• १३ साउन २०८१, आइतबार

भेरीगङ्गाका किसानलाई अनुदानमा घाँस काट्ने मेशिन

blog

भेरीगंगा नगरपालिकाका किसानलाई च्यापकटर मेशिन वितरण गर्नुहुँदै प्रमुख यज्ञप्रसाद ढकाल र उप–प्रमुख धनसरा बोहरा । तस्बिर : नवीन सुवेदी

नवीन सुवेदी

सुर्खेत, असार २१ गते । भेरीगङ्गा नगरपालिकाका पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा च्यापकटर मेशिन (घाँस, पराल काट्ने मेशिन) वितरण गरिएको छ । भेरीगङ्गा नगरपालिका प्रमुख यज्ञप्रसाद ढकाल र उपप्रमुख धनसरा बोहोराले किसानहरुलाई च्यापकटर मेशिन वितरण गर्नुभएको हो ।

उपप्रमुख स्वरोजगार कार्यक्रम अन्तर्गत पालिकाका १३ वटै वडामा व्यावसायिक पशुपालन गरिरहेका किसानलाई एक सय ८७ थान च्यापकटर मेशिन वितरण गरिएको हो । 

यसमा विद्युतीय च्यापकटर मेशिन ५५ थान र सादा एक सय ३२ थान वितरण गरिएको हो । मेशिन वितरण गर्दै नगरप्रमुख ढकालले नगरपालिकालाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । 

मेशिनको प्रयोगले व्यावसायिक किसानलाई पशुपालनमा सहजता ल्याउने र उत्पादन वृद्धि हुने अपेक्षा लिएको उहाँले बताउनुभयो । भेरीगङ्गा नगरपालिकाको पशुपन्छी विकास शाखाका प्रमुख भोजप्रसाद चपाईले लागत कम गरी उत्पादन बढाउने उद्देश्यसाथ किसानसँग लागत साझेदारीमा गाई, भैंसी अथवा बाख्रापालन गरेका किसानलाई मेशिन वितरण गरिएको जानकारी दिनुभयो । 

त्यस्तै, न्यून आम्दानी भएका किसानलाई शाखाले बाख्रा र बोका वितरण गरेको छ । पालिकाले एक सय २८ वटा बाख्रा, सात वटा बोका वितरण गरिएको चपाईले जानकारी दिनुभयो । 

नगरपालिकाको वडा १ मा २४ वटा बाख्रा र एउटा बोका, वडा १० मा ४० वटा बाख्रा, वडा ८ मा ४० वटा बाख्रा र पाँच वटा बोका, वडा ९ मा २४ वटा बाख्रा र एउटा बोका वितरण गरिएको छ । 

किसानको १५ प्रतिशत लगानी र नगरपालिकाको ८५ प्रतिशत लगानीमा बाख्रा र बोका वितरण गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै, चार जना एकल महिलालाई प्रतिव्यक्ति चार वटाका दरले बाख्रा अनुदानमा वितरण गरिएको पनि उहाँले बताउनुभयो । भेरीगङ्गामा एकसय सात वटा पशुपालक कृषक समूह छन् ।