• १३ साउन २०८१, आइतबार

महिला अधिकारका मुद्दा

blog

समाज पुरुषप्रधान भएकाले महिला नारीको स्थान पुरुषपछि नै छ। परिवारमा प्रत्येक निर्णयमा पुरुषकै प्रमुख भूमिका हुन्छ। यति बेला समाज निकै परिवर्तन भइसकेको छ। अब त हाम्रो समाजको सोचमा पनि निकै परिवर्तन आइसकेको छ। महिलाले परिवारमा अग्रणी भूमिका निर्वाह गरिरहेका छन्। परिवारमा हुने प्रत्येक निर्णयमा महिला र पुरुष दुवैको समान भूमिका हुन्छ। केही अपवादबाहेक समाज आधुनिक भइसकेको छ। कानुनले पनि महिला र पुरुषलाई समान हकअधिकार दिएको छ। शिक्षा, स्वास्थ्य, राजनीतिक, सामाजिक आदि सबै क्षेत्रमा दुवैको समान अवसर छ। रोजगारको क्षेत्रमा पनि महिलालाई विशेष अवसर प्रदान गरिएको छ। 

केही जिल्लामा अविवाहित छोरीलाई देवतालाई चढाउने नाममा झुमा प्रथा, देउकी प्रथा, बादी प्रथा, छाउपडी प्रथा अझ पनि फाटफुट प्रचलनमा छन्। त्यस्तै बहुविवाह, बालविवाह, दाइजो प्रथा, कुटपिट, सम्बन्ध विच्छेद, गालीगलौज, अपहेलना, घरेलु हिंसा, बालिका भ्रूण हत्या, दाइजोका कारण जलाउने, विधवा प्रथा, घुम्टो प्रथा, बोक्सीको आरोप, बेचबिखन आदि महिला हिंसा अझसम्म पूर्ण रूपमा हटेको छैन। यस्ता सामाजिक, धार्मिक कुसंस्कारले महिलाको शोषण मात्र होइन, अपमान पनि भइरहेको छ। यी प्रथालाई पनि पुरातन तथा रूढिवादी सोचका केही महिलाका कारण समाजबाट पूर्ण रूपमा हटाउन सकिएको छैन। यसमा केही हदसम्म महिलालाई पनि दोषी मान्न सकिन्छ। परिवार र समाजका केही महिलाले यसलाई पूर्ण रूपमा बर्जित गर्न नसकेसम्म तथा जरैदेखि उखेल्न नसकेसम्म यस्ता प्रथा समाजमा भइरहन्छन्। यसलाई पूरै हटाउन महिलाले नै अग्रसरता लिनु पर्छ।

महिला हिंसा कम गर्न महिलाप्रतिको शोषण, उत्पीडन, हिंसा, अत्याचार, दुव्र्यवहार अन्त्यका निमित्त थुप्रै कानुन बनेका छन् तर पनि दिनहुँ जसो यस्ता घटना भइरहेका समाचार हामीले नचाहँदा नचाहँदै पनि देख्नु, सुन्नु अनि पढ्नु परिरहेको छ। यो अवश्य पनि दुःखद तथा लज्जास्पद कुरो हो। यसमा केही हदसम्म महिला पनि दोषी देखिन्छन्। यहाँ नेर पारिवारिक प्रसङ्ग जोड्न उचित लाग्यो। सासूको बुहारीले आफूलाई स्याहारसुसार गरून्, भलाकुसारी गरून् भन्ने चाहना हुन्छ। बुहारी आफ्नो कामबाट फर्केपछि आफ्नै काममा लाग्नुपर्ने, घरधन्दा, बालबच्चालाई हेरविचार गर्नुपर्ने हुनाले पनि तिनले चाहँदा चाहँदै पनि सासूलाई समय दिन सक्दैनन्। सासूको बुहारीले आफूलाई स्याहरसुसार गरून्, भलाकुसारी गरून् भन्ने चाहना हुन्छ। सासू दिनभर घरमा बस्दा बस्दै बोर भइसकेकी हुन्छिन्। बुहारी घर फर्केपछि एकछिन भए पनि सासूसँग कुराकानी गर्दा हुने थियो। सासूले पनि बुहारीको व्यस्तता बुझिदिए कि पनि हुने थियो। 

सासूले आफ्नो छोरा आफ्नै बसमै होस् भन्ने चाहन्छिन्। छोराको बिहेपछि आफ्नो छोरा आफूबाट टाढा हुन्छन् कि भन्ने मानसिक त्रास हुन्छ। त्यस्तै पत्नी पनि बिहे गरेर कसैको पत्नीका रूपमा अन्जान अनि नयाँ घरमा प्रवेश गर्छिन्। आफू जन्मेहुर्केको घर आफ्नो बाबाआमालाई छोडी सधैँका लागि पतिको घरमा जीवन सङ्गिनी बनेर आउँछिन्। यसर्थ तिनीमा पनि सासूबाट आफूलाई छोरी जतिकै माया पाइयोस् भन्ने चाहना हुन्छ। आफूलाई सासूले छोरी जस्तो मानून् भन्ने चाहन्छिन्। त्यस्तै सासूले पनि बुहारीले आमालाई जस्तो माया गरोस्, आफूलाई आमा जस्तो मानोस् भन्ने चाहन्छिन् तर व्यवहारमा प्रायः सासू र बुहारी दुवैले यस्तो गर्न सक्दिनन्। 

यसर्थ सासू र बुहारीको सम्बन्ध सुधार्न छोरा र श्रीमान्ले पनि इमानदारीका साथ आफ्नो भूमिका निर्वाह गर्नु पर्छ। एक आफूलाई जन्म दिने आमा, अर्को आफूसँग जीवनभर साथ बिताउन आउने पत्नी दुवैलाई नाता अनुसारको सम्बन्धमा सन्तुलन गर्नु पर्छ। श्रीमान्ले पनि आफ्नी पत्नी र आमालाई सम्झाई बुझाई गर्नु पर्छ। आफूले हालिमुहाली गरिआएको घर कसैले आई हालिमुहाली गर्न आएको सहन सक्दिनन्। यस्तै द्वन्द्वले गर्दा परिवारमा सानो सानो कुरामा पनि मनमुटाव, कलह, झगडा भइरहन्छ। यो त हाम्रो समाजमा सामान्य नै मानिन्छ तर यसले कहिलेकाहीँ परिवारमा ठुलो रूप लिई परिवार नै विखण्डित हुन सक्छ। यस्तो घटना प्रायः हाम्रो आफन्त, छरछिमेकमा देख्न र सुन्न पाइन्छ। यस्तै साना साना कुराले उग्र रूप लिँदा कहिलेकाहीँ यसले अपराधको रूप पनि लिन सक्छ। 

हाम्रो समाजमा पुरुषले भन्दा महिलाले नै महिलाको कुरा काटेको, खुट्टा तान्ने गरेका घटना धेरै भेटिन्छन्। एक महिलाले जस्तो मनको कुरो, मनको बह अनि व्यथा र पीडा महिलाले मात्र बुझ्न सक्छिन्। तिनीहरू आपसमै एकले अर्कालाई बुझ्न नसक्नु नै समस्याको जड हो। एक महिलाले सधैँ अर्काे महिलालाई साथ दिने हो भने पुरुषले कहिल्यै पनि कुरा काट्न सक्दैनन्। परिवारमा घरेलु अन्याय, अत्याचार तथा हिंसा हुनुमा केही हदसम्म एक महिलाले अर्का महिलालाई साथ नदिनाले पनि काम गरेको छ। एक महिलाले अर्का महिलालाई सहयोग गर्ने अनि आपसमा प्रतिद्वन्द्वीको भावना नराखे परिवार, समाजमा कसैबाट हेपिएर, पेलिएर बस्नु पर्दैन। 

लोग्नेले सौता हाल्नु, बहुविवाह गर्नु, विधवा विवाह गर्न नलगाउनुमा केही हदसम्म महिला पनि उत्तरदायी हुन्छन्। सासूले नै आफ्नो छोराबाट सन्तान जन्मेन भने अर्को बिहे गर्न उत्साहित गरेन भने छोराले पनि अर्को बिहे गर्ने आँट गर्दैन। सौता पनि हाल्न सक्दैन। सौता बन्ने महिलाले पनि अर्काको श्रीमान्सँग बिहे गर्न नै नचाहने भए, तिनेले पनि अर्काको सौता हुँदाको मर्म बुझ्ने हो भने पनि पुरुषले पनि सौता हाल्न सक्दैन। त्यस्तै महिलाले नै विधवा विवाहलाई सहज रूपमा स्वीकार गर्न नसक्नाले पनि विधवा विवाह परिवार अनि समाजमा सहज हुन नसकेको हो। 

विधवा विवाहलाई कानुनले मान्यता दिएको छ। हाम्रो समाजले पनि विधवा विवाहलाई स्वीकृति दिइसकेको छ। पुरुषले यो कुरा स्वीकार गरे पनि नारीले भने सहजै स्वीकार गर्दैनन्। यो अवश्य पनि खुसीको कुरा हो। यसमा महिलाकै इच्छा, स्वीकृतिको खाँचो छ। त्यसैले हामी सबैले आफ्नो सङ्कीर्ण एवं पुरानो सोचमा परिवर्तन गर्नु पर्छ। विश्व कहाँ पुगिसक्यो, हामी भने उही पुरानो सोचमै रुमल्लिएका छौँ। अब हामी सबैले विगतका कुरालाई परिमार्जित गरेर आउने पुस्तालाई जिउन सहज बनाउनु पर्छ। आजैदेखि हामी सबैले आफ्नो घरबाट नै यसको सुरुवात गरौँ।

  

Author

अनिता प्रधान