• २० असोज २०८१, आइतबार

मधेशमा दाइजो समस्या

‘इन्जिनियर ज्वाइँ पाउँदा मक्ख मरिक, जब छाँगाबाट खस्नुभयो’

blog

जीबछ यादव

लहान, पुस १४ गते । स्नातक तहसम्मको शिक्षाको जिम्मा लिएर १४ लाख रुपियाँ खर्च गरेर इन्जिनियर दुल्हा खोजेर विवाह गरेको आठ महिना नबित्दै उहाँकी छोरी सुमन घरेलु हिंसामा परेपछि मरिक परिवार समस्यामा परेको छ । लहान –१ का सुमनका आमा मिना मरिकले छोरी हिंसामा परेपछि अहिले तनावमा हुनुहुन्छ ।

डुम समुदायसँग सम्पत्ति नै के हुन्छ ? पाँच धुर घडेरी बैङ्कमा राखेर चौध लाख रुपियाँ दाइजो दिएर सात महिना पहिले छोरी सुमनको विवाह महोत्तरीका रामगोपालपुर नगरपालिका महोत्तरीका सिभिल इन्जिनियर हरिन्द्र मरिकसँग गरेकी थिइन् । सुमनकी आमा मिना मरिकले भन्नुभयो, ‘छोरी सुमन पनि स्नातकमा अध्ययनरत छिन् । डुम समुदायमा छोरी स्नातकसम्म पढाएपछि ज्वाइँ दुल्हा इन्जिनियर भेटाउँदा हौसिएर घर घडेरी बैङ्कमा राखेर विवाह गरिदिएँ ।’  

छोरी स्नातकसम्म पढाएपछि ज्वाइँ दुल्हा इन्जिनियर भेटाउँदा हौसिएर घर घडेरी बैङ्कमा राखेर विवाह गरिदिएँ ।

आठ महिना नबित्दै छोरी सुमनको अहिलेको अवस्था देखेर लाग्यो, “सम्पत्ति त गयो गयो,  विपत्ति पनि आइलाग्यो ।” पति हरिन्द्र मरिकको कुटाई सहन नसकेर माइती आउनुभएकी सुमनले भन्नुभयो, ‘जहिले पनि पति (हरिन्द्र) ले कुटछ । गाली गर्छ । थप दाइजो माग्छ । तिमि माइत जाऊ, म अर्को विवाह गर्छु भनेर धम्की दिइरहन्छ ।’ कुटाई सहन नसकेर आफू बाध्य भएर माइती आएको उहाँले पीडा सुनाउनुभयो । श्रीमानको कुटाइले उहाँको हातमा गहिरो चोट लागेको छ । 

दश वर्षअघि पतिको मृत्यु भएपछि छोरी सुमनलाई पढाउन सफाइकर्मीको रूपमा लजहरूको सरसफाइ गरी मरिकले आफ्नो गुजरा गर्दैआउनुभएको छ । “छोरीलाई इन्जिनियर दुल्हा खोजेर विवाह गर्दा गाउँ समाजमा निकै चर्चा थियो” उहाँले भन्नुभयो, “छोरीलाई स्नातकसम्म पढाएर २० वर्षपछि विवाह गर्दा उदाहरणीय काम गरेको भनेर गाउँभरि प्रशंसा बटुलेँ, आज छोरीलाई परेको पीडा र हिंसाको खबरले मन पोलेको छ ।” 

छोरीलाई स्नातकसम्म पढाएर २० वर्षपछि विवाह गर्दा उदाहरणीय काम गरेको भनेर गाउँभरि प्रशंसा बटुलेँ, आज छोरीलाई परेको पीडा र हिंसाको खबरले मन पोलेको छ ।

इन्जिनियर मरिकसँग पटक पटक फोन सम्पर्क गर्दा उहाँले फोन उठाउनु भएन । धेरै पटक फोन गर्दा मोबाइल स्वीचअफ गरेर बस्दा प्रतिक्रिया लिने प्रयास सफल हुन सकेन । रामगोपालपुर नगरपालिकामा सिभिल इन्जिनियरका अस्थायी जागिरे मरिकले अर्को विवाह गर्ने तयारी गरेको उहाँको श्रीमती सुमन मरिकको भनाइ छ । श्रीमानले निरन्तर पीडा दिए पनि अहिलेसम्म उहाँले प्रहरीमा उजुरी गर्ने हिम्मत भने गर्नुभएको छैन । 

तराईको यादव, महतो, तेली, सुँडी, कलवारलगायतका जाति समुदायबाट सुरु भएको मानिने दाइजो प्रथा दलित मुस्लिम समुदायमा समेत गाँजेपछि अहिले ती समुदायका अभिभावकलाई छोरीचेलीको विवाह गर्न सकस भएको छ ।

एकल महिला मिना मरिकलाई छोरी सुमनको विवाह गरेको ऋणको व्याज तिर्न धौंधौं परिरहेको छ । छोरीलाई इन्जिनियर ज्वाइँले दैनिक हिंसा गरेको सुनेपछि आफू छाँगाबाट खसेझैँ भएको उहाँले बताउनुभयो । छोरीको मोबाइल समेत खोसिदिएर सम्बन्ध विच्छेद  गरिदिएको उहाँको गुनासो छ ।  

तराई–मधेशमा अल्पसङ्ख्यक छुवाछूतको अपमान सहँदै आइरहेको डुम समुदायको बालबालिका अझै पनि विद्यालयमा सहज भर्ना पाउन समस्या छ । एकल महिला मिना मरिकले छोरी सुमनलाई स्नातकसम्म पढाउन गरेको योगदान आफैमा सो समुदायका लागि प्रेरणाको विषय भएको स्थानीयको बुझाइ छ । 

महिला हिंसा बढाउन भूमिका खेलिरहेको दाइजो प्रथा हटाउन अब गठन हुने मधेस सरकारले कानुन बनाएर भए पनि नियन्त्रण गर्न आवश्यक रहेको मानव अधिकारकर्मी राजकुमार राउतले बताउनुभयो ।

दलित जनकल्याण युवा क्लब लहानका कार्यकारी निर्देशक विनोद विसुंखेले सुमन मरिकलाई हिंसाबाट बचाउन सरोकारवाला सबैको ध्यान जानुपर्ने बताउनभयो । अहिलेको अवस्थामा आफूलाई शिक्षित भने युवाहरूबाट यस्तो व्यवहार हुनु लाजमर्दो भएको उहाँले बताउनभयो ।

मधेश प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाउ’ अभियान सञ्चालन ल्याए पनि दाइजो प्रथा झन् बढ्दै गइरहेको स्थानीयको गुनासो छ । महिला हिंसा बढाउन भूमिका खेलिरहेको दाइजो प्रथा हटाउन अब गठन हुने मधेस सरकारले कानुन बनाएर भए पनि नियन्त्रण गर्न आवश्यक रहेको मानव अधिकारकर्मी राजकुमार राउतले बताउनुभयो । दाइजो प्रथाको अन्त्य नभएसम्म मिना मरिकजस्तो समस्या दोहोरिइरहने उहाँको भनाइ छ ।