बिष्णुप्रसाद पोखरेल
दमक, मङ्सिर २० गते । झापाको शिवसताक्षीमा मध्यराति श्रीमतिको बाम्फोक प्रहारबाट श्रीमान गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
शिवसताक्षी नगरपालिका वडा नं. ११ झिलझिलेमा शुक्रबार राति करिब १२ बजे सामान्य घरायसी विवादका क्रममा ४४ वर्षीया श्रीमती कमला तामाङले ३३ वर्षीय श्रीमान टंकबहादुर सुब्बामाथि धारिलो हतियार बाम्फोक प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
बाम्फोक प्रहारबाट टंकबहादुरको दाहिने खुट्टामा गहिरो चोट लागेको र बिएण्डसी अस्पता बिर्तामोडमा उपचार भइरहेको प्रहरीको भनाइ छ । घाइतेको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।
घटनामा संलग्न श्रीमति कमलालाई बाम्फोकसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको खड्काले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।