• ८ मंसिर २०८१, शनिबार

हुड्कोमै रमाएको जीवन

blog

हुड्को र दमाहा बजाउँदै छलिया नाचमा टाउकोमा चिया पकाउने कलाका धनी बैतडीका मनोहरराम दमाई (मनोहर परियार) सुदूरपश्चिमका अग्रज छलिया कलाकार हुनुहुन्छ । हुड्को र दमाहासहित छलिया नृत्यमा टाउकोमा आगो बालेर कित्लीमा चिया पकाउँदै नाच्ने अद्भुत कला छ उहाँसँग । 

उहाँले विभिन्न कार्यक्रममा यो कला प्रस्तुत गरेर पुरस्कार र सम्मान पाइसक्नुभएको छ । मनोहरले यो कला नेपालमा मात्रै होइन, भारतको कुमाउ, गढवालमा समेत धेरै चोटि प्रदर्शन गरिसक्नुभएको छ । बैतडीको मेलौली नगरपालिका–१, मेलौलीमा २०१२ सालमा जन्मनुभएका मनोहर हुड्को, भडाः (वीरगाथा) र छलिया विज्ञ हुनुहुन्छ । 

मनोहरले २०२८ सालमा एसएलसी दिनु भएपछि धेरै ठाउँका विद्यालयबाट उहाँलाई शिक्षक बन्न आग्रह गरियो । त्यो बेला उहाँका दाजु गोपालराम दमाई बैतडीको मणिलेक हाइस्कुलका शिक्षक हुनुहुन्थ्यो । दाइ शिक्षक भएपछि घरको अवस्था मध्यम खालको थियो । 

घरव्यवहार चलेकै देखेर मनोहरले शिक्षकभन्दा कला क्षेत्रमै लाग्ने निधो गर्नुभयो । उहाँले अहिलेसम्म दर्जनौँ गीत गाउनुभएको छ । युट्युबमा अहिले पनि उहाँका गीत सार्वजनिक भइरहेका छन् । उहाँका श्रीमतीसहित चार छोरा र एक छोरी छन् । छोराहरू काठमाडौँवासी भइसक्दा पनि मनोहरले बैतडी छाड्नुभएको छैन । 

बैतडीमा बसेर हुड्को बजाउँदा मानिसहरूले मनोहरलाई माग्नका लागि गाएको हो कि भन्ने पनि गर्थे । मनोहर ५० वर्षदेखि निरन्तर सुदूरपश्चिमको कला, संस्कृति र नाट्य क्षेत्रमा सव्रिmय हुनुहुन्छ । आफ्नो कला प्रस्तुत गर्ने क्रममा हजारौँ पटक जातीय विभेद खेपेको तितो अनुभूति पनि उहाँसँग छ । अहिले पनि मनोहरलाई जिल्ला र प्रदेश स्तरमा हुने सङ्गीत र नाट्य विधाका कार्यव्रmममा बेवास्ता गरिन्छ । 

सङ्गीत महोत्सवमा आयोजकले धेरै पैसा बटुल्ने उद्देश्यले अर्धनग्न नाच नाच्ने कलाकार बोलाउँदा आफू जस्ता कलाकारले मञ्चमा स्थान पाउन नसकेको मनोहरको गुनासो छ । उहाँ भन्नुहुन्छ, “जातीय रूपमा मैले गाउँदेखि जिल्ला र प्रदेशसम्म जेजस्तो विभेद भोगेँ, त्यो मेरा छोराहरूले नजिकबाट देखेका छन्, भोगेका छन् । त्यस कारणले पनि छोराहरू मलाई यो सबै छाडेर काठमाडौँ बस्न कर गर्छन् । अब त उमेर पनि डाँडामाथिको जून जस्तो भइसक्यो । के कति गर्न सकिन्छ हेरौँ !”

मनोहरले पृथ्वीनारायण शाहको अधुरो भडाः (भडाहा) पूरा गर्ने धोको रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिमको छलिया नृत्य र भडाः पृथ्वीनारायाण शाहकै पहिरनमा ढाल र तरबार नचाउँदै गाइन्छ । छलियामा पनि ढाल, तरबार र पहिरन उस्तै हुन्छ ।”

२०५७ सालमा पृथ्वी जयन्तीका अवसर पारेर राष्ट्रिय नाचघरमा आयोजित सांस्कृतिक प्रतियोगितामा बैतडीको छलिया र हुड्को बजाउने टिम देशभरबाट नै प्रथम भएको स्मरण पनि उहाँ यतिखेर गर्नु हुन्छ तर हुड्को अहिले लोप हुन थालेको छ । मादलको जस्तो हुड्काको ताल कतै लिपिबद्ध छैन । राज्यबाट सहयोग मिले पृथ्वीनारायण शाहको भडाः र हुड्काको ताल लिपिबद्ध गरेर मर्ने धोको रहेको उहाँले सुनाउनुभयो । 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा गणतन्त्र स्थापनाका लागि लडाइँ गरेको विषयमा मनोहरले थोरै भडाहा लेख्नुभएको छ तर प्रचण्डको भडाहा पूरा लेख्न नसक्दा कतै गाउन नपाएको उहाँले उल्लेख गर्नुभयो । 

सुदूरपश्चिममा गाइने चर्चित १२ भडाः हुन् – सङ्ग्राम कार्कीको भडाः, छुरा खातीको भडाः, भिङ्या कठायतको भडाः, लाली साउदलको भडाः, रनि राउतको भडाः, उदा छपलियाको भडाः, शोभा राउतको भडाः, नर्शधौनीको भडाः, सावन महराको भडाः, मङ्गला रावतकोे भडाः, कालु भडारीको भडाः र पृथ्वीनारायण शाहको भडाः (अधुरो) । यी भडाः वीर पुरुष (पाइक) हरूका नामले स्थापित भडाः हुन् । 

हुड्कोको तालमा ती ‘पाइक’ (वीर पुरुष) को रणकौशलका गाथा गाउँदा वीर रस गुञ्जिन्छ । भडाः सुन्ने श्रोतालाई हुड्कोको सङ्गीतले लडाइँकै मैदानमा पु¥याइदिन्छ । पृथ्वीनारायण शाहको भडाः, सङ्ग्राम कार्की र लाली साउदको भडाःले श्रोतालाई जुरुक्क उचालेर वीर पुरुष लडिरहेको मैदानमा पु¥याइदिन्छ । 

हुड्को कहिले बजाइन्छ ?

सुदूरपश्चिममा पराई घर गएकी चेलीलाई भेटौँलो पर्वमा भेट्ने चलन छ । हुड्को बजाउँदै चैतलोे गीतबाट चेली भेट्न उत्साहित गरिन्छ । हुड्को बाजाको तालमा चैतलो गीत गाउँदा छोरी भेट्न नपाएकाहरू चैतलो गीत सुनेपछि कोसेली बोकेर चेलीको घर जान्छन् । पछिल्लो समय भेटौले पर्व मनाउने गरे पनि गाउँघरतिर हुड्को बजाउँदै चैतलो गाउनेहरू घट्दै गइरहेका छन् । 

यस्तै खेतमा रोपाइँ गर्दा किसानलाई अन्न उत्पादन गर्न उत्साहका साथ काममा जुट्न गाइने भडाः गीत भैनी हो । अन्न फल्ने शुभ साइत जुरेको सङ्केत दिएर हुड्को बजाउँदै भैनी गाइन्छ । भैनी महिला र पुरुष दुवैले गाउने गीत हो । 

हुड्को बजाउँदै भैनी गीत भट्याउँदा हली र रोपाहार उत्साहका साथ खेतमा काम गर्छन् तर पछिल्लो समय रोपाइँ गर्ने खेतमा कतै पनि भैनी गीत गुञ्जिँदैन । यसैगरी विवाह, व्रतबन्ध र शुभकार्यमा समेत सुदूरपश्चिममा हुड्को बजाउने चलन छ । पछिल्लो सयम हुड्कोको सट्टा विवाह व्रतबन्धमा बैण्डबाजा बजाउने चलन भित्रिएको छ । 

संसारका धेरै बाजामध्ये हुड्को मात्र यस्तो बाजा हो, जुन नाच्दै गाउँदै बजाइन्छ । पृथ्वीनारायण शाहको जस्तो सेतो पहिरन लगाएर टाउकोमा मुकुट जस्तो रङ्गीविरङ्गी पगडी बाँधेर भाका हाल्दै नाचिन्छ र यसलाई हुड्को नाच नाचिन्छ । बैतडीमा झुसे दमाई हुड्को नाचका प्रसिद्ध कलाकार हुनुहुन्थ्यो । उहाँको स्वर्गारोहणपछि बैतडी सदरमुकाम क्षेत्रमा हुड्को नाच लोप भइसकेको छ । 

हुड्को नाच छलियाभन्दा पुरानो नाच हो । गाउँघरतिर बिनापहिरन पनि पुरुष र महिलाले यो नाच नाच्ने गरेको पाइन्छ । हुड्को नाच सुदूरपश्चिम र कर्णाली प्रदेशमा विवाहमा नाच्ने गरिन्थ्यो । पछिल्लो समय यो नाच लोप हुने अवस्थामा छ । 

हुड्कोलाई जाति विशेषको बाजा ठान्नु र हुड्को बजाउनेमाथि जातीय विभेद हुनु हुड्को लोप हुनुको अर्को प्रमुख कारण हो । हुड्को बजाउनेलाई जातिगत रूपमा हुड्के भनेर हेपियो । मादल, तबला, गितार, बाँसुरी बजाउनेलाई मादले र तबले भनिएन । हुड्को बजाउनेलाई हुड्के भनेर हेपेर बोलाउँदा नयाँ पिंढीले यो बाजा बजाउने साहस गर्न सकेका छैनन् ।  हुड्को बजाउँदा ‘कतै जात गइपो हाल्छ कि !’ भन्ने गलत मान्यताले दमाई जातिबाहेकले हुड्को बजाउँदैनन् । हुड्को एक जाति विशेषको बाजा होइन, यो सुदूरपश्चिमको बाजा हो भन्ने कुरा बुझाउन सकिएको छैन । राज्य र स्थानीय सरकारले यो बाजाको संरक्षण गर्न ध्यान दिएको पाइँदैन । 

वीरताका ऐतिहासिक गाथा गाउँदा प्रयोग हुने हुड्को संरक्षण गरेर यो पेसामा लागेका व्यक्ति र कलाकारलाई प्रोत्साहन हुने कार्यव्रmम बन्न सकेको छैन । सरकारले उचित सहयोग गरेको खण्डमा हुड्को बाजाको उत्पत्तिका बारेमा खोज अनुसन्धान गरेर हुड्को बाजाको ताल लिपिबद्ध गर्न मनोहर परियार लागिपर्ने बताउनुहुन्छ । 

देशभक्ति र वीरताका गाथा विभिन्न देशमा विभिन्न तरिकाले गाइन्छ । पृथ्वीनारायण शाहको नेपाल एकीकरण र लोकतान्त्रिक आन्दोलनमा सहिद भएका वीर, वीरङ्गनाका बारेमा हुड्कोको तालमा भडाः बनाउन सके यसले नयाँ नेपाल चिनाउन सक्छ ।    

Author

गोकर्ण दयाल