निर्माणको सम्झौता भएकोमा २० प्रतिशत पनि काम नसकी निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि झन्डै छ महिना अस्पताल निर्माणको काम अलपत्र बनेको थियो । निर्माणको जिम्मा लिएको लाल शुभ मेन्द्रो सम्पर्कविहीन भएपछि उसको पार्टनर निर्माण कम्पनी गाल्वाले गत माघ महिनाबाट अस्पताल निर्माणको काम सुरु गरेको हो ।