• १३ पुस २०८१, शनिबार

प्रधानमन्त्रीको भारत भ्रमणमा उठेका प्रश्न र जवाफ

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चार दिने औपचारिक भ्रमण पूरा गरी नेपाल फर्किनुभएको एक साता बितेको छ। तर भ्रमण र त्यसबाट पैदा भएको तरङ्ग अझै कायम छ। भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डले देशका पक्षमा स्पष्ट अडान राखेकै कारण नेपालले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। जसलाई प्रधानमन्त्रीको कूटनीतिक सफलता मानिएको छ। 

प्रधानमन्त्रीको भ्रमणपछि विगत केही समयदेखि अवरुद्ध जस्तै भएका दुई देशबीचका कतिपय संयन्त्रका संयुक्त बैठक बस्नु, विगत केही समयदेखि नवीकरण हुन नसकेका व्यापार तथा पारवाहन सम्झौता नवीकरण हुनु, नेपालमा उत्पादित ठुलो परिणाममा विद्युत खरिद गर्न भारत तयार हुनु तथा नेपालले लामो समयदेखि उठाउँदै आएको सीमा समस्या आपसी सहमतिमा समाधान गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तयार हुनु जस्ता कैयौं उपलब्धिले भ्रमणमा केही भएन भनेर हल्ला गर्नेलाई गतिलो जवाफ दिएको छ।

प्रधानमन्त्रीले देशको पक्षमा स्पष्ट अडान राख्दा आत्तिएका विपक्षी दल र केही विरोधी शक्तिले भ्रमणमा केही पनि भएन भनेर प्रचार गरिरहेका छन्। तिनीहरु भ्रमणमा भएका सहमति, सम्झौता र छलफलका विषयवस्तुमा बहस र छलफल गर्न होइन, नितान्त प्राविधिक र व्यक्तिगत विषय उठाएर झुट र अनर्गल प्रचारमा रमाइरहेका छन्। 

प्रधानमन्त्रीको भ्रमणमा स्वागत गर्न को आए ? प्रधानमन्त्री बसेको होटलमा स्वागत गर्न भारतका प्रतिनिधि आउँदा किन प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहाललाई सँगै राखियो ? नेपालले विगत सात वर्षदेखि भारतसँग किन्न प्रस्ताव गरेका १५ वटा मुर्रा राँगो किन यसैबेला उपहार दियो र भारतको मध्यप्रदेशस्थित चर्चित मन्दिर महाकालेश्वरमा प्रधानमन्त्री किन पुग्नुभयो ? भन्ने जस्ता प्राविधिक विषयलाई अनावश्यक ढंगले उछालिएको छ। विगत लामो समयदेखि नै माओवादी अध्यक्ष प्रचण्ड र उहाँको सहयोगी टिममाथि निरन्तर सुनियोजित प्रहार भएको छ । केही व्यक्ति र तीबाट संचालित मिडियामा पनि यसपटक यस्तै प्राविधिक विषय उछालेर प्रधानमन्त्री प्रचण्ड, उहाँ नेतृत्वको सरकार र सहयोगी टिमप्रति प्रहार गर्ने काम भएको छ। 

हरेक हप्ता प्रधानमन्त्री प्रचण्डविरुद्ध पाँच छवटा हावादारी समाचार लेखेर आत्मरती लिँदै आएको एक साप्ताहिक पत्रिकाको एक अंकमा प्रधानमन्त्री प्रचण्डकी स्वकीय सचिव गंगा दाहालविरुद्ध अत्यन्तै तल्लो स्तरमा झरेर चरित्र हत्या, मानहानी र गाली नै गरेको पाइयो। पत्रकारिताको सामान्य मूल्य मान्यता, पत्रकार आचारसंहिता र नेपालको प्रचलित कानुनको समेत उल्लंघन गर्दै यसरी लगातार कपोलकल्पित समाचार पस्कँदा पनि चुप लागिरहनुपर्छ भन्ने हुँदैन। यसरी खुलेआम अर्काको चरित्रहत्या र मानहानी गर्नेविरुद्ध उचित कानुनी बाटो अवलम्बन हुने नै छ। यहाँ भने प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी सदस्यका रुपमा बाहिर उठाइएका केही प्राविधिक सवालबारे प्रष्ट पार्ने प्रयास गरेको छु।

राज्यमन्त्रीबाट स्वागत

जेठ १७ गते नेपाल वायुसेवा निगमको बाइडवडी जहाज आरए २१९ बाट दिल्ली जाँदै गर्दा जहाजभित्रै प्रधानमन्त्रीको भ्रमण तालिका पुस्तिका भ्रमण दलका सदस्यको हातमा पुगिसकेको थियो। उक्त पुस्तिकामा प्रधानमन्त्रीको चार दिने भ्रमणका सबै औपचारिक भेटघाट र कार्यक्रम समेटिएको थियो। भारतका विदेशमन्त्री देश बाहिर हुने भएकाले विदेश राज्यमन्त्री स्वागतमा आउने कुरा यसअघि नै परराष्ट्रका एक कर्मचारीले सुनाएका थिए। 

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनासाथ तालिकाअनुसार नै विमानस्थल भित्रै नेपालका प्रधानमन्त्रीको  स्वागत भयो।  भारतका विदेश राज्यमन्त्री मिनाक्षी लेखी, भारतका लागि नेपाली राजदूत डा‍ शंकर शर्मा, नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवलगायतले प्रधानमन्त्रीको स्वागत गर्नुभयो। प्रधानमन्त्रीको स्वागतमा विमानस्थलको बाहिर विभिन्न सांस्कृतिक झाँकीसहित भोजपुरी नृत्य प्रस्तुत गरिएको थियो भने दिल्लीको सडकमा नेपालमा प्रधानमन्त्रीको स्वागतमा ब्यानर, पोष्टर, डिजिटल बोर्ड एवम् ब्यानर टाँगिएका थिए।


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै भारतका विदेशराज्यमन्त्री मिनाक्षी लेखी । तस्बिर : प्रदीपराज वन्त 

भारतमा प्रधानमन्त्री प्रचण्डको भव्य स्वागतको समाचार सँगसँगै भ्रमणलाई महत्त्व नदिइएको र राज्यमन्त्री मात्रै पठाएर स्वागत गरेको भनेर अर्को खबर पनि फैलाइयो। वास्तवमा भारतमा विदेशी प्रधानमन्त्रीको स्वागतमा प्रधानमन्त्री आफैँ विमानस्थल पुगेको विरलै पाइन्छ। प्रायजसो विदेश सचिव, राज्यमन्त्री र मन्त्रीबाटै स्वागत भएको पाइन्छ। नेपालबाट दुई वर्ष पहिले २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गर्नुभएको थियो। २०७६ जेठ १६ गते केपी ओली भ्रमणमा जाँदा विदेश सचिव विजय गोखलेले स्वागत गर्नुभएको थियो। नेपाल र अरु देशका प्रधानमन्त्री भारतमा जाँदा स्वागत गर्ने भनेको सचिव, राज्यमन्त्री र मन्त्रीस्तरबाट नै हो, जुन यस पटक पनि भयो। यसलाई अनावश्यक रुपमा प्रचार गर्नुको कुनै तुक छैन।

छोरीलाई 'फस्ट लेडी' बनाइएको बारे

'फस्ट लेडी' अर्थात् प्रथम महिला एक अनौपचारिक उपाधि हो। सामान्यतया यो शब्द राष्ट्रप्रमुख वा सरकार प्रमुखका पत्नी, छोरी वा अन्य नातेदार सदस्यका लागि प्रयोग गरिन्छ। विश्वका धेरैजसो लोकतान्त्रिक देशमा यसको अभ्यास हुँदै आएको छ।

नेपालमा पनि फस्ट लेडीको प्रचलन कायमै छ। संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको विदेश भ्रमणमा फष्ट लेडीका रुपमा छोरी सुजाता कोइरालाको सहभागिता रहने गरेको थियो। त्यस्तै राष्ट्रपति डा‍ रामवरण यादवको विदेश भ्रमण वा विदेशबाट पाहुना आएका बेला उहाँको छोरी फस्ट लेडीका रुपमा सहभागी बन्ने गरेकी थिइन। यसअघि प्रधानमन्त्री ‘प्रचण्ड’ विदेश भ्रमणमा जाँदा उहाँकी धर्मपत्नी सीता दाहाल सहभागी हुनुभएको थियो। तर यस पटकको भ्रमणमा सीता दाहाल गम्भीर बिरामीको अवस्थामा रहनु भएकाले छोरी गङ्गा दाहाललाई फस्ट लेडीको भूमिकामा भ्रमण दलमा सहभागी गराउने निर्णय मन्त्रिपरिषद् बैठकबाटै भएको हो।

मन्त्रिपरिषद्को निर्णय अनुसार भ्रमणमा फष्ट लेडीकारुपमा सहभागी गंगा दाहालको भूमिका भ्रमण सफल र प्रसंशायोग्य भएको तथा कतै पनि गुनासो गर्नु नपरेको कुरा हामीसँग परराष्ट्रका अधिकारीले पटक पटक व्यक्त गरेका थिए। राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा चल्दै आएको प्रचलन बमोजिम नेपाल सरकारले प्रधानमन्त्रीको छोरीलाई फष्ट लेडीकारुपमा भ्रमणमा सहभागी गराउँदा कुनै कमजोरी भएको छैन। तर विरोधका लागि विरोध गर्नेले भने जतिसुकै राम्रा कामको पनि विरोध गर्न छाड्दैनन, जसको पछि लाग्नु सम्भव छैन।


प्रधानमन्त्रीको छोरी गंगालाई जोडेर बाहिर आलोचना गर्ने गरिएको अर्को विषय हो प्रधानमन्त्री बसेको होटल मौर्यमा स्वागत गर्न आएका भारतका प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनय मोहन क्वात्रासँग भेट्दा छोरीलाई सँगै राखियो भन्ने विषय। यो आलोचना पनि यथार्थ नबुझी भएको  हो। होटलमा पुगेपछिको पहिलो भेट सुरक्षा सल्लाहकार अजित डोभालसँग हुने पूर्व निर्धारित कार्यक्रम थियो। कार्यक्रम पुस्तिकामा पनि उक्त भेटलाई वान टु वान भनिएको थियो।

उक्त भेटका लागि परराष्ट्रका पदाधिकारीले प्रधानमन्त्रीलाई बिफ्रिङ नोट उपलब्ध गराएर केही समयपछि भारतस्थित नेपाली राजदूतावासमा हुने कार्यक्रममा जाने तयारीका लागि होटलको लविमा पुगिसकेका थिए। प्रधानमन्त्री बसेको होटलको १४ औं तलास्थित अपार्टमेन्टमा पाहुना पुग्दा प्रधानमन्त्रीको स्वकीय सचिव छोरी गंगा दाहाल जो फस्ट लेडीको भूमिकामा भ्रमणमा सहभागी भएकाले स्वागत गर्नु स्वाभाविकै हो। अजित डोभालसँगै विदेशसचिव पनि आउँदा शिष्टाचार र स्वागत आदानप्रदानका क्रममा खिचिएका तस्बिरलाई देखाएर छोरीलाई बैठकमा सहभागी गराएको प्रचार गर्न मिल्दैन। होटेल मौर्य भनेको प्रधानमन्त्रीको बासस्थान हो।

त्यहाँ भेटन आउने व्यक्तिलाई स्वागत गर्दा वा स्वागत फर्काउँदा प्रधानमन्त्रीको साथमा फस्ट लेडीको भूमिकामा उहाँकी छोरी देखिनु कुनै अनौठो विषय होइन। यसबाट कुनै प्रोटोकल मिचिएको छैन। जहाँसम्म दुई पक्षीय औपचारिक वार्ता र छलफलको विषय छ, त्यसमा परराष्ट्र मन्त्रालयले पहिले नै तय गरेका पदाधिकारी सहभागी भएका छन्। परराष्ट्र मन्त्रालयको संलग्नता विना प्रोटोकल मिचेर दिउँसो वा मध्यरातमा नेपाल वा भारतमा कसैसँग पनि प्रधानमन्त्रीको भेट भएको छैन।

जेठ २४ गते बुधबार प्रकाशित एक पत्रिकाले गंगा दाहाललाई भारतले हिराको हार नै उपहार दिएको भन्नेसहित चरित्र हत्या गर्नेगरी आरोपहरु लगाएर पूरै कपोलकल्पित प्रचार गरेको छ। यस्ता शतप्रतिशत झुठ्ठा समाचार छापेर हामीले नेपाली पत्रकारिताकै विश्वास गुमाइरहेका छौं। समीक्षा गर्नै पर्दछ। जहाँसम्म उपहारको सवाल छ, भारतले भ्रमणका क्रममा विशिष्ट व्यक्तिलाई दिने उपहार परराष्ट्र मन्त्रालयमार्फत् अभिलेख राखेर उपलब्ध गराउँछ र नेपालले पनि अभिलेख राखेर उपहार दिने, लिने गर्दछ। यसमा झुठ्ठा प्रचार गर्नुको कुनै तुक छैन।

भ्रमण पुस्तिकामा हस्ताक्षर गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । साथमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी । तस्बिर : प्रदीपराज वन्त

मुर्रा राँगो अनुदान 

करिब सात वर्षदेखि नेपालले भारतसँग नेपालका प्रजनन केन्द्रमा उन्नत जातको भैंसी विकासका लागि ३० वटा मुर्रा रागो भैंसी किन्न दिन भारतसँग माग गर्दै आएको थियो। भारतबाट यस्ता राँगो माग विश्वका विभिन्न देशले पनि गर्दै आएका छन्। अहिलेको भ्रमणको अवसर पारेर भारतले १५ वटा मुर्रा राँगो भैंसी नेपाल सरकारलाई उपलब्ध गराउने जानकारी गराएको थियो। यसै सन्दर्भलाई जोडेर केही मान्छे मात्रै होइन, चर्चित राजनीतिक नेतासम्मले पनि भैंसी उपहार लिएको भनेर खिसीट्युरी गर्ने, उडाउने र मजाक गर्नेसम्म गरे। भैंसी चढेर नेपाल फर्केको भनेर संसदमा समेत प्रधानमन्त्रीसहित भ्रमण टोलीमाथि प्रहार भयो। यस्ता शब्दलाई संसदको रेकर्डबाट हटाउने आदेश गर्न सभामुख बाध्य हुनुपर्‍यो।

नेपालजस्तो देशमा उन्नत भैंसीको विकासका लागि प्राप्त गरेका राँगोलाई लिएर उडाउने हाम्रो दरिद्र मानसिकताबाटै थाहा हुन्छ। हाम्रा नेपालका नेता कति धेरै संकीर्ण छन् भन्ने कुरा। यस्तो संकीर्णताले न आफू देशका लागि केही राम्रो काम गर्छ, न अरुले गरेका साना वा ठूला राम्रा कामलाई राम्रो भन्न सक्छ। प्रधानमन्त्रीको भ्रमणमा उपहारमा प्राप्त राँगोबाट वर्षमा करिब १ लाख भैंसी तयार हुनसक्ने कृषि मन्त्रालयले सार्वजनिक गरिसकेको छ। कृषिप्रधान देश नेपालमा यस्ता विकसित भैंसीको आवश्यकता अझै पनि छ।

महाकालेश्वरमा पूजा र गेरुबस्त्र

भारत भ्रमणको तेस्रो दिन प्रधानमन्त्री प्रचण्ड मध्य प्रदेशको सफा सहर इन्दौर पुग्नुभयो। यस क्रममा इन्दौर नगर निगमले संचालन गरेको फोहोर व्यवस्थापन केन्द्र र विशेष आर्थिक क्षेत्रमा रहेको टिसीएस इन्फोसिसको अवलोकन गर्नुभयो।

यसैक्रममा प्रधानमन्त्रीले भारतको प्राचीन सहर उज्जैनस्थित महाकालेश्वर मन्दिरको अवलोकन गर्नुभयो। दैनिक एक लाख भक्तजन पुग्ने उक्त मन्दिरको प्रोटोकल अनुसार भित्र पस्न मन्दिरले तोकेका बस्त्र लगाउनु पर्दथ्यो। यही बस्त्र लगाएर मन्दिरभित्र गएको र औपचारिकतास्वरुप पूजामा सहभागी  भएको विषयलाई नेपालमा निकै उछालियो। गेरुबस्त्र लगाएर पूजा गरेको, एक सय आठ केजी रुद्राक्ष चढाएको भनेर प्रचार गरियो। तर वास्तविकता केहो भने इन्दौरमा पुगिसकेपछि चर्चित महाकालेश्वर मन्दिर अवलोकन गर्न जानु जो सुकैका लागि पनि स्वाभाविक हो। मन्दिरभित्र पस्न प्रधानमन्त्रीले आफ्नो कोट मात्रै खोलेर सुरुवाल भोटोमाथि उक्त बस्त्र बेर्नु भएकै हो। मन्दिरभित्र पुगेपछि औपचारिकताका लागि पूजा गर्नु स्वाभाविकै हो। यसले धर्म, परम्परा र संस्कारप्रति सम्मान नै भएको छ।  रुद्राक्ष चाहिँ परराष्ट्रमन्त्री एनपी साउदले लानुभएको हो। एक सय आठ किलो नभई रुद्राक्षका एक सय आठ वटा माला रहेछन्।

यथार्थ के हो भने प्रधानमन्त्री प्रचण्ड देशको साझा व्यक्तित्व हुनुहुन्छ। उहाँले यो धर्म वा त्यो धर्म भनेर विभेद गर्नुहुन्न। आफू धर्म निरपेक्षताको पक्षमा रहे पनि हरेक व्यक्तिले आफूले रोजेको धर्म मान्न पाउँछन्। त्यसमा राज्यले सम्मान गर्नुपर्छ भन्ने उहाँको मान्यता हो। सबै धर्म र धार्मिक सम्प्रदायप्रति उच्च सम्मान गर्दै आउनु भएका प्रधानमन्त्री नेपालमा पनि हिन्दु, बौद्ध, इस्लाम, क्रिस्चियन, किरात, प्रकृति पूजक, बोन, जैन, बहाई, शिखलगायतका धार्मिक समुदायका गतिविधिमा सहभागी हुनुभएको छ।  नेपालका विभिन्न मन्दिरमा पुग्नु भएको छ। भारतमा पनि उहाँले धार्मिक आस्था र विश्वासप्रति सम्मान गरेर केही गल्ती गर्नुभएको छैन। केही अव्यावहारिक व्यक्तिले गेरुबस्त्रको कथा बुनेर प्रचण्डमाथि प्रहार गर्ने जुन प्रयास गरिरहेका छन्, त्यो मात्रै सपना हुनेछ। 

Author
गोविन्द आचार्य

आचार्य प्रधानमन्त्रीका प्रेस सल्लाहकार हुनुहुन्छ

लेखक बाट थप