• २७ माघ २०८२, मङ्गलबार

हिउँ कुल्चिएर मुस्ताङमा नेपाली सेनाको गस्ती

blog

मुस्ताङ जिल्लामा निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना लागु भएपछि हिमपात भएको क्षेत्रमा सुरक्षा गस्ती गदैं नेपाली सेना । तस्बिर सौजन्य : इन्द्र बक्स गण, जोमसोम

मुक्तिनाथ (मुस्ताङ), माघ २७ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङको उच्च हिमाली क्षेत्रमा नियमित सुरक्षा गस्ती गरिरहेको छ । निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना अनुरूप निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका थुर्लुङ फाँट र सदरमुकाम जोमसोममा रहेको बेसबाट नियमित गस्ती गरिरहेको छ । नेपाली सेनाको इन्द्र बक्स गण र सशस्त्र प्रहरी बल नेपालको निर्वाचन सुरक्षा बेस स्थापना गरी नियमित गस्ती सहित चुनाव केन्द्रित गतिविधि भइरहेको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताउनुभयो ।


प्रजिअ शर्माले भन्नुभयो, ‘‘तीनै तहको सुरक्षा निकायले निर्वाचन केन्द्रित गतिविधि सुरु गरेका छन्, मुस्ताङको निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्न सुरक्षा समितिले आवश्यक सबै काम गरिरहेको छ ।’’ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रि«य अनुसन्धानले समन्वय र सहकार्यमा सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने गरी निर्वाचन केन्द्रित गतिविधि गरिरहेको प्रजिअ शर्माको भनाइ छ । नेपाली सेनासँगै सशस्त्र प्रहरी बलको घेकर दामोदरकुण्ड गाउँपालिका–१,चराङस्थित गाउँपालिकामा बेस र लोमान्थाङ गाउँपालिकाको छोसेरमा रहेको सशस्त्र प्रहरी बल नेपाल (बिओपी)ले नियमित सुरक्षा गस्ती गरिरहेको छ । निर्वाचनमा कोरला नाका क्षेत्रमा समेत चिनियाँ प्रहरीसँगको समन्वयमा अन्तरदेशीय गस्ती तथा सुरक्षासम्बन्धी समिक्षा भएको छ । निर्वाचन प्रहरीको तालिम सम्पन्न भएपछि सुरक्षाकर्मीसहित परिचालन गरिने छ ।


निर्वाचन सम्बन्धित सबै मुस्ताङमा नेपाली कांग्रेसबाट योगेश गौचन थकाली, नेकपा एमालेका इन्द्रधारा डाढु विष्ट, नेपाली कम्युनिष्ट पार्टीबाट ङुटुक गुरूङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधितियचन्द्र थकाली, आम जनता पार्टीबाट अजय विक, मंगोल नेशनल अर्गनाइजेशनबाट यमबहादुर गुरूङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमला लालचन र उज्यालो पार्टीबाट डा. सुरेन्द्र शेरचन समेत उम्मेदवार हुनुहुन्छ । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदानस्थलमा कुल ११ हजार ३ सय २८ रहेका छन् ।

 


Author
हरिकृष्ण शर्मा

उहाँ गोरखापत्रका लागि म्याग्दीबाट रिपोर्टिङ गर्नुहुन्छ ।