• ११ असोज २०८१, शुक्रबार

वागमती प्रदेशबाट प्रतिनिधि सभामा महिला सहभागिता

ठूला दलबाट शून्य, स्वतन्त्र पार्टीबाट दुई जना निर्वाचित

blog

हेटौँडा, मङ्सिर १५ गते । गत आइतबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको बागमती प्रदेशको निर्वाचन परिणाम अन्तिम चरणमा पुग्दा प्रतिनिधि सभामा यस प्रदेशबाट प्रत्यक्षतर्फ ठूला राजनीतिक दलबाट निर्वाचित महिला जनप्रतिनिधिको सङ्ख्या शून्य रहेको छ। 

१३ वटा जिल्ला रहेको यस प्रदेशको ३३ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये ३२ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित प्रणालीतर्फ ठूला दलका महिला उम्मेदवार निर्वाचित हुन सकेनन्।

एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा मतदानमा धाँधली भएको उजुरीपछि निर्वाचन आयोगले बिहीबार मतदान गर्ने निर्णय गरेको छ। तर सात जना स्वतन्त्र र १४ दलका गरी २१ जना प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेको दोलखा जिल्लामा महिला उम्मेदवार नै छैनन्। 

स्वतन्त्र २८ र विभिन्न दलका गरी ७४ जना पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि यस प्रदेशबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार रहेका थिए। 

प्रतिनिधि सभा सदस्यमा उम्मेदवार भएकामध्ये नयाँ स्थापना भएको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना महिला उम्मेदवार प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ।

सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रको भागबण्डामा नपरेपछि काठमाडौँ निर्वाचन क्षेत्र १० बाट अञ्जना बिशङ्खेले मित्रवत् प्रतिस्पर्धा गर्नुभएको सो क्षेत्रमा कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित हुनुभएको थियो।

प्रत्यक्षतर्फ २०७४ सालको निर्वाचनमा यस प्रदेशबाट माओवादी केन्द्रका पम्फा भुसाल एक जना मात्र प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदै मन्त्री बन्नुभएकोमा यो पटक उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसिमा कार्कीसँग पराजित हुनुभएको छ। 

यस प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट दुई जना निर्वाचित भएकोमा कार्कीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीकै सोबिता गौतम काठमाडौँ क्षेत्र नं. २ बाट एमालेका मणिराम फुयाल र प्रतिनिधि सभाका पूर्वसभामुख ओनसरी घर्तीलाई पराजित गर्दै विजयी बन्नुभएको हो। 

कांग्रेसले यस प्रदेशमा एक जना मात्र महिला उम्मेदवार मकवानपुरको क्षेत्र नं. १ बाट सहमहामन्त्री महालक्ष्मी उपाध्यायलाई बनाएकोमा उहाँ राप्रपाका दीपकबहादुर सिंहसँग पराजित हुनुभएको छ। यसै क्षेत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा एमालेको चुनाव चिह्न लिएर उम्मेदवार बन्नुभएकोमा पराजित हुनुभएको थियो। 

माओवादी केन्द्रबाट काठमाडौँ क्षेत्र नं. ७ मा उम्मेदवार हुनुभएका मानुषी यमी भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीसँग र काठमाडौँ क्षेत्र नं. ९ बाट प्रतिस्पर्धा गर्नुभएका कल्पना धमला एमालेका कृष्णगोपाल श्रेष्ठबाट पराजित हुनुभएको छ।

प्रतिनिधि सभा सदस्यका लागि देशभरमै सबैभन्दा बढी महिला उम्मेदवार काठमाडौँ प्रतिनिधि सभा क्षेत्र नं. १ र भक्तपुर क्षेत्र नं. २ मा रहेका थिए। काठमाडौँ १ मा कुल ३२ उम्मेदवारमा १० जना महिलाले र भक्तपुर २ मा २६ जनामा छ जना महिलाले प्रतिनिधि सभा सदस्यमा चुनावमा प्रतिस्पर्धा गर्नुभएको थियो। 

यस प्रदेशको मकवानपुरका प्रतिनिधि सभा क्षेत्र नं. २, धादिङ क्षेत्र नं. १, काभ्रेपलाञ्चोक क्षेत्र नं. २ र दोलखा जिल्लामा प्रतिनिधि सभा सदस्यमा महिला उम्मेदवार थिएनन्।