• १३ साउन २०८१, आइतबार

फोहोरले सामुदायिक वन क्षेत्र दुर्गन्धित

blog

देवहरिया सामुदायिक वन क्षेत्रमा सडक किनारमा फालिएको फोहोर । तस्बिर : लखन चौधरी

अविनाश चौधरी
धनगढी, साउन २४ गते ।
‘ग्रीन क्लिन धनगढी’ अभियान सञ्चालन हुँदै आएको धनगढीको सामुदायिक वन क्षेत्र दुर्गन्धित बनेको छ । 

धनगढी बजारसँग जोडिएको वडा नम्बर ७ स्थित देवहरिया र मनहेरा सामुदायिक वन क्षेत्र दुर्गन्धित बनेको हो । बजारका फोहोर जथाभावी वन क्षेत्रमा फाल्नाले स्वच्छ वातावरण मानिने क्षेत्रमै दुर्गन्ध बढेको छ ।

तीन वटै सामुदायिक वन क्षेत्रमा घर, मासु पसल, सैलुन पसल, मेडिकलबाट निस्किने फोहोर जथाभावी फ्याँकिएका छन् । त्यसैगरी, रक्सीका बोतल, मेडिकलमा प्रयोग भएका सुई, सीसी, बोतल जथाभावी फालिएका छन् ।

देवहरियावासी लखन चौधरीले बजार क्षेत्रको फोहोर व्यक्तिले जथाभावी फाल्ने गरेका कारण वन क्षेत्रमा दुर्गन्ध बढेको बताउनुभयो । सामुदायिक वनमा फ्याँकिएकोे फोहोरको दुर्गन्धका कारण आसपास बस्न समेत समस्या भएको उहाँको भनाइ छ ।

देवहरिया सामुदायिक वनभित्र धनगढी उपमहानगरपालिकाले सामुदायिक छाडा चौपाया गौशाला बनाएको छ । सो गौशालामा राखिएका चौपाया राम्रो स्याहार र आहार नपाउँदा यत्रतत्र गएर मर्ने गरेका स्थानीयले बताएका छन् । हरियाली भएको वन क्षेत्र वातावरणीय हिसाबले राम्रो मानिदै आए पनि धनगढीलाई सुन्दर बनाएका सामुदायिक वनहरु भने फोहोर फाल्ने ‘साइट’ बनेको चौधरीले गुनासो गर्नुभयो । वन क्षेत्र नै कुरुप हुने गरी फोहोर फाल्ने कार्य भइरहदा सम्बन्धित निकायको ध्यान नपुगेको उहाँको गुनासो छ ।

धनगढी उपमहानगरपालिका –७ का वडा अध्यक्ष मोती रानाले फोहोर नफाल्न पटक–पटक सूचना जारी गरिए पनि रोक्न नसकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामीले कडाई गरेका छौं, दिउँसो त फाल्न सक्दैनन् । बजार क्षेत्रको फोहोर अटो र ट्याक्टरमा लगेर राति–राति फाल्ने गरेका छन् ।’’ सबैभन्दा बढी फोहोर देवहरिया सामुदायिक वनको पटेला गाउँ जाने बाटोमा फालिएको अध्यक्ष रानाले बताउनुभयो ।

बजार क्षेत्रबाट निस्किएका विभिन्न किसिमका फोहोर जथभावी वन क्षेत्रमा फाल्न नमिल्ने धनगढी उपमहानगरपालिकाका सामुदायिक विकास तथा सरसफाइ शाखाका प्रमुख टङ्क विष्टले बताउनुभयो ।

‘‘फोहोरले गर्दा वन क्षेत्र दुर्गन्धित बनेको जानकारी हामीसम्म आइपुगेको छैन । जे भए पनि त्यसरी फोहोर फाल्न चाहिँ मिल्दैन,’’ उहाँले भन्नुभयो । फोहोर व्यवस्थापनका लागि टोल–टोलमा ‘माइकिङ’ गर्ने कार्य भइरहेको जनाइएको छ । त्यति गर्दा पनि अटेर गरेमा कारबाहीका लागि नगर प्रहरी खटाउने प्रमुख विष्टले बताउनुभयो ।

देवहरिया सामुदायिक वनमै पर्यटकीय आकर्षणको जाखोर ताल रहेको छ । सो ताल क्षेत्रमा समेत यत्रतत्र प्लाष्टिकजन्य फोहोर फालिने गरिएको छ । धनगढी उपमहानगरपालिकाले एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि स्थान भने पटेला सामुदायिक वन क्षेत्रमा छनोट गरेको छ । तर, निर्माणको कार्य अझै सुरु भएको छैन ।