• २२ चैत २०८२, आइतबार

उपल्लो मुस्ताङमा यस वर्ष छैटौँ पटक हिमपात

blog

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–५, लोमान्थाङमा आइतबार भएको हिमपात । तस्बिर : हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), चैत २२ गते । उपल्लो मुस्ताङमा यस वर्ष छैटौँ पटक हिमपात भएको छ । शनिबार रातिदेखि एक्कासि मौसम प्रतिकूल भएसँगै बिहानैदेखि परेको हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बस्ती तथा आसपासका क्षेत्रमा करिब एक फिट हिउँ परेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले बताउनुभयो ।

एक्याप प्रमुख पौडेलले भन्नुभयो, “हिमपातले सबैतिर सेताम्मे छ, चिसो ह्वात्तै बढेको छ ।” लोमान्थाङदेखि तिब्बतको सीमाना कोरला नाकासम्म हिमपात भएको छ ।

लोमान्थाङ बजार, सम्जुङ, चुमजुङ र छोसेर क्षेत्रमा हिमपातसँगै अत्यधिक चिसोका कारण सर्वसाधारण घरबाट बाहिर निस्किएका छैनन् । त्यस्तै लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङ, मराङ, घमी, ढाक्मर, घिलिङ र याराघाराको माथिल्लो क्षेत्रमा पनि हिमपात भइरहेको छ ।


चैत महिनामा लगातार दोस्रो पटक हिमपात भएपछि कृषि तथा पशुपालनमा सक्रिय किसान उत्साहित भएका छन् । खेतबारीमा हिमपातका कारण चिस्यान बढेर उत्पादन वृद्धि हुने, चरन क्षेत्रमा घाँस पलाउने र पशुपालनलाई सहज हुने लोमान्थाङ गाउँपालिका–१, छोसेरका च्याङ्ग्रापालक कृषक आङ्ग्याल गुरुङले बताउनुभयो । उपल्लो मुस्ताङमा वर्षमा एकबाली मात्रै उत्पादन हुने गर्दछ ।

कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा। लालमणि अर्यालले हिमपातले यसपटक कृषि र पशुपालनको उत्पादन बढाउने बताउनुभयो । हिमपातका कारण चरन क्षेत्रमा घाँस पलाउने र खेतबारीमा चिस्यान लामो समयसम्म रहने हुँदा रोग न्यूनीकरणमा समेत सघाउने उहाँको भनाइ छ ।

हिमपातले मुख्य बाली स्याउ, अमिलो प्रजातिका अन्य फलफूल, आलु लगायत कृषिजन्य वस्तुको उत्पादनमा समेत सहजता ल्याउने बताइएको छ । पर्याप्त सिँचाइको अभावका कारण नियमित उत्पादनमा ह्रास आउने गरेकोमा बाक्लो हिउँ र वर्षाले उत्पादन वृद्धि हुने कृषि तथा पशु विकास कार्यालय मुस्ताङले जनाएको छ ।

सदरमुकाम जोमसोमदेखि लोमान्थाङ जोड्ने सडकखण्डमा समेत हिमपातले सवारीसाधन आवतजावतमा कठिनाइ हुन सक्ने भएकाले पर्यटकलाई सतर्कता अपनाउन अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी ईश्वर महतले बताउनुभयो ।

हिमपातका कारण सडक, विद्युत् र इन्टरनेट सेवा अवरुद्ध नभए पनि सवारीसाधनमा यात्रा गर्दा दुर्घटनाको जोखिम हुने भएकाले उपल्लो क्षेत्रमा जाँदा बाटोको अवस्था बुझेर मात्र यात्रा गर्न मुस्ताङको प्रवेशद्वार घाँसा प्रहरी चौकीले अनुरोध गरेको छ ।  यसैबीच जिल्लाको थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्रमा वर्षा भएको छ ।


Author
हरिकृष्ण शर्मा

उहाँ गोरखापत्रका लागि म्याग्दीबाट रिपोर्टिङ गर्नुहुन्छ ।