• १३ साउन २०८१, आइतबार

मोहनाको डरले रातभर जाग्राम

blog

धनगढी समाचारदाता

धनगढी, साउन २७ गते । वर्षायाम सुरु भएपछि कैलालीको मोहना नदी पारिको मोहनपुर गाउँका बासिन्दा चयनको निद्रा सुत्न सकेका छैनन्। डुबानको उच्च जोखिममा रहेको कैलारी गाउँपालिका–३ मोहनपुर गाउँका बासिन्दा बाढीले बगाउने त्रासमा रहेका छन्। गाउँमा बाढी पसेपछि ज्यान जोगाउनका लागि भारतको दुधुवा नेसनल पार्कभित्र भाग्दै आएको गाउँले बताउँछन्।

मोहनपुरका भलमन्सा रामप्रसाद चौधरीले भन्नुभयो, “बर्खा सुरु भएसँगै हाम्रो दुःखको दिन सुरु हुने गर्दछ। घर किनारैमा भएको नदी सुसाएपछि राति निदाउनै सक्दैनौँ। जब–जब ठूलो वर्षा हुन्छ, तब–तब हाम्रो विचल्ली पर्छ।”

मोहना नदी किनारैमा छ, मोहनपुर गाउँ। नदीले धरैजसो जमिन कटान गरेपछि बस्ती पश्चिमतिर सारिएको छ तर अब नदी कटानबाट धेरै जमिन बाँकी छैन। कटान नियन्त्रणका लागि तटबन्ध गरिनुका साथै जैविक तटबन्धका रूपमा उखु खेती गरिँदै आए पनि वर्षायाममा नदीले जमिन काट्न भने नछोडेको स्थानीयको भनाइ छ। 

गाउँमा बाढी पसेको अवस्थामा भारतको दुधुवा नेसनल पार्कतिर उनीहरू जाने गरेका छन्। गाउँको पश्चिम, उत्तर र पूर्व भएर नदी बग्ने गरेकाले जोगिनका लागि भारतको जङ्गलमा जाने गरेको भल्मन्सा चौधरीको भनाइ छ।

उहाँले भन्नुभयो, “बाढी पस्यो भने गाउँमा बस्नै सकिन्न। अहिलेसम्म जब जब बाढी पसेको छ, तब तब जङ्गलमा गएर बस्ने गरेका छौँ।”

असारदेखि असोजसम्म आफूहरूले निकै कष्ट भोग्नुपर्ने गरेको स्थानीय सुनिल चौधरीले बताउनुभयो। गाउँ र खेतीपाती जोगाउनका लागि स्थानीयले गतवर्ष सात फिट उचाइ भएको कच्ची ड्याम बनाएका थिए। एक हजार २६० मिटर लामो सो ड्यामलाई जोगाउनका लागि यो वर्ष ४८५ मिटर लामो तटबन्ध पनि गरिएको ड्याम निर्माण समितिका अध्यक्षसमेत रहनुभएका लौटन चौधरीले बताउनुभयो। ९२ घरधुरी रहेका सो गाउँवासीले गतवर्ष पनि बाढीका कारण ठूलो नोक्सान बेहोरेका थिए । २०६४ सालको बाढीले सबैभन्दा बढी नोक्सान गरेको स्मरण गर्नुहुँदै भलमन्सा चौधरीले गतवर्ष लाखौँको क्षति भएको बताउनुभयो । उहाँले भन्नुभयो, “खाद्यान्न, अन्नबाली, पशुचौपाया गतवर्ष पनि बगेर लाखौँको नोक्सान भएको थियो।”

डुङ्गामार्फत ओहोरदोहोर

वर्षायाम सुरु भएपछि मोहनपुर गाउँवासीले जोखिम मोलेर डुङ्गामार्फत ओहोरदोहोर गर्नुपर्ने बाध्यता रहेको छ। नदीमा पुल नभएका कारणले उनीहरू बस्ती बसेदेखि नै डुङ्गामार्फत ओहोरदोहोर गर्दै आएका छन्। 

ठूलो बाढी आएको बेला ओहोरदोहोर नै ठप्प हुने गरेको छ। वर्षायाम सुरु भएपछि सबैभन्दा बढी समस्या विद्यार्थी र बिरामीलाई हुने गरेको सुमन चौधरीको भनाइ छ। उहाँका अनुसार यो बेला कोही बिरामी परेमा नजिकै हसुलियामा रहेको अस्पतालसम्म पुग्न सकिन्न। उपचारका लागि धनगढीसम्म पुग्न भारतको बाटो हुँदै गौरीफन्टा नाका भएर जानुपर्ने बाध्यता रहेको चौधरीले बताउनुभयो।