• २० मङ्सिर २०८२, शनिबार

बागलुङमा ‘एकीकृत सेवा’ कार्यालय सञ्चालन

blog

उद्योग तथा पर्यटन र सामाजिक विकास कार्यालय एकीकरण भएर बनेको ‘एकीकृत सेवा कार्यालय’ । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, मङ्सिर २० गते ।
गण्डकी प्रदेश सरकारको निर्णय अनुसार एकीकृत भएका जिल्लाका उद्योग तथा पर्यटन कार्यालय र सामाजिक विकास कार्यालय एकीकरण भएर नयाँ ढङ्गले काम सुरु भएको छ ।

प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले एक कार्यक्रममा बिच नयाँ कार्यालयको शुभारम्भ गर्दै धेरै कार्यालयभन्दा एकीकृत सेवा दिँदा राम्रो हुने बताउनुभयो । त्यसबाहेक राज्यका अन्य प्रशासनिक काम पनि एकीकृत रुपमा गर्दा जनताले एकै स्थानबाट धेरै काम र सेवा लिन सक्ने प्रजिअ गुरुङको भनाइ थियो ।

‘‘प्रदेश सरकारले मितव्ययीता कायम र सेवा प्रवाहलाई प्रभावकारी बनाउन कार्यालयहरु गाभेर एकीकृत गरिएको हो’’ प्रजिअ गुरुङले भन्नुभयो, ‘‘कार्यालय सञ्चालन लगायतका खर्च व्यवस्थापनमा पनि प्रदेश सरकारलाई केही राहत हुने छ ।’’ एकीकृत कार्यालयबाट केही समय सेवाग्राहीलाई कठिनाई भए पनि सहज हुँदै जाने गुरुङले विश्वास व्यक्त गर्नुभयो ।

एकीकृत कार्यालयले सामाजिक विकासका पूर्वाधार, सामाजिक सचेतना लगायतका कामदेखि उद्योग पर्यटन कार्यालयका पूर्वाधार, उद्योग नविकरण, दर्ता र तालिम क्षेत्रका काम पनि गर्ने कार्यालय प्रमुख शिव शर्माले जानकारी दिनुभयो । हाल साविकको उद्योग पर्यटन कार्यालयबाट मुख्य काम सञ्चालन गरिए पनि साविकको सामाजिक विकास कार्यालयमा सामाजिक विकास तथा शिक्षा शाखा सञ्चालन गरिएको छ ।

गत साउनमा प्रदेश सरकारले विभिन्न सात वटा निर्देशनालय खारेज गर्ने र बत्तिस वटा कार्यालयलाई एकआपसमा गाभेर १७ मा सीमित गर्ने निर्णय गरेको थियो । निर्णयको बेला बागलुङबाट उद्योग पर्यटन कार्यालय खारेज भएको थियो । जिल्लाबाट सरोकारवालाले दबाब सिर्जना गरेपछि राजपत्रमा दुई कार्यालयलाई गाभेर एकीकृत सेवा कार्यालय सञ्चालन गर्ने निर्णय भएपछि एकीकृत कार्यालय सञ्चालनमा आएको हो ।