• १२ असोज २०८१, शनिबार

राष्ट्रपति र उपराष्ट्रपतिकाे यसरी चुनाव हुँदैछ

blog

राष्ट्रपति कार्यालय

काठमाडौं, मङ्सिर १९ गते । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मत परिणाम आइसकेको छ । अब समानुपातिकतर्फको मात्रै मत परिणाम आउन बाँकी छ । प्रत्यक्षतर्फको मत परिणामको टुङ्गो लागिसक्दा सत्ता गठबन्धन प्रमुख दल नेपाली कांग्रेस प्रत्यक्षतर्फ ५७, नेकपा (एमाले) ४४, नेकपा (माओवादी केन्द्र) १८, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी (जसपा) नेपाल ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ७, राष्ट्रिय स्वतन्त्र पार्टी ७, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल ४, नागरिक उन्मुक्ति पार्टी ३, नेपाल मजदुर किसान पार्टी १, जनमत पार्टी १, राष्ट्रिय जनमोर्चाले १ र स्वतन्त्रमा  ५ जनाले चुनाव जितेका छन् ।

त्यस्तै, प्रदेश सभातर्फ पनि नेपाली कांग्रेस प्रत्यक्षतर्फ १११, नेकपा एमाले ९१, नेकपा (माओवादी केन्द्र) ५४, नेकपा (एकीकृत समाजवादी) १५, जनता समाजवादी पार्टी १०, राष्ट्रिय प्रजातन्त्र पार्टी ११, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९, नागरिक उन्मुक्ति पार्टी ५, नेपाल मजदुर किसान पार्टी १, जनमत पार्टी ७, हाम्रो पार्टी नेपाल १ र १२ जना स्वतन्त्र उम्मेदवारहरुले जितेका छन् ।

समानुपातिकतर्फ भने नेकपा (एमाले) हालसम्म पहिलो स्थानमा छ भने दोस्रोमा नेपाली कांग्रेस, त्यसपछि क्रमशः माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी) रहेका छन् । निर्वाचनको सम्पूर्ण नतिजा नसकिँदै भावी सरकारको नेतृत्व कसले गर्छ भन्ने कौतुहलता बढेको छ ।

निर्वाचनमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी २७५ तथा राष्ट्रिय सभाका ५९ सहित ३३४ सांसद र प्रदेश सभाका ५५० सांसद गरी कुल ८८४ सांसद राष्ट्रपतिको निर्वाचनमा सहभागी हुनेछन् ।

निर्वाचनको परिणामअनुसार कुनै पनि एक दलको मात्रै बहुमत नपुग्दा फेरि पनि गठबन्धन बनाएर नै सरकार बनाउने स्थिति छ । जसकारण पनि नयाँ सरकारको नेतृत्वको चासो र चिन्ता आम नागरिकमा उत्तिकै बढेको छ । साथै राष्ट्रपति/उपराष्ट्रपति को बन्ला भन्ने चासो आम मानिसमा छ । पाँच वर्षका लागि चुनिने राष्ट्रपति र उपराष्ट्रपति को बन्ला भन्ने कौतुहलता हुन स्वाभाविक पनि हो । तर, राष्ट्रपति र उपराष्ट्रपति कसरी चुनिन्छन् भन्ने बारेमा भने आम नागरिकहरूलाई थाहा नहुन सक्छ ।


राष्ट्रपतिको निर्वाचन हुनका लागि पहिलो कुरा सम्पूर्ण प्रत्यक्ष समानुपातिक मत परिणाम आइसक्नुपर्छ । त्यसपछि बहुमत बनाएर कुनै एक दलको नेतृत्वमा सरकार गठन हुन्छ । सरकार गठन भइसकेपछि सङ्घीय संसदको बैठक बसेको १५ दिनमा सभामुख र उपसभाममुख चुन्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । त्यसपछि मात्रै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुन्छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि भने प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यहरु मतदाता हुनेछन् । तर सङ्घीय सांसदहरुले दिएको १ भोट बराबर ७९ र प्रदेश सभा सदस्यले दिएको १ भोटको ४८ मतभार हुने बताउनुहुन्छ निर्वाचन आयोगका सहायक प्रवक्ता एवम् सूचना अधिकारी सूर्यप्रसाद अर्याल ।

सहायक प्रवक्ता अर्यालले राष्ट्रपति र उपराष्ट्रपतिका लागि सङ्घीय संसदको सांसद हुने योग्यता पुगेको व्यक्ति हुनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रपति र उपराष्ट्रपतिका लागि सांसद हुनु नपर्ने तर ४५ वर्ष उमेर पुगेको, कानूनले योग्य व्यक्ति, फरक लिङ्ग र फरक समुदायको हुनुपर्ने औंल्याउनुभयो । दुई पटकभन्दा बढी राष्ट्रपति भएको व्यक्ति भने तेस्रो पटक राष्ट्रपति बन्न नपाउने पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपालको संविधान २०७२ जारी भइसकेपछि हामीले क्रमशः सङ्घीय शासन प्रणालीमा नेपाल प्रवेश गरिसकेपछि स्थानीय तहको निर्वाचन, त्यसपछि प्रदेश सभाको निर्वाचन, प्रतिनिधि सभाको निर्वाचन, राष्ट्रिय सभाको गठन, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन यो क्रमशः गरिनुपर्ने र यसको एक आपसमा अन्तरसम्बन्ध रहेको छ । हाम्रोमा दुई वटा निर्वाचन इलेक्टोरल कलेजको आधारमा हुन्छ । एउटा राष्ट्रिय सभाको निर्वाचनका लागि मतदाता स्थानीय तहका प्रमुख, उपप्रमुख अथवा अध्यक्ष, उपाध्यक्ष र प्रदेश सभाका सदस्यहरुले मत दिएर मतभार अनुसार मत गणना गरेर निर्वाचित गर्ने पद्धति छ । अर्को राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि इलेक्टोरल कलेज निर्वाचन मण्डलको व्यवस्था छ ।’’



आयोगका सहायक प्रवक्ता अर्यालले राष्ट्रपति हुनका लागि ४५ वर्ष उमेर पुगेको र कानुनले योग्य ठहरिएको व्यक्ति हुनुपर्ने बताउनुभयो । प्रदेश सभाका सदस्यको एक जनाले दिएको मत ४८ र प्रतिनिधि सभाका एक जना सदस्यले दिएको ७९ जोड्दै ५० प्रतिशतभन्दा बढी मत ल्याउने व्यक्ति नै राष्ट्रपतिमा विजयी बन्ने उहाँको भनाइ छ । 

सहायक प्रवक्ता अर्यालका अनुसार पहिलो चरणमा राष्ट्रपतिका लागि इच्छुक सबैले उम्मेदवारी दिन पाए पनि पहिलो चरणबाट निर्वाचित हुन नसकेको खण्डमा पहिलो र दोस्रो बनेको उम्मेदवारहरुबीच मात्रै प्रतिस्पर्धा गराइने बताउनुभयो ।

नयाँ सांसद र प्रदेश सभाबाट केही महिना भित्र राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखसहितका झण्डै तीन दर्जन पदाधिकारी निर्वाचित हुँदैछन् । ३४ जना नयाँ पदाधिकारी आउने भएपछि यतिबेला दलहरुबीच सत्ता समिकरणका लागि उक्त पदमा बाँडफाँट हुँदैछ ।

सहायक प्रवक्ता अर्यालले दोस्रो निर्वाचनको चरणमा पनि कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेको खण्डमा पुनः अर्को पटक मतदान गर्दा सबैभन्दा बढी मत ल्याउने व्यक्ति नै राष्ट्रपतिमा निर्वाचित हुने प्रावधान रहेको बताउनुभयो । उहाँले राष्ट्रपति र उपराष्ट्रपति चुन्दा फरक लिङ्ग र फरक समुदायको हुनुपर्ने भएकाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन एकै चरणमा गर्न नसकिने स्पष्ट पार्नुभयो ।

सहायक प्रवक्ता अर्यालले भन्नुभयो, ‘‘राष्ट्रपति र उपराष्ट्रपति चुन्दा फरक लिङ्ग र फरक समुदायको हुनुपर्छ । पुरुष राष्ट्रपति भए महिला उपराष्ट्रपति हुनुपर्छ । महिला राष्ट्रपति भए पुरुष उपराष्ट्रपति हुनुपर्छ । समुदाय पनि फरक हुनुपर्छ । त्यसैले दुई वटा निर्वाचन एकै पटक गर्न सकिँदैन । महिला आउँछ वा पुरुष आउँछ थाहा नहुने भएपछि एकै चरणमा निर्वाचन गर्न सकिँदैन, दुई पटकभन्दा बढी राष्ट्रपति भएको व्यक्ति तेस्रो पटक राष्ट्रपति बन्न सक्दैन ।’’