• १३ साउन २०८१, आइतबार

चितुवाको छालासहित चार जना पक्राउ

blog

अविनाश चौधरी

धनगढी, साउन २० गते । चितुवाको छालासहित कैलाली प्रहरीले चार जना पक्राउ गरेको छ । गोदावरी नगरपालिका –२ तेघरी खानेपानी ट्याङ्की नजिकबाट उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा चुरे गाउँपालिका –६ का टेकबहादुर रावत, धीरेन्द्र रावत, डोटीको जोरायल गाउँपालिका –२ का समीर ओली र बैतडीको डिलाशैनी गाउँपालिका –४ का राजेन्द्रसिंह भण्डारी छन् । उनीहरुले अत्तरियामा छाला बिक्री गर्ने उद्देश्यले चितुवाको छाला लिएर अत्तरियातर्फ आउने क्रममा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पक्राउ परेका व्यक्तिहरुको साथबाट टाउकोदेखि पुच्छरसम्म सात इन्च लम्बाइ र दुई फिट दुई इन्च चौडाइ भएको चितुवाको छाला र दुई केजी हड्डी बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । 

डोटीको बुडरबाट सु.प.प्र ०४–००१ च ०००६ नम्बरको बोलेरो जिपमा राखेर सो छाला र हड्डी अत्तरियातर्फ ल्याइएको प्रहरीको भनाई छ । प्रहरी नायब उपरीक्षक जोशीका अनुसार सुरुमा प्रहरीलाई बाघको छाला अत्तरियातर्फ ओसारपसार भइरहेको भन्ने गोप्य सूचना मिलेको थियो । विशेष सूचनाको आधारमा प्रहरीको आरआइटी टोली र इलाका प्रहरी कार्यालय मालाखेतीबाट संयुक्त टोली खटेको थियो । 

प्रहरी टोलीले गोदावरी नगरपालिका –२ तेघरीस्थित खानेपानी ट्याङ्की नजिक बुडरबाट धनगढीतर्फ आइरहेको बोलेरोलाई रोक्न खोज्दा गाडी नरोकिएपछि शङ्का लागेर प्रहरी टोली  पिछा गरेको जनाएको छ । समीर ओलीले चलाएको गाडी रोकेर खानतलासी गर्दा प्लाष्टिकको बोरा छाला र हड्डी फेला परेको जोशीले जानकारी दिनुभयो । 

चितुवाको छालासहित पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीले आफ्नो नियन्त्रणमा राखेको जनाएको छ । आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पठाउने तयारी भइरहेको जोशीले बताउनुभयो ।