• ९ मंसिर २०८१, आइतबार

राराको आँगनमा जमेको उमङ्ग

blog

कुनै ठूलो तयारीबिनै अकस्मात् सुर्खेत जाने योजना बन्यो । यसै मेसोमा मुगुको मनमोहक रारा ताल अवलोकनको साइत जु¥यो । मेरो श्रीमान् कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकाल घर बिदा सकेर फर्कने दिन म पनि उहाँको पछि लागे । छिमेकी दाजु नरेन्द्र खतिवडा र भाउजू चन्दा खतिवडासमेत हामी बुद्ध एयरबाट सुर्खेतमा अवतरण ग-यौँ । २०३२ सालतिर तत्कालीन राजा वीरेन्द्रले मध्यपश्चिम विकास क्षेत्रको सदरमुकाम सुर्खेत रहने निर्णय गरेपछि यहाँको विकासले फड्को मारेको हो । व्यवस्थित सहरका रूपमा वीरेन्द्रनगरको विकास साँच्चै नै लोभलाग्दो । शहीद स्मारक पार्क, काक्रेबिहार क्षेत्र, बुलबुले ताल र देउती बजैको मन्दिरले सुर्खेतको सौन्दर्य बढेको छ । यतिले मात्रै तृष्णा मेटिने कुरा थिएन । मनमा रारा पुग्ने हुटहटी छ । नेपालगञ्ज, कोहलपुर छिन्छुहुँदै सुर्खेत उपत्यकाको बीचबाट ठूलो राजमार्ग पश्चिममा कर्णाली नदीसम्म पुगेर ढुङ्गेश्वर, राकम हुँदै कालिकोट जुम्ला र मुगुको रारासम्म पुग्दो रहेछ ।

फागुन २९ गते सखारै बाटो लाग्यौँ । सुर्खेत उपत्यकालाई छाडेर कपासे फेदीबाट उकालो, जङ्गलको त्यो बाटो गोठीकाँडाहुँदै रानीमत्ता पुग्दा दैलेख जिल्ला भेटियो । गुराँसे डाँडामा पाखै रातो हुने गरी फूलेको गुराँस देखेर मन प्रशन्न भयो । केही तस्बिर कैद गरियो । पाताल डाँडाहुँदै राकम कर्णाली एउटा छुट्टै भूगोल रहेछ । उष्ण मौसम समथर मिलेको जमिन । लगभग तराई जस्तो धरातल । झोलुङ्गे पुल पारीको जमिन अछाम रहेछ । कर्णालीको चिसो पानीमा पौडेर हुर्केका माछाको सुपसँग हामीले खाना खायौँ । त्यसपछि फेरि अघि बढ्नेक्रम यथावत् । ढुङ्गाको भिर छेडेर बनाइएको सडक हेर्दा आश्चर्य लाग्यो । त्यो बाटो भयानक त छ नै । भिरै भिरको बाटोमा फलामको फल्याकजस्तो रेलिङ लगाएको देखियो । 

तिला नदीको पुल तरेपछि कालिकोट सदरमुकाम मान्मा कटेर हाम्रो गाडी हुइँकियोे । कतै पहिरोले बगाएका घर, काही आधा बगाए पनि बास नछाडेका परिवार । कतै कमेरे माटोको पहाड सुक्खा पहिरो जाने खतरा । हेर्दै आङ सिरिङ्ग होलाजस्तो । चट्टानै चट्टानको पहाड भिरको टाकुरामा घर, पसल वरपर साना–साना नानीहरू अनि खसीबाख्रा । तिनीहरूलाई देख्दा के खाएर बाँच्छन् जस्तो भयो । 

त्यसपछि पुगियो कालिकोटको सदरमुकाम मान्म । यहाँ पनि छेउ काट्ने प्रसङ्गले प्राथमिकता पायो । गाडी रोकेर कता छ ट्वाइलेट ? बुझेर आलोपालो गयौँ र कफी पिइसकेपछि पुनः गाडीमा लोड भएर बेगियौँ । १९ किलोमिटर पर पिलिको दर्द सुनेर खत्रक भयो ज्यान । द्वन्दकालमा बिनाहतियार भिरको बाटो खनिरहेका सेनालाई माओवादीले अन्धाधुन्ध गोली चलाउँदा भागेर ज्यान बचाउने क्रममा भिरबाट लडेर ६२ जनाको मृत्यु भएको रहेछ । 

पिलिबाट ३१ किलोमिटर रहेछ, नाग्मा । अप्ठ्यारो भिर अजङ्गको पहाड कोपेर सुचारु गरिएको बाटो कर्णालीको भू–बनोटलाई आँखाभरि नियाल्दै बेगियौँ हामी । नाग्मा पुगिसकेपछि सिंजातर्फ नलागेर तिलानदीको किनारै किनार हुइकियौँ । भर्खरसम्म अजङ्गको पहाड देखेर चुँडिएको मन पानी भरिएको गाग्रो भेट्दाको साइत परेजस्तो भयो । साँझ झमक्क पर्दा हामी जुम्ला सदरमुकाम खलङ्गा पुग्यौँ, रात त्यही बिताइयो । 

बिहान स्थानीय हेमनाथ आचार्यसँग भलाकुसारी गरियो । आचार्यले सुनाउनुभयो– “जुम्ला भनेको जम्ल्याहा हो, तिला र हिमा दुई नदी दिदीबहिनी कर्णालीका शाखा हुन् । खलङ्गाहुँदै बग्ने तिला र सिंजाहुँदै बग्ने हिमाको सङ्गम स्थल कालिकोटको नाग्मा हो । चन्दननाथ र भैरवनाथ पनि जम्ल्याहा भएको कारण यस भूगोलको नाम जुम्ला भएको किंवदन्ती छ । 

चन्दननाथ बाबा एक सिद्ध पुरुष हुनुहुन्थ्यो । उहाँलाई दिव्य दृष्टि भएपछि दत्रातयको स्थापना गर्नुभएको हो । हाल चन्दननाथ मन्दिरको दक्षिण दिशामा सिद्ध गुफा छन् । भनिन्छ, त्यही आश्रममा बस्दा बाबालाई दिव्य दृष्टि प्राप्त भएको थियो । ५२ हात लामो ध्वजा, उही आकारको लिङ्गो र अखण्ड ज्योतिको स्थापना पनि चन्दननाथ बाबाले नै गर्नुभएको थियो । 

‘रह’ भनेको दह अर्थात् पानीको तलाउ वा कुण्डलाई भनिन्छ । खलाचौरमा बाँध काटेर पानी हटाउने काम गरेपछि क्रमशः खेतीपाती लगाइयो । त्यो समयको लेखाजोखा एउटा मूर्ति थियो, जुन मूर्तिमा कुदिएका अक्षरमा वि.सं. ६०१ भनेर उल्लेख थियो तर दुर्भाग्य त्यो चोरी भयो । यहाँ ८५ प्रतिशत बाहुन क्षेत्री, ५ प्रतिशत जनजाति र १० प्रतिशत दलितको बसोबास छ । 

विश्वमा सबैभन्दा उच्च स्थानमा धान फल्ने ठाउँ जुम्ला हो । छुमचौर लगभग ३५०० मिटर अग्लो भू–भाग हो, जहाँ मनग्य धान फल्छ । १४ सय वर्ष पुरानो अभिलेखअनुसार चन्दननाथ बाबाले नै धान खेतीको सुरुवात गर्नु भएको हो । किंवदन्तीअनुसार, मार्सी धानको बिउ भारतको काश्मीरबाट ल्याइएको हो । जुम्लाको अर्काे विशेषता घरैपिच्छे दुई चारबोट स्याउ, गोठमा दुहुना गाईभैँसी, टाट्नामा खसीबाख्रा । 

बिहानी किरणसँगै हामीले खलङ्गा बजारलाई क्यामेरामा कैद गर्यौं । सहायक खोला र खोल्सी हुँदै डाँफे लेकतर्फ अघि बढ्यौँ । वरिपरिका डाँडामा सेता टोपी लगाएझैँ हिउँले ढाकेको देखिन्थ्यो । कच्ची बाटो धेरै हिँडिएको छ तर यस्तो कमेरे पहाडको फसफसे मोड ? हामी कता जाँदै छौँ ? अनायसै प्रश्न गर्न मन लाग्यो । ‘रारा’ हो, उत्तर आफैँसँग थियो । हुँइकिँदै जाँदा घरहरू फाट्टफुट्ट आइरहन्थे, देखिरहन्थे । ओहो, यस्तो ठाउँमा कसरी बस्नु ? विरक्त भावबाट फर्केर एकैछिन एफिल टावरलाई सम्झेँ । मोनालिसालाई सम्झेँ र पूरै युरोपलाई सम्झेँ । त्यहाँको विकास र समृद्धि आँखामा सँगालेर कर्णालीलाई नियाल्दा म हैरान भएँ । 

सिटमा दायाँबायाँ घरि चन्दा दिदीले मेरो हात समात्नु हुन्थ्यो । घरि म उहाँसम्म पुग्थेँ । कहिल्यै नभत्किने हाम्रो त्यो गठबन्धन तर निर्मल दाजुले छेउ काट्न सचेत गराउनु भइसकेपछि गाडीबाट उत्रिनु पथ्र्यो । कति राम्रो हरियो साँचेर उभिएका छन् यी धुपी रुख । बाह्रै महिना हिउँ पर्ने ठाउँमा पनि नहड्बढाउने । 

त्राहीत्राही सडक चौथा पुगियो । बाटो कति छ ? ठिङ्ग उभिएको पहाड अग्लिने ठाउँ छैन । पारी–पारीका पहाड नियाल्नु महिलाको खाली सिउँदोजस्ता धर्सा कति देखियो । दिउँसो ४ बजे ताल्चा पुग्यौँ, डीएसपी महेश बस्नेतले हामीलाई स्वागत गर्नुभयो । साँच्चै, वर्षात् भयो भने रातिको व्यवस्थापन कसरी गर्नु ? महेश सरलाई रनभूल्ल बनायो मौसमले । त्यही बेला छोरा विप्लवको फोन आयो, मामु कहाँसम्मको यात्रा तय भयो ? अनि, राति कहाँ बस्ने ? पानीले अत्याएर दोधार परेका बेला बाबुलाई पछि कल गर्छु है भन्दै फोन राखेँ । 

हामी बेगिँनबाट पछि हटेनौँ । जादैथ्यौँ, छोरी ऋषिकाले कल गरिन् ‘मामु पुगिसो रारा ?’ मैले भने बाटो अझै बाँकी छ । घोडा चढ्ने ठाउँ पुग्दैछौँ । ‘यस्तो राति किन हिँडिस्या, त्यो पनि घोडामा...।’ ऋषिका एकछिन पछि कल गर्छु है भनेर मैले फोन राखे र घडी हेर्दा साँझ ६.३० बजेको थियो । 

जीवनमा नौलो अनुभव घोडा चढियो । नदेखेको नपुगेको गाउँठाउँ तेज रावलले घोडामाथि बस्न सिकाउँदै भने ‘एक घण्टा बीस मिनेटमा पुग्छौँ ।’ कहाँदेखि त धाइयो भने यति समय ठूलो कुरा भएन । झन् उमङ्ग बढ्यो । तेजलाई सोधेँ, पेसाप्रति कतिको आनन्दित हुनुहुन्छ भाइ ?’ के गर्नु दिज्यु छ महिना कमाएकोले वर्ष दिन खानु पर्छ । घरपरिवार आफूले नपढे पनि छोराछोरी पढाउनु प¥यो । नेपालको शिक्षा सस्तो छैन । 

पर देखिएको तीन आँखे बिजुलीलाई औल्याउँदै तेजले भने, हेर्नुस् त दिज्यु हामी पुग्ने ठाउँ । हुन त अहिले पनि राराको डिलमा छौँ । देख्नु हुन्छ, ऊ रारा !’ कालो पट्यार जङ्गल छिचोल्नु पर्ने भाग छेउकुना मेसो पाइन मैले । हो, चुक अमिलो घोप्ट्याएजस्तो अँध्यारोमा कहाँ छ रारा ? खै कता छ रारा ? कस्तो÷कत्रो छ 

रारा ? जाडोले कक्रेको ज्यान हाते ब्यागमा टोपी हुनाले टाउको न्यानो भयो । जीउमा कपडा पुगेन । जुत्ता पनि गाडीमै छुट्यो । 

गीत गायो भने जाडो लखेटिन्छ, भन्दै थेँ रावल भाइले । सुरु गर्ने त ? ल गरौँ भने गरौँ भनेर जुर्मुराए पनि मैले स्वर खोलेर चन्दा दिदीलाई साथ दिन नसकेपछि कमल घन्के, राईझुमा लेर । 

गायक कमल तेजका सहोदर भाइरहेछन् । उनलाई सुन्दा कलाकार हुने क्षमता रहेछ भन्ने लाग्यो । गाउँका यी अग्र्यानिक कलाकारलाई हाम्रो तर्फबाट सलाम !’ चार वर्षकै उमेरमा टुहुरो बनेको यसलाई मैले नै हुर्काएको हुँ’ भन्दै तेजले आफ्नो विगत पस्के । चकमन्न सुनसान जङ्गल चुक अमिलो घोप्ट्याए जस्तो अँध्यारोमा रावल भाइको मोबाइल टर्चले आँखा देखायो । चिताइनसक्नु जाडोमा टिक्ने वातावरण नभएरै होला जुनकीरी पनि थिएनन् । अहँ, कतै देखिएनन् ।

पौने दुई घण्टामा राराको पल्लो छेउ पुगियो । कम्बर मुनी चिसोले स्पर्श बिहीन भएको शरीर रावल भाइको सहयोगमा घोडाबाट उत्रिएँ । सामुन्नेमा आर्मि क्याम्प । पूर्वयोजनाअनुसार हाम्रो बास बस्ने ठाउँ । क्याम्पका प्रमुख मेजर डोलराज श्रेष्ठ र मुगु प्रहरी प्रमुख महेश बस्नेतको विशेष सक्रियतामा मीठो र आत्मीय आतिथ्यतामा हामी भुल्यौँ । 

बिहान मिर्मिरेमै आँखा खुले । झ्यालको पर्दा खोलेँ । आहा ! राराको अपरम्पार प्रकृति । म हौसिँदै बाहिर आँगनमा गएँ । चारैतिर रारा अनि यिनको चमत्कार । आफैँलाई सोधेँ, म नेपाल मै छु ? विशाल तलाउ, त्यसको वरिपरि हरियो पोटुका बाँधेझैँ चौर, अनि त्यसमाथि कोणधारी जङ्गल । अझैमाथि कपाल खौरेझैँ लाग्ने नागी, त्यहाँमाथि सेताम्य हिउँ, हिउँमाथि निलो आकाश । आहा, मेरो एकै नजर अगाडि प्रकृतिको सप्तरङ्गी इन्द्रणी ! यो दृश्यको आनन्द कति पिउनु ? म लठ्ठिएँ, मात्तिएँ । धित नमरुन्जेल करिब एक घण्टा हामीले क्यामेरा नचायौंँ । पोज पोजमा हरायौंँ ।

बिहानको रारा फरक फरक रङ्गको हुने । सूर्यको किरणमा चलमलाएको राराभित्र राता माछाहरू सलबल सलबल गरेको देखिन्थे । हेर्दा हेर्दै राराको तलाउ कहिले रातो देखिने, कहिले कालो, कहिले कलेजी त कहिले हरियो । घामको ज्योतिको सङ्गीतसँगै हाम्रा अगाडि रारा नाचिरहेको छ । मेजर साब भन्दै थिए “यिनको गहिराइ सरदर दुई सय मिटरसम्म छरे ! वरिपरि करिब १२÷१३ किलोमिटर छ रे ! कर्णालीको थाप्लोमा भएको पृथक् सुगन्ध । रारा ! आज तिमीलाई नजिकबाट भेटियो, तिम्रो सुगन्धले म पग्लिएँ । सगरमाथाजस्तो अग्लिएँ । मात्तिएँ । तिम्रो प्रकृतिका छटाहरू म कुन शब्दले बयान गरौंँ ? तिम्रो फैलावट कसरी नापौंँ ? 

वरपरका चौरी, जङ्गल, नागी, हिमाल र आकाशसंँगै तिम्रो रहस्यमय नाता म कसरी बुझौँ । उफ् ! रारा ! मनमनै प्रश्नहरू उब्जे, नेपाल चलाउनेसँग । कृपया तिमीहरूले ‘रारा’ बुझ अनि कर्णालीलाई पढ न । त्यहाँको प्रकृति, वनस्पति, वन्यजन्तु । यहाँका श्रमशील जनता, उनीहरूको दुःख, सहनशीलता, जाँगर, संस्कृति, क्षमता सबै सबैलाई अङ्कमाल गर्दै एकमुष्ट सोचौंँ, विकास र समृद्धि यहीँ छ । नेपालको शान यहीँ छ । 

लेखक साहित्यिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ । 

Author

बिन्दु अधिकारी ढकाल