• १३ साउन २०८१, आइतबार

दुर्गममा सरुवा भएपछि गर्भवती कर्मचारीलाई सास्ती

blog

जानु पाण्डे

कपिलवस्तु, भदौ २३ गते । शिवराज नगरपालिकामा कार्यरत अनमी सपना गिरीलाई बिहान ८ बजेदेखि कार्यालय पुग्न हतारो हुन्छ । २० किलोमिटर बसको यात्रापछि कार्यालय पुग्न १ घण्टा पैदल यात्रा गर्नुपर्छ । कार्यालय समयमा पुग्ने मात्र होइन उहाँलाई अझ अर्को चिन्ताले सताइरहेको हुन्छ । कतै कोखमा हुर्किएको चार महिनाको भ्रूण नासिने त होइन !

“यसभन्दा अघि तीन पटक बच्चा खेर गयो । चिकित्सकले भन्नुभएको छ, लामो समय गाडीमा यात्रा नगर्नु, यहीबेला नगरपालिकाले सरुवा गरेपछि समस्यामा परेको छु” अनमी गिरीले निमित्त प्रमुख प्रशासकीय अधिकृत पूर्ण विश्वकर्मासँग गुनासो गर्दै भन्नुभयो, “कार्यालय पुग्न सकस छ । न गाडी पाइन्छ न अरू उपाय छ । कहिले हिँड्दै पुग्नुपर्छ । प्रसूतिपछि जहाँ पठाए पनि जान्छु । मेरो बच्चाको लागि सहयोग गरिदिनुपर्याे सर ।” 

समस्याप्रति निमित्त प्रमुख विश्वकर्माले कुनै विकल्प दिनु भएन । बरु थप प्रश्न गर्दै भन्नुभयो ‘तपाईँले के गल्ती गर्नु भएको थियो, सरुवा भयो ? नगरभित्रका एक स्थानीय नेतासँग गिरीका पतिको कुरो नमिलेपछि दुःख दिन उहाँलाई दुर्गममा सरुवा गरिएको एक कर्मचारीले सुनाउनुभयो । 

गिरी पालिकाको वडा ९ सामुदायिक स्वास्थ्य इकाईमा अनमी पदमा कार्यरत हुनुहुन्थ्यो । गत साउन ३० गते पूर्व प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले उहाँको सरुवा गर्नुभएको थियो । नगरपालिकाको वडा १० लालपुर स्वास्थ्य चौकीमा उहाँको सरुवा गरिएको छ । सो स्वास्थ्य चौकी सडकदेखि करिब २ किलोमिटरभित्र रहेको छ । त्यहाँ पुग्न सवारी साधनको व्यवस्था छैन ।  

अनमी गिरीका पति र स्थानीय नेताबिच आमा समूहको लागि प्रतिघर १० हजार रुपियाँ उठाउने विषयमा विवाद भएको बुझिएको छ । पैसा दिन आनाकानी गरेपछि विवाद भएको ती कर्मचारीले भन्नुभयो ।  उठाएको रकम पारदर्शी नदेखिएपछि रकम तिर्न आनाकानी गरेपछि सिरको झोँकमा सरुवा गराएको गिरीले बताउनुभयो । तर उहाँले नाम खुलाउन भने चाहनु भएन । 

गिरीको स्थानमा अनमी श्रृष्टी गहतराजको सरुवा गरिएको छ । सरुवाको कारण दुवै कर्मचारीले सास्ती खेप्नुपरेको छ । सरुवाको कारण विषयमा आफू जनाकार नभएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुरामणि भट्टराइले बताउनुभयो ।