• १३ साउन २०८१, आइतबार

विद्यार्थीलाई अध्ययनमा सक्रिय बनाउँदै सिद्धबाबा

blog

रमेश विश्वकर्मा 

गुल्मी, भदौ १८ गते। गुल्मी जिल्लाको सदमुकाम तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीलाई अध्ययनमा सक्रिय बनाउँदै आएको छ। तत्कालीन तम्घास गाविस खानीगाउँ टुनीखोलामा रहेको सानो बचत घरबाट ०४३ सालमा शैक्षिक यात्रा सुरु गरेको यस विद्यालयले विद्यार्थीलाई अध्ययनसँगै सिकाईमा सक्रिय बनाउन नियमित पठनपाठनका अतिरिक्त विभिन्न कार्यक्रम गर्दै आएको हो। 

शैक्षिक क्षेत्रमा जिल्ला तथा देशकै नमूना एवम् अधिकत्तम विद्यार्थी भएको प्रविधियुक्त सुविधा सम्पन्न सामुदायिक विद्यालयको रुपमा रहेको यस विद्यालयले विद्यार्थीलाई सिकाईप्रति आकर्षित गर्न युग सुहाउँदो प्रविधिमैत्री शिक्षण पद्धति अंगाल्दै आएको विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले जानकारी दिनुभयो। उहाँका अनुसार विद्यार्थीलाई अध्ययनसँगै सकारात्मक सोचका लागि “ज्ञानीसँग हाम्रा नानी” र “बुक टक” लगायतका विभिन्न महत्वपूर्ण कार्यक्रम गर्दै आएको हो। 

त्यस्तै, विद्यालयले विद्यार्थीको सिकाइप्रतिको परम्परागत मान्यतालाई चिर्न नियमित पठनपाठनको अतिरिक्त विगत पाँच वर्षदेखि “ज्ञानीसँग हाम्रा नानी” कार्यक्रम सञ्चालन गर्दै आएको छ। ज्ञानी भन्नाले कुनै क्षेत्रमा विज्ञता हाँसिल गरेर लामो अनुभव प्राप्त गरेका र नानी भन्नाले विद्यार्थी भएका प्रधानाध्यापक श्रीसले उल्लेख गर्नुभयो। 

उहाँले यस कार्यक्रममार्फत् विभिन्न क्षेत्रका विशेषज्ञ ल्याएर विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान दिने प्रयास गरिएको बताउनुभयो। “विद्यार्थीलाई अध्ययनमा आकर्षित गर्न अहिले विभिन्न रचनात्मक र सिर्जनात्मक पद्धतिद्वारा पठनपाठन सञ्चालन गर्दै आएका छौं,” उहाँले भन्नुभयो, “कक्षा कोठा बाहिर, शिक्षक बेगर र किताब बाहिर पनि विद्यार्थीको सिकाइ क्षेत्र बृह्त्तर हुन्छ।” 

यस विद्यालयमा प्ले ग्रुपदेखि बाह्र कक्षासम्म पढाइ हुने गर्दछ। विशेषगरी कक्षा पाँचदेखि बाह्र कक्षासम्मका विद्यार्थीहरु कार्यक्रममा समावेश भइरहेका छन्। साना बालबालिकाको लागि विशेषज्ञ यस कार्यक्रममा सहभागी गराउने प्रधानाध्यापक श्रीसले बताउनुभयो। सबै खालका व्यक्तिलाई समावेश गरेर विद्यार्थी माझ उनीहरुका अनुभव सुनाउने गरिएको विद्यालयले जनाएको छ। 

समय–समयमा विद्यालयले राजनीतिक एवम् प्रशासनिक व्यक्ति, शिक्षाविद, लेखक, साहित्यकार, इन्जिनियर, डाक्टर, कृषक सबैलाई आमन्त्रण गर्ने गरेको छ। उनीहरुले प्राप्त गरेको सम्पूर्ण विज्ञता, अनुभव र सफलता विद्यार्थी माझ प्रस्तुत गर्ने गरेको प्रधानाध्यापक श्रीसले बताउनुभयो।

विद्यालयमा गरिने विभिन्न कायक्रमले विद्यार्थीको लक्ष्य हाँसिल गर्न सहि प्रकारको दिशाबोध हुने उहाँले बताउनुभयो। विज्ञका अनुभव सुन्दा विद्यार्थीलाई सही प्रकारको उत्प्रेरणा मिल्छ। जसले विद्यार्थीमा व्यवहारिक ज्ञान आर्जन र सिकाईलाई मजबुत बनाउन सहयोग पुग्ने श्रीसको भनाइ छ। 

कुशल व्यवहार र उचित ज्ञान–सिपको विकास गर्न पनि विद्यालयमा महत्त्वपूर्ण कार्यक्रम गरिदैं आएको प्रधानाध्यापक श्रीसले बताउनुभयो। आफ्नो ठाउँ, माटो र परिवेशका बारेमा जानकारी लिंदा विद्यार्थीमा ज्ञानको भण्डार बढ्छ। विद्यालयले गर्ने हरेक कार्यक्रम विद्यार्थी केन्द्रित भएको हुँदा विद्यार्थीसँगै अभिभावक पनि उत्साहित भएका छन्।

त्यस्तै, यस विद्यालयले विगत केही वर्षअघिदेखि ब्रिटिस काउन्सिलसँगको सहकार्यमा आइएसए प्रोग्राम अन्तर्गत प्रोजेक्ट बेस लर्निङ्गको माध्यमबाट शिक्षण सिकाई कार्यलाई थप प्रभावकारी एवम् व्यवहारिक बनाउने प्रयासमा लागेको छ। फलस्वरुप विद्यालयले इन्टरनेशनल स्कुल अवार्ड २०२०/२३ समेत प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक श्रीसले बताउनुभयो।

जिल्लामा शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाएको यस विद्यालयले साधारण र प्राविधिक गरेर दुई धारको शिक्षा सञ्चालन गर्दै आएको छ। प्राविधिक धारतर्फ कम्युटर इञ्जिनियरिङ्ग कक्षा नौदेखि बाह्रसम्म सञ्चालन गर्दै आएको श्रीसले बताउनुभयो। कक्षा ११–१२ मा शिक्षा, व्यवस्थापन, विज्ञान र कानुन विषयको पठनपाठन हुने विद्यालयले जनाएको छ।