• ४ असोज २०८२, शनिबार

बिरेलौरी टेकेर सुर्माभवानी

blog

मकरीगाड तरेपछि सुरु हुन्छ अपि हिमाल गाउँपालिका । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट करिब २५० किलोमिटर डरलाग्दो सडकको आठ घण्टा यात्रापछि दार्चुलाको गोकुलेश्वर पुगिन्छ । यहाँबाट थप अढाई घण्टामा मार्मा हुँदै मकरीगाड पुगेर गाडीको यात्रा समाप्त हुन्छ । करिब आठ हजार जनसङ्ख्या भएको अपि हिमाल पालिकाले भेडाच्याङ्ग्राको उनबाट लुगा बनाउने र आलु, फापर, सिमीको खेती गरेर आत्मनिर्भर बन्ने प्रयास उहिल्यैदेखि गर्दैै आएको हो । उहिले यहाँका बासिन्दाले ताक्लाकोट भएर तिब्बतसँग व्यापार गर्थे । अहिले बहुमूल्य जडीबुटी यार्चागुम्बाले अपि हिमालको जीवनस्तर सुधारमा निकै योगदान गरेको पाइन्छ ।  

मकरीगाडबाट तीन घण्टाको उकाले चढेर मकरीकोट र त्यहाँबाट डेढ घण्टाको तेर्सो बाटो हिँडेर खण्डेश्वरीको नौपाटागाउँ पुगिन्छ । त्यहाँ ४० जनासम्मलाई बस्न मिल्ने गरी १० वटा होमस्टे बनाइएको रहेछ । साउन पहिलो साता यात्रा थालेका हामीले एक साता यहीँ बस्ने निधो ग-यौँ । 

अपि, नाम्पा हिमशृङ्खलामुनिका घुसा, खण्डेश्वरी, खात्ती, घाजिर, क्षत्तीलगायतका गाउँ प्रायः कुहिरोले ढाकिएका हुन्थे । एकैछिनमा घाम लाग्ने, एकछिनमै कुहिरो लागेर केही मिनेटमै पानी परिहाल्ने यहाँको मौसम निकै चञ्चले थियो । मौसम जस्तै चञ्चल थियो– मन । मौसम जस्तोसुकै भए पनि सदाझैँ चलेको थियो– त्यहाँको जनजीवन । ‘सुर्माभवानीको जात’ को धुमधाम तयारीले स्थानीय व्यस्त देखिन्थे । साउन ८ गते औँसीदेखि ‘सुर्माभवानीको जात’ औपचारिक रूपमा सुरु हुन गइरहेको थियो । त्यसको एक दिनअघि नै मैले खण्डेश्वरी टेकिसकेको थिएँ । 

साबिकका खण्डेश्वरी, घुसा, सितोला र गुल्जर गाउँ विकास समितिका २३ वटा वडा समायोजन गरेर अपि हिमाल गाउँपालिका गठन गरी छ वटा वडा बनाइएको रहेछ । छ वटै वडामा ७७ वटा बस्ती रहेछन् । तीमध्ये अधिकांश बस्तीबाट औँसीको दिनदेखि जात मनाउन ‘बिरे’ हरू परिवारबाट छुट्टिएर अलग्गै बस्न सुरु गरेका छन् । औँसीको दिनदेखि उनीहरू घरमा नबसी मन्दिर, सामुदायिक भवन वा छुट्टै घरमा सामूहिक रूपमा बस्न थालेका हुन् ।  

‘बिरे’ भन्नाले ‘सुर्माभवानीको जात’ का लागि तीर्थयात्रामा जाने व्यक्ति हुन् । ‘बिरे’ हरू निकै कठिन सामाजिक अनुशासनमा बस्नु पर्छ । उनीहरूले दिनमा एक छाक मात्र खानु पर्छ । साँझ र बिहान मुहानको चिसो पानीले नुहाउनु पर्छ । जुत्ताचप्पल नलगाई खाली खुट्टा हिँड्नु पर्छ । रुद्राक्षको माला लगाएर बिहानबेलुका शङ्ख बजाउँदै देवीको लोकगाना ‘उचेडा’ गाउनु पर्छ । पहिलो चोटि धार्मिक यात्रामा सहभागी हुनेलाई ‘बालोबिरे’ भन्ने गरिन्छ । त्यस्तै एकचोेटि यात्रामा सहभागी भइसकेको व्यक्तिलाई ‘बुढोबिरे’ भनिन्छ । 


जात्राका लागि तयारीमा बसेका ‘बिरे’ सँग छलफल गर्ने र समाजका अगुवासँग जात्राका विभिन्न पाटामा बुझ्ने प्रयास गर्नु मेरो पहिलो काम थियो । त्यस्तै यहाँको सामाजिक जीवनबारे प्रकाशन भएका लेख, पुस्तक आदिको अध्ययन गर्नमै एक साता बित्यो । 

समुद्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको खण्डेश्वरीबाट दोस्रो साता उकालो लागियो । नौपाटा गाउँबाट खण्डेश्वरी बजार, थुम्तीगाउँ, बिसौनाचौर, पाथा हुँदै करिब १२ किलोमिटर यात्रा पूरा गरेपछि घाजिरगाउँ पुगियो । यो गाउँ दुई हजार नौ सय मिटरको उचाइमा छ । गाउँ टेक्नुपूर्व कापुखोलाको पुल आउँछ । यो पुल तर्नुभन्दा पहिला खुट्टाको जुत्ता फुकाल्नुपर्ने भयो किनकि जात्रा अवधिभर घाँजिरगाउँभन्दा माथि जुत्ताचप्पल लगाउन निषेध गरिएको हुन्छ । सुर्मासरोवरसम्मको यात्रा सम्पन्न नहुँदासम्म अब खाली खुट्टा हिँड्नु पर्छ । घाजिरगाउँ टेकेपछि जात्राको नियम अनिवार्य मान्नु पर्छ । हरेक दिन बिहान र साँझ नुहाउने, खाली खुट्टा हिँड्ने, एक छाक मात्र खाना खानुपर्ने थियो । माछामासु र लसुनप्याज त औँसीको दिनदेखि नै बर्जित थिए ।  

उच्च लेकाली हावापानी, यहाँको मौलिक संस्कृति तथा खानपानका लागि प्रसिद्ध ‘सुर्माभवानीको जात’ १० औँ दिनमा ‘रतेडी’ बाट औपचारिक रूपमा सुरु हुन्छ । राति भव्य जात्रा लाग्ने भएकाले यसलाई ‘रतेडी’ भनिएका हो । ‘रतेडी’ को दिउँसो जात्राका लागि आवश्यक पर्ने एउटा महŒवपूर्ण वस्तु निगालोको लौरो अर्थात् ‘बिरेलौरो’ काट्न जानु थियो ।     

दोस्रो दिन घाजिर र क्षेत्तीगाउँका दुई दर्जन मानिससँगै ‘बिरेलौरो’ काट्ने कठिन सङ्घर्षमा संलग्न भइयो । घन्टौँ हिँडेर पाथापारिको जङ्गल जाँदा झमझम पानी पर्न थालेको थियो तर लौरो काट्न जाँदा छाता ओढ्न नपाइने नियम थियो । बाटोभरि अल्लोको झाडी थियो । त्यहाँबाट लड्यो भने सयौँ मिटर तल खोलामा पुगिन्थ्यो । भिरैभिर अल्लो समातेर हिँड्नुको सास्ती कष्टपूर्ण मात्रै थिएन, बिर्सनै नसकिने क्षण बन्न पुग्यो । केही घण्टाको भिरालो यात्रापछि ‘बिरेलौरो’ खोज्नका लागि टोली निगालोको झाडीमा पस्यो । टोलीप्रमुखले लौरो काट्ने अनुमति दिएपछि कम्तीमा पाँच फिटदेखि आठ फिट अग्ला र मोटा मोटा निगाला जरैबाट उखेलेर ल्याएँ । 

‘सुर्माभवानीको जात’ मा सहभागी हुने ‘बिरे’ पनि ‘उबादेशी’, ‘उनादेशी’ र ‘बाइदेशी’ गरी तीन प्रकारका हुन्छन् । क्षेत्तीगाउँ मूलथलो भएकालाई ‘उबादेशी’, घाजिरगाउँ पुख्र्यौली भएकालाई ‘उनादेशी’ र त्योबाहेक अरू ठाउँबाट गएकालाई ‘बाइदेशी’ भनिन्छ । त्यसैले ‘बिरेलोरौ’ पनि तीन प्रकारका हुन्छन् ।

‘उबादेशी’ र ‘उनादेशी’ लाई छ फिट लामो लौरो दिइन्छ भने ‘बाइदेशी’ ले साढे चार फिटको लौरो पाउँछन् । दुई जना ‘मुला’ का लागि साढे सात फिटको लौरो तयार पारिन्छ । दुवै ‘मुला’ ले सात दिनसम्म जातको नेतृत्व गरेर स्थानीय नियम पालना गराउँछन् ।

‘बिरेलौरो’ बोकेको टोली घाजिर र क्षेत्तीगाउँतर्फ हिँड्यो । जात्राका लागि ‘बिरे’ तथा अरू पाहुना घाजिर र क्षेत्तीगाउँतर्फ आउन थालेका थिए । यी दुई गाउँ यो क्षेत्रका बासिन्दाका पुख्र्यौली गाउँ हुन् । ‘रतेडी’ का लागि सबै आआफ्ना पुख्र्यौली गाउँ फर्किइसक्छन् । ‘रतेडी’ को साँझ गाउँ प्रवेश गर्ने ‘बिरे’ तथा अन्य पाहुनालाई घाजिरगाउँमा भव्य स्वागत गरिन्छ । क्षेत्तीगाउँमा पुख्र्यौली घर भएकाबाहेक अरू कसैले यहाँ प्रवेश पाउँदैनन् । झमक्कै साँझ परिसकेको थियो । स्थानीय ‘ढाका बाजो’ को मधुर ध्वनिले सङ्गीतमय वातावरण सिर्जना गरिरहेको थियो । बुढापाकादेखि महिला, बालबालिका, किशोरकिशोरी चाहै... चाहै... भन्दै स्वागतका लागि गाउँछेउको गेटतर्फ अघि बढे । तलबाट पाहुनाको लस्कर गाउँ प्रवेश ग¥यो । हजारी फूलका हरिया पातसँगै मिसाइएका सुगन्धित बुटीहरू फ्याँक्दै ‘बिरे’ र ‘जत्तोर’ हरूलाई स्वागत गरेर गाउँ भिœयाइयो ।  ‘माणौँ’ (मन्दिर) मा रहेका पाहुनाको सङ्ख्या यकिन गरेर घाजिरगाउँका ४०÷४५ घरमा प्रतिघर २० जनासम्म भाग प¥यो । जसले बढी पाहुनाघरमा लगेर खुवाउन सक्यो उसले बढी देवताको वरदान पाउने मान्यता अनुसार स्थानीयमा पाहुना भिœयाउने चटारो थियो । अबको एक हप्ता पाहुनालाई देवताका दूत सम्झेर स्थानीयले मिठोमसिनो खानेकुरा खुवाएर घर घरमा राख्ने गर्छन् । 

रात घर्किंदै जाँदा सुर्मादेवी र धौलापुर देवताका गाथाले गाउँ गुञ्जायमान बन्न थालेको थियो । महिला र पुरुष मिलेर सुमधुर लयमा देवीदेवता, वीरविराङ्गना र इतिहासका गाथा गाउँदाको क्षण उल्लासमय थियो । ‘उचेडा’, ‘भाडीखेल’, ‘चैत’, ‘ढुस्को’, ‘धारुगीत’, ‘फाग’ गाएर रात बित्यो । बिहानपख ‘भल्लाउलो’ गाउँदै ‘रतेडी’ समापन हुँदा हिमाली पाखामा डाँफे कराउन सुरु गरिसकेका थिए ।  जात्राको दोस्रो दिन घाजिरगाउँमा सरोवर यात्राको तयारी सुरु भयो । यात्राका लागि सबै तयारी पूरा भएपछि दिउँसो ‘जोला निसान’ (झन्डा), ‘ढाको’ (बाजा), पुजारी, ‘मुला’ र ‘बिरे’ हरूले व्रmमशः गाउँ छाडे । स्थानीय वेशभूषामा सजिएका महिला पछि पछि लागे ।  

केही समयपछि पानी पर्न सुरु भयो तर छाता निषेध भएकाले भिज्दै, चाहै खेल्दै यात्रा अघि बढ्यो । साढे एक किलोमिटर उचाइमा उक्लिएपछि क्षेत्तीगाउँबाट स्वागतका लागि सांस्कृतिक झाँकी आयो । झमझम बर्सातमा दुवैतिरको समूह क्षेत्तीको ‘काना ढुँ ढुँ’ भन्ने ठाउँमा भेट भयो । यहाँ एउटा सीमारेखा बनाइएको हुन्छ । घाजिर र क्षेत्तीका महिलाले यो रेखा नाघेपछि मात्र जात्रा अघि बढ्न पाउँछ । 

महिलाले जात्रा अघि बढाउन कुनै हतार गरेनन् । यो सीमारेखा नाघेको ‘भिडियो फुटेज’ निकै महŒवपूर्ण थियो । कतिखेर पो रेखा पार गरिन्छ भन्ने केही टुङ्गो थिएन । अलिकति अघि बढ्दै, फेरि अलिकति पछि सर्दै हात हातमा फूल बोकेका उनीहरूले चाहै खेल्दै केही मिनेट रमाइलो गरे । पानीमा भिज्दै यो दृश्य अन्तिमसम्म रेकर्ड गरियो तर क्यामरामा पानी पसेर अर्को फसाद आइलाग्ला भन्ने अनुमानै गरिएन । १० मिनेटको रस्साकस्सीपछि जात्रा अघि बढ्यो । सयौँको भिड बर्सातमा भिज्दै, हिलोमा हिँड्दै क्षेत्तीगाउँ पुग्यो । गाउँवासीले भव्य स्वागत गरेर सांस्कृतिक झाँकी प्रदर्शन गरे । साँझ ‘बिरे’ हरू मण्डपमै बसे । अन्य ‘जत्तोर’ हरूलाई घरघरमा लगेर मिठोमसिनो खुवाएर बसालिने चलन छ । 


तेस्रो दिन बिहानै क्षेत्तीगाउँका ‘बिरे’ हरू पनि मिसिएर सुर्मासरोवरका लागि यात्रा सुरु भयो । करिब १४० जना ‘बिरे’ को लस्कर क्षेत्तीगाउँमाथिको बाटो भएर अघि बढ्यो । गाउँछेउको तल्लो बाटोबाट कनेरीहरू अघि बढे । ‘बिरे’ हरूका झोलाझाम्टा आधी बाटोसम्म पु¥याउन हिँडेकालाई ‘कनेरी’ भन्ने गरिन्छ । केही किलोमिटर पर क्षेत्तीखोलावारिबाट ‘कनेरी’ हरूले बोकेका झोला बुढा ‘बिरे’ हरूले बोक्न थाले । ‘ढाको’ बजाउने टोली र ‘कनेरी’ ‘बिरे’ बिदाइ गरेर गाउँ फर्किए । तीर्थयात्री उकालो लागे । 

बिहानको खाजा खाने ठाउँ आइपुग्यो, अन्नीखाना । अन्नीखानामा खाजा खान पनि नियम बनाइएको थियो । ‘मुला’ हरूले हरेक यात्रीले खानेकुरा पाए÷नपाएको यकिन गरे । त्यसपछि दुवै ‘मुला’ ले एक÷एक गाँस मुखमा हालेर चपाए । त्यसपछि ‘ल यसरी चपाएर खानुहोस् है’ भनेपछि सबैले खान सुरु गरे । 

यो नियम हरेक खाजा खाने ठाउँमा लागु हुन्छ । यात्राका व्रmममा आफूखुसी कसैले कुनै खालको खानेकुरा खान पाइँदैन । अगाडिपछाडि हिँड्न र बाटो छाडेर दायाँबायाँ जान पनि ‘मुला’ को अनुमति आवश्यक हुन्छ । केही घण्टाको ठाडै उकालोपछि ‘लाडचढाउना’ हुँदै चार हजार सात सय मिटरको उचाइमा पुगियो । अपि, नाम्पा हिमशृङ्खलासँगै जोडिएको कापुचुली हिमालको फेद, ‘बिरफट्टा ठड्युल’ पासबाट अघि बढेको लस्कर तीन घण्टाको ओरालो झरेर कालागाड पुग्यो । भिरको बाटो भएकाले यो ओरालो निकै चुनौतीपूर्ण थियो । झन् बर्सातका कारण बाटो चिप्लो थियो ।  

तीन हजार आठ सय मिटरको कालागाडबाट फेरि उकालो सुरु भयो । झमक्कै साँझ पर्न लाग्दा ठाडै उकालाले भोकाएका यात्रीलाई थप चुनौती भइरहेको थियो । चार घण्टाको सङ्घर्षपूर्ण हिँडाइपछि चार हजार छ सय मिटरको उचाइमा ‘दुबइखान’ पुगियो । उकालोमा एक एक इन्च गरेर हिँड्दाको सङ्घर्ष निकै कठिन थियो । जति दुःख भए पनि न फर्किन सकिन्थ्यो, न बाटोमै बस्न मिल्थ्यो । पानी निरन्तर परिरहेकै थियो । अबको बाटो तेर्सो र ओरालो थियो । ओरालोमा चिप्लेर नलड्ने सायदै थिए । लडेर कोही झाडीमा हराउँथे । टर्च बालेर उनीहरूलाई खोज्नु पथ्र्यो । राति १२ बजे आजको गन्तव्य बिरेओडार पुगियो । यो राति खाना नखाई भोकै बस्नु पर्छ । लगातार १७ घण्टा हिँडेर ‘बिरे’ हरू ओडारमा बसे । ओडारको एउटा कुनामा बसेरै रात काटियो ।   

चौथो दिन ‘बिरे’ हरू सुर्मासरोवरका लागि हिँडे । बिरेओडारभन्दा अगाडि छाता निषेध थियो तर वर्षा निरन्तर थियो । चार हजार मिटरको उचाइमा पुगेपछि घुँडा र कुइनोले टेक्दै हिँड्नुपर्ने नियम छ । यसरी हिँड्दा दायाँबायाँ कतै हेर्न मिल्दैन । बाटोमा आँखाअगाडि देखा पर्ने हरेक ढुङ्गामा हरियो झार राख्दै देवीको नाम जप्दै हिँड्नु पर्छ । सरोवरनजिक पुग्दा झन् घिस्रेर हिँड्नु पर्छ । देवीलाई खुसी पार्न र आफूले गरेका गल्तीकमजोरीप्रति माफी माग्दै यसरी हिँड्ने चलन रहेको स्थानीयको भनाइ छ ।  

कठिन यात्रा गरेर तलाउको किनारमा पुग्दा पानी झनै दर्कियो । चार घण्टाको उकालो हिँडेर चार हजार ३६० मिटरको उचाइमा रहेको सरोवर पुगेपछि बिरेलौरो पानीमा डुबाएर अर्पण गरिन्छ । त्यसपछि देवीलाई चढाउन लगेको चाँदीको सानो काइँयो, सुनको टिलो (टुव्रmो), सिक्का तथा अन्य चिनाबाना तलाउमा चढाएर यात्राको जात्राको एक चरण समापन भयो । 


देवीको पूजापछि तलाउको माटोलाई ‘गङ्गामाटी’ का रूपमा सबैले आआफ्ना थैलीमा भर्न थाले । एकआपसमा माटोको टीका लगाउँदै उत्सव मनाउँदै सबै जना खुसी देखिए । दार्चुलातर्फका ‘बिरे’ हरूले बिदाइ गरेपछि मात्र बझाङतर्फको समूह स्नान गर्न तलाउमा पुग्यो । एउटै बुवाका दुई भाइमध्ये एक जना दार्चुला र अर्को बझाङमा बस्न थालेका र उनीहरूकै सन्ततिले सरोवरसम्मको कठिन यात्रा गर्नुपर्ने चलन सताब्दिऔँदेखि चल्दै आएको बताइन्छ ।  सरोवरबाट फर्किएर ‘बिरे’ हरू त्यो साँझ पुनः ओडारमै बसे । ओडारमा हरेक ‘बिरे’ बाट घिउ, तेल, पिठो सङ्कलन गरी पुरी पकाउँदै रातभरि भोज गरियो । 

अर्को दिन बिरेओडारबाट बिहान ४ बजे नै हिँडियो । नौ घण्टाको यात्रापछि सबै जना चार हजार पाँच सय मिटरको उचाइमा रहेको बिरफट्टो भन्ने ठाउँमा आएर जम्मा भए । यहाँ ठाडै उकालोमा ११५ मिटरको दौड भयो । बालाबिरेहरू मात्र सहभागी हुन पाउने दौड पाथागाउँका जेहेन्द्र सिंह धामीले जिते । उहाँले ‘मुला’ बाट अबिरको टीका र यात्रीहरूबाट बधाई पाए । विजेताले सबैभन्दा अगाडिको लाइनमा ‘मुला’ सँगै हिँड्न पाउने भएकाले उहाँ नायक जस्तै बनेर अघि लाग्नुभयो ।   

त्यसपछि साढे चार हजार मिटरको उचाइमा लटरम्म फुलेको ब्रह्मकमल फूल टिपेर माला साट्ने बगरमा फूलहरूको माला गाँस्ने काम भयो । स्थानीयले ‘ब्रह्मकोइला’ भन्ने ब्रह्मकमलको माला शरीरभरि लगाएर साँझ पर्ने बेलामा क्षेत्तीगाउँ पुगियो । क्षेत्तीगाउँमा ‘बिरे’ हरूको भव्य स्वागत भयो । उनीहरूले सरोवरबाट ल्याइएको गङ्गामाटी निधारमा लगाउँदै आफन्तसँग खुसियाली मनाए । त्यो साँझ ‘बिरे’ लाई घर घरमा लगेर खुवाउने गरिन्छ । यो दिन क्षेत्तीगाउँका जुनसुकै घरमा जोसुकै गएर पनि खान र बस्न पाउने छुट हुन्छ । सबै घर ‘बिरे’ का आफ्नै घर जस्ता मानिन्छन् । जात्राको छैटौँ दिन क्षेत्तीमा विश्राम लिएका ‘बिरे’ घाजिरगाउँ पुग्छन् । घाजिर पुगेर सुर्माभवानीको जात्रा समापन हुन्छ ।