• १३ साउन २०८१, आइतबार

कैलाली ५ बाट ओझाको स्वतन्त्र उम्मेदवारी दर्ता

blog

प्रकाशविक्रम शाह

धनगढी, असोज २३ गते । नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चार राज्यमन्त्री पुस्करनाथ ओझाले कैलाली क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराउनुभएको छ । धनगढीसहितको क्षेत्र नम्बर ५ ले उपयुक्त उम्मेदवार नपाएको भन्दै आफूले उम्मेदवारी दर्ता गरेको उहाँले बताउनुभयो ।

ओझा २०५६ को आम निर्वाचन तत्कालीन कैलाली क्षेत्र नम्बर ३ र २०७१ को उपचुनावमा क्षेत्र नम्बर ६ (हालको ५) बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । २०५६ मा चुनाव जितेपछि उहाँलाई केही महिना सञ्चार राज्यमन्त्री पनि बनाइएको थियो । 

ओझालाई गत चुनावमा कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्नुभएकी कांग्रेस नेत्री आरजु राणा देउवालाई असहयोग गरेको आरोपमा दुई वर्षअघि पार्टी सदस्य नरहने गरी कारवाही गरिएको थियो ।

नेता ओझाको उम्मेदवारी दर्ता कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालका भाइ श्याम हमाल र कांग्रेस कार्यकर्ताको उपस्थिति थियो । यसपटकको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ बाट कांग्रेसले हालका प्रदेश सभा सदस्य डिल्लीराज पन्तलाई उम्मेदवार बनाएको छ ।