• १३ वैशाख २०८१, बिहिबार

सूचना प्रविधिको प्रयोग व्यापक बनाउन जोड

blog

काठमाडौं, जेठ ४ गते । डिजिटल सेवाको पहुँच हुने र नहुनेबिचको खाडल बढ्दै गएकाले त्यसलाई कम गर्न लक्ष्य निर्धारण गर्नुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभएको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार दिवसका अवसरमा राजधानीमा बुधबार आयोजित ‘स्पेक्ट्रम व्यवस्थापन सम्मेलन’ मा उहाँले डिजिटल खाडल पूरा गर्न आवश्यक नीतिगत प्रावधान र लगानीको स्पष्ट लक्ष्य निर्धारण गर्न आवश्यक भइसकेको बताउनुभएको हो । 

“एकातिर फाइभजी, सिक्सजीको कुरा आइरहेको छ, अर्कोतिर कतिपयले दूरसञ्चार सेवा नै प्रयोग गर्न नसक्ने अवस्था छ,” उहाँले भन्नुभयो, “यस्तो डिजिटल खाडल पूरा गर्न के गर्नुपर्ने हो, ठोस लक्ष्य बनाएर अघि बढौँ ।” डिजिटल खाडलको समस्या समाधान गर्न मन्त्रालयले आवश्यक सबै किसिमको सहयोग गर्ने उहाँले प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

दूरसञ्चार सेवाको पहुँच बढ्दै जाने तर आम्दानी घट्दै जाने पछिल्लो अवस्थाको कारण पत्ता लगाउन जरुरी भइसकेको पनि मन्त्री शर्माको भनाइ थियो । पहुँच बढे अनुसार आम्दानी बढाउन पर्नेतर्फ अबको प्राथमिकता हुनुपर्ने उहाँले बताउनुभयो । त्यस्तै दूरसञ्चार क्षेत्रको गुणस्तर बढाई समग्र सूचना प्रविधिको प्रयोग र त्यसमार्फत मुलुककै राजस्व बढाउने आधार सिर्जना गर्नेतर्फ सबैको ध्यान पुग्नुपर्ने उहाँको भनाइ थियो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले प्रविधिले उपलब्ध गराएको अवसरलाई अर्थतन्त्र र सामाजिक जीवन उकास्न प्रयोग गर्नुपर्ने बताउनुभयो । विश्वव्यापी डिजिटल अर्थतन्त्रसँग नेपालको अर्थतन्त्रलाई समेत जोड्ने र त्यसका लाभसमेत लिन सक्ने गरी अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । त्यस्तै डिजिटल रूपमा समावेशी वातावरण बनाउन सरकारले आवश्यक पूर्वाधार तयार गर्ने गरी अघि बढिरहेको उहाँले जानकारी दिनुभयो । 

कार्यक्रममा अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठन (आइटियु) का महासचिव डोरिन बोग्दन मार्टिनले भिडियो सन्देश पठाउँदै खास गरी अति कम विकसित मुलुकमा डिजिटल सञ्जाल कमजोर रहेकाले त्यसलाई समेत इन्टरनेटको मूलधारमा ल्याउन यस वर्षको दूरसञ्चार दिवस समर्पित गरिएको जानकारी दिनुभयो । 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले वर्तमान विश्वमा सम्पत्ति सिर्जनाका लागि डिजिटल रूपान्तरण महत्त्वपूर्ण बनेको बताउनुभयो । दूरसञ्चार क्षेत्रलाई दिगो बनाउन प्रभावकारी स्पेटक्ट्रम व्यवस्थापन आवश्यक हुने उहाँको भनाइ थियो । त्यस्तै उहाँले दूरसञ्चार क्षेत्रको लक्ष्य हासिल गर्न समयमै निर्णय गर्नुपर्ने कुरामा जोड दिनुभयो । आइटियु अन्तर्गतको एसिया प्यासिफिक टेलिकम्युनिटीका निर्देशक जोङबोङ पार्कले सामाजिक तथा आर्थिक विकासका लागि दूरसञ्चार सञ्जाल अब महत्त्वपूर्ण क्षेत्रका रूपमा स्थापित भइसकेको बताउनुभयो । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्यले नेपालको दूरसञ्चार क्षेत्रका लागि फ्रिक्वेन्सी व्यवस्थापन अहिलेका लागि सबैभन्दा महत्त्वपूर्ण विषय भएकाले दूरसञ्चार दिवसलाई यसमै केन्द्रित गरिएको जानकारी दिनुभयो । दिनभर सञ्चालन भएको कार्यक्रममा विभिन्न तीन वटा विषयगत सत्रमा विज्ञबीच छलफलसमेत भएको थियो ।