• ९ जेठ २०८१, बुधबार

मेरिङ्देन सेवा आफ्नै प्रशासकीय भवनबाट

blog

मेरिङ्देन गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन । तस्विर: गाेरखापत्र

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन ९ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले आफ्नै प्रशासकीय भवनबाट कार्यालय सञ्चालन सुरु गरेको छ । प्रशासकीय केन्द्र सान्थाक्रामा भवन निर्माणको कार्य सम्पन्न भएसँगै मेरिङ्देन गाउँपालिकाले सोमबारदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरु गरेको हो । 

गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको सोमबार प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गामले उद्घाटन (शुभारम्भ) गर्नुभएको छ । प्रशासकीय भवनको शुभारम्भसँगै सोमबारदेखि नै नयाँ भवनबाट सेवा प्रवाह सुरु गरिएका गाउँपालिकाका अध्यक्ष युकहाङ्बीर हाङ्गाम (डम्बर) ले जानकारी दिनुभयो । अध्यक्ष हाङ्गामका अनुसार गत असार १५ गते नै प्रशासकीय भवनको निर्माण सम्पन्न भएको थियो ।

गाउँपालिकाका इन्जिनियर पवन पौडेलले थप रकमसमेत पाँच करोड ६१ लाख ४७ हजार ४४१ रुपियाँको लागतमा प्रशासकीय भवन निर्माणको कार्य पूरा भएको जानकारी दिनुभयो । इन्जिनियर पौडेलका अनुसार सुरुमा मालिकादेवी हिमालय जेभी कम्पनीसँग पाँच करोड ६ लाख १९ हजार ९८८ रुपियाँ भवन निर्माण सम्पन्न गर्ने गरी २०७७ साल असोज ५ गते गाउँपालिका र निर्माण कम्पनीबिच सम्झौता भएको थियो । भवन निर्माणका क्रममा केही कम थप भएकाले सोहीअनुसार रकम लागत पनि वृद्धि हुन पुगेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले भने प्रशासकीय भवन निर्माणका लागि छ करोड ६८ लाख ८३ हजार ५८ रुपियाँ लागत अनुमान गरी २०७७ साल असार २ गते बोलपत्र आह्वान गरेको थियो । भवन निर्माणका लागि बोलपत्र आह्वानको प्रक्रियासँगै मालिकादेवी हिमालय जेभीले निर्माणको जिम्मेवारी पाएको र योजना सम्झौतापछि तत्कालीन गाउँपालिका अध्यक्ष गणेशबहादुर चोङ्वाङ लिम्बूले भवनको शिलान्यास गर्नुभएको थियो ।

आफ्नै प्रशासकीय भवनबाट कार्यालय सञ्चालन अर्थात् सेवा सुरु गर्नेमा भने मेरिङ्देन गाउँपालिका जिल्लाको चौथो स्थानीय तह बनेको छ । यसअघि ताप्लेजुङका नौ स्थानीय तहमध्ये सिरिजङ्घा गाउँपालिका, फुङ्लिङ नगरपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण सम्पन्न गरी सेवा प्रवाह गर्दै आएका छन् । बाँकी स्थानीय तहले भाडाका घरमा कार्यालय सञ्चालन गरिरहेका छन् भने अधिकांश पालिका आफ्नो प्रशासकीय भवन निर्माणमा जुटिरहेका छन् ।

यता मेरिङ्देन गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रदेशसभा सदस्य हाङ्गामले स्थानीय सरकारले आफ्नै भवनबाट सेवा सुचारु गर्नु पालिकावासीका लागि खुसीको कुरा भएको बताउनुभयो । आफ्नो भवनको अभावमा हालसम्म सेवा प्रवाहमा रहँदै आएको असहजताको पनि अन्त्य भएको उहाँले बताउनुभयो । कार्यक्रममा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङलगायतको उपस्थिति थियो ।