फिदिम समाचारदाता
फिदिम, मङ्सिर २० गते । बुवाआमा अपाङ्गता भएका छोरालाई गाली गर्दै डोरीले बाँधेर मेलापात हिँड्छन । उनीहरूले उनलाई खान पनि दिएका हुँदैनन ।
सँगै रहेकी बहिनीलाई समेत उसलाई खान नदिन र कोही मान्छे घरमा आए हेर्न, भेट्न नदिन भन्दै अह्राउँछन् । ३४ औँ विश्व अपाङ्गता दिवसको सन्दर्भमा सडक नाटक प्रस्तुत भइरहँदा उपस्थित दर्शकको मन रोइरहेको थियो । समाजमा अझैसम्म अपाङ्गता भएका नागरिकले हेय भाव सहेर बस्नु परेको दृष्टान्त यथावत् रहेकाले आफूले देखे भोगेका घटनासँग मेल खाएकाले नाटकले दर्शकदीर्घामा रहनुभएकी सुशीला सुवेदीले बताउनुभयो ।फिदिम नगरपालिका महिला तथा बालबालिका शाखा करुणा फाउन्डेसन र युगिन थ्रिएटरको सहकार्यमा नाटक प्रदर्शन गरिएको थियो ।
अपाङ्गता भएका नागरिकलाई घृणा होइन प्रेम गर्नु पर्छ, उनीहरूको संरक्षण गर्ने दायित्व अभिभावक र परिवारका सदस्यको नै हो भन्ने सन्देश बोकेको उक्त नाटक प्रेम नेपालको लेखन र कमल घिमिरेको निर्देशनमा तयार पारिएको हो । नाटकमा कमल घिमिरे, चेतन घिमिरे, सुरज भण्डारी, रजनी हाङसरुम्बा, नवराज अधिकारी, कृश ढुङ्गाना र सुनिता ढुङ्गानालगायतका कलाकारले अभिनय गर्नुभएको थियो ।