• १३ साउन २०८१, आइतबार

जबरजस्ती जुस खुवाएपछि ...

blog

बेपत्ता भएको दुई महिनापछि सम्पर्कमा आएका टेकबहादुर रावत । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, साउन ९ गते ।
 बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका टेकबहादुर रावत ६१ दिनपछि सम्पर्कमा आउनुभएको छ । भारतको उत्तराखण्ड राज्यको पौडी जिल्लाको पौवाबाट घर फर्किँदै गरेको समयमा बेपत्ता भएका रावत ६१ दिनपछि आफैँ सम्पर्कमा आाउँनुभएको हो ।

गत जेठ ३ गते भारतको पौडी जिल्लाको पौवाबाट हिँडेको तीन घण्टापछि सम्पर्क विहीन हुनुभएको टेकबहादुर रावत साउन ८ गते सम्पर्कमा आउनुभएको छेडेदह गाउँपालिका –५ का स्थानीय धनबहादुर रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गत जेठ ३ गते उनीसँगै उनको दाइ समेत भारतको पौडी जिल्लाको पौवाबाट सँगै घरमा आउने बेलामा घरमा श्रीमतीलाई हामी यहाँबाट हिँडेको भनेर जानकारी गरेको तीन घण्टापछि सम्पर्क विहीन भएका थिए ।’’

टेकबहादुर रावत झण्डै दुई महिनापछि सम्पर्कमा आए पनि उहाँका दाइ अर्जुन भने अझैँ सम्पर्कमा नआएको रावतले बताउनुभयो । यता आफन्तले दाजुभाइ हराएको र खोजीका लागि जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा समेत निवेदन गरेको थियो ।

६१ दिनपछि सम्पर्कमा आएका टेक रावतले जेठ ३ गतेका दिनमा हामी दुई दाजुभाइ पौडी जिल्लाको पौवा भन्ने ठाउँबाट हिँडेका थियौँ । रिसिकेशदेखि हरिद्वारसम्मको जङ्गलमा एक जना नेपाली बोल्ने मानिसले जुस खुवाएपछि कता गयौँ के भयौ थाहा नभएको बताउनुभयो ।

दाजु र आफसँगै बसेको बेलामा त्यो जङ्गलमा नेपाली बोल्नेले जबरजस्ती जुस खुवाएपछि दाइको बारेमा केही थाहा नभएको उहाँले बताउनुभयो । बेपत्ता भएका अर्जुन रावतका दुई छोरा दुई छोरी र श्रीमती छन् भने टेकबहादुर रावतका तीन छोरा र श्रीमती छन् ।

भारतबाट नेपालमा आउने क्रममा बाजुरा धेरै युवा लुटिने गरेका छन् । घरबाट बालबच्चा पालन पोषण गर्नका लागि पैसा कमाउन भारत गएका नेपाली यसरी प्रत्येक वर्ष लुटिने गरेको टेकबहादुर रावतले बताउनुभयो ।