• ७ वैशाख २०८१, शुक्रबार

एनआरटीमाथि पुलिसको प्रतिस्पर्धात्मक जित

blog

लिगमा प्रतिस्पर्धा गर्दै पुलिस र एनआरटीका खेलाडी । तस्बिरहरु : केशब गुरुङ

काठमाडौं, जेठ १८ गते । विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) क्लबमाथि प्रतिस्पर्धात्मक जित निकालेको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा पुलिसले एनआरटीलाई १–० गोलले हरायो ।

पुलिसको जितमा मोसेस ग्याबाले दोस्रो हाफमा निर्णायक गोल गर्नुभयो । मोसेसले ७५औं मिनेटमा रवि पासवानको पासमा हेड गोल गर्दै पुलिसलाई महत्वपूर्ण तीन अङ्क दिलाउनुभयो ।

बल पोसेसनमा अब्बल देखिएको एनआरटीले पहिलो हाफका मात्र ६ वटा राम्रा गोल गर्ने अवसर गुमाएको थियो । खेलको अन्तिममा एनआरटी १० खेलाडीमा समेटिएको थियो । कप्तान विक्रम धिमाल दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिनुभएको थियो ।

जितसँगै पुलिस लिगको चौथो स्थानमा उक्लिएको छ । पुलिसले २३ खेलबाट ३४ अङ्क बनाएको छ । पराजित एनआरटी समान खेलबाट २९ अङ्क जोड्दै आठौं स्थानमा छ । 

यस्तै च्यासल मैदानमा भएको अकोृ खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोल गर्ने राम्रा अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । बराबरी सँगै हिमालयन शेर्पाले २३ खेलबाट ३० अङ्क बनाएको छ । समान खेलबाट २५ अङ्क बटुलेको फ्रेन्ड्स रेलिगेसनको दबाबमा छ ।