• १८ असोज २०८२, शनिबार

जनकपुरधाममा दसैँको रौनक (फोटो फिचर)

blog

दुर्गा पूजाको अवसरमा जनकपुरधामस्थित सजाइएका मन्दिर, पण्डाल, दर्शनार्थीको घुँइचो । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी
जनकपुरधाम, असोज १० गते ।
विजया दशमीको आगमनसँगै जनकपुरधाममा दुर्गा पूजाको चहलपहल बढेको छ । शक्तिपीठको रूपमा मानिने राजदेवी मन्दिरसहित पिडरिया माइस्थान, रामचौकस्थित बौधिमाई, मुरली चौकस्थित दुर्गा मन्दिरलाई भव्य रूपमा सजाइएको छ ।

यस्तै भ्रमरपुराको दुर्गा चौक, रामानन्द चौकलगायतका स्थानमा दुर्गाको प्रतिमा स्थापना गरी आकर्षक पण्डाल बनाइएका छन् । ती स्थानमा लाग्ने मेलाका कारण शहरमा सांस्कृतिक रौनक थपिएको छ ।

घटस्थापनादेखि नै दुर्गा मन्दिरहरूमा पूजा–आजा गर्ने भक्तजनहरूको घुँइचो बढेको छ । साँझपख झिझिया नाच, गीत–संगीत र मेलाले जनकपुरधामलाई झन् जीवन्त बनाएको छ ।


दुर्गा पूजाका कारण स्थानीय बजारहरू पनि भरिभराउ छन् । दर्शनसँगै पूजा सामग्रीदेखि लत्ताकपडा, सजावटी सामग्री, मिठाइजस्ता चिजको किनमेल गर्नेहरूका कारण बजारमा समेत भीडभाड देखिन्छ ।

जनकपुरधामको राजदेवी मन्दिरमा दर्शनका लागि आउनुभएकी संजिला साह भन्नुुहुन्छ, “दसैँमा दुर्गा माता दर्शान गर्न आउँदा मन हलुका हुन्छ । यहाँको वातावरणै उत्साहप्रद हुन्छ । बच्चाहरूलाई झिझिया नाच देखाउन पाउँदा झन् रमाइलो हुन्छ ।”

यस्तै, भीडमा भेटिएकी राधाकुमारी साहले “पूजा मात्र होइन, यसले हामीलाई परिवारसहित भेटघाट गर्ने अवसर पनि दिन्छ । बजारमा नयाँ कपडा किन्न पाइन्छ, मेलामा बच्चाहरू पनि रमाउँछन् ।”


स्थानीय व्यवसायी रामनाथ साहका अनुसार दुर्गा पूजाको समयमा बिक्री वितरण बढ्ने भएकाले व्यापारी पनि खुशी हुने गर्छन् । “दसैँका कारण बजारमा ग्राहकहरू असाध्यै बढेका छन् । यसले हाम्रो व्यापारलाई ठूलो फाइदा पु¥याएको छ,” उहाँले भन्नुभयो ।

दसैँलाई धार्मिक, सांस्कृतिक र सामाजिक उत्सवका रूपमा मनाइने भएकाले जनकपुरधामका दुर्गा पूजाले सहरलाई झन् जीवन्त र रौनकपूर्ण बनाएको छ ।