• ४ असोज २०८२, शनिबार

माटोको माया

blog

धनीराम गाउँका एक मेहनती, इमानदार र परिश्रमको प्रतीक हुन् । गाउँका सबैले उनलाई अहिलेसम्म पत्याएकै छन् । उनी गाउँका धनीमानी व्यक्ति होइनन् । दुःखजिलो गरेर दुईचार मुरी अन्न बिव्रmी गरी परिवार पालनपोषण गर्दै आएका सामान्य व्यक्ति हुन् । पण्डित बाजेले न्वारानमा राखिदिएको उनको नाम धनीराम हो (धनिराम थापामगर) तापनि उनी भौतिक सम्पत्तिका धनी कहिल्यै हुन सकेनन्, केवल भावनाका धनी मात्र भइरहे । उनी कसैप्रति रिस, डाहा, ईष्र्या गर्र्दैनथे र जस्तोसुकै दुःख आइपर्दा पनि विचलित हुँदैनथे । उनले कहिल्यै पनि आफ्नो भाग्यलाई दोष दिएनन् । उनले जीवनमा कसैप्रति द्वेषभाव पनि राखेनन् । कुनै पनि कुरामा दोष देखाउने र अर्कालाई अपजस लगाउने काम गरेनन् । 

कुनै वर्ष असिना परेर बालीनाली नष्ट हुँदा पनि उनी निराश हुँदैनथे र दैवप्रति केही गुनासो गर्दैनथे, प्रकृतिको नियमै यस्तै हो भनेर प्रकृतिको नियममा विश्वास राख्थे । उनी आफ्नो मेहनत अनुसार प्राप्त हुने फलमा नै सदैव खुसी र सन्तुष्ट रहन्थे । आपूmले परिश्रम गरे अनुसारको फलमा सन्तुष्ट हुनु पर्छ, कसैलाई छलेर ढाँटेर खानु महापाप हो भन्ने ठम्याइ उनमा थियो । सकेसम्म दुःखी गरिबलाई सहयोग गर्नु पर्छ, व्यवहारमा कसैको मन दुःखाउनु हुन्न भन्ने पवित्र भावनाले ओतप्रोत भएका थिए उनी । साँच्चै भन्नु पर्दा उनी भगवान्ले रचिदिएका एक आदर्श मानव थिए । 

दुई छोरा र तीन छोरीका बाबु धनीरामले आफ्ना सन्तानप्रतिको आफ्नो कर्तव्य पूरा गरिसकेका छन् । छोराछोरी सबैलाई गाउँको हाइस्कुलबाट एसएलसीसम्मको पढाइपछि बिहेदान गरिसकेका छन् । अहिले उनका १२÷१३ जना नातिनातिना पनि भइसकेका छन् । उमेरले ७० वसन्त पूरा गरिसकेका धनीराम आपूmभन्दा उमेरले दुई÷चार वर्ष कान्छी उमेरकी बुढीसँग गाउँमै बसेका छन् । उनीहरू दुवैलाई अहिलेसम्म बाहिर देखिएको कुनै रोग व्यथा छैन । वर्षमा एक÷दुई पटक रुघाखोकी लाग्नु स्वाभाविक हो । त्यस्तै पाँच÷छ वर्षको छँदा गाउँमा शीतलाको खोप लगाउन बाहिरबाट मानिसहरू आएका थिए । तिनीहरूले पाखुरामा खोप लगाइदिएका थिए । खोप लगाएको घाउ पाक्यो । खोप लगाएको ११ दिनपछि गाउँमा बुढापाका जम्मा भएर चिलाउनेको रुखमुनि शीतलाको पूजा गरेको चाल पाउँछन् उनी तर त्यो खोप खोइ किन लगाएको हो, अहिलेसम्म थाहा छैन उनलाई । त्यो खोप लगाएको ठाउँमा घाउ भएर पाकेको थियो । त्यस ठाउँमा अहिलेसम्म पनि घडी जत्रो खत बाँकी छ । त्यसबाहेक उनीहरूले अहिलेसम्म जुकाको औषधी पनि खाएका छैनन् । 

२० वर्षको उमेरमा भाइहरूसँग छुट्टीभिन्न भएर जो मिलेको पैतृक अंश लिएर बसेका धनीराम बाबुआमाका जेठा छोरा हुन् । बाबुआमा र भाइहरूलाई पैतृक घर छाडेर धनीरामले छुट्टिएको एक सालभित्रै बार्दली झिकेको एकतले घर खडा गरेका थिए । रगतपसिना बगाएर बनाएको त्यही घरमा उनको गहिरो भावनात्मक सम्बन्धले जरा गाडेको छ । घर भन्ने शब्द सामान्य हिसाबले हेर्दा एउटा निश्चित संरचना अनुसार बनेको भौतिक वस्तु बुझिन्छ तर भावनात्मक अर्थमा बुझ्नुपर्दा यसले अझ व्यापक र धेरै कुरालाई इङ्गित गरेको हुन्छ । 

अङ्ग्रेजी भाषामा ‘हाउस’ भन्दा एउटा निश्चित स्वरूपको भौतिक संरचनाको घर मात्र भन्ने बुझाउँछ भने ‘होम’ भन्नाले भौतिक संरचनाका साथै त्यसभित्र बस्ने घरपरिवारका सदस्यलगायत घरमा पालिएका पाल्तु जनावर, खेती, बाली, छरछिमेक, साथीभाइ, नातागोता, समाज, धर्म, संस्कारसम्मलाई इङ्गित गरेको हुन्छ । त्यस्तै धनीरामको घर पनि यी सब कुराले भरिपूर्ण एउटा भावनाको प्रतिमूर्ति हो किनकि उनको घरमा परिवारका सदस्यहरू मात्र होइन; गाई, भैँसी, गोरु, कुखुरा, हाँस, भेडा, बाख्रा, कुकुर, बिरालोसमेत उनैको आर्जनमा आश्रित थिए । उनका खेतबारीमा अन्नबाली झुलेका हुन्थे, घरबारीमा मौसम अनुसारका फलपूmल फलेका हुन्थे । त्यही नै उनको भावनाको घर हो । उनलाई सहरमा छोराहरूले बनाएका घरमा गएर बस्न मन लाग्दैन । त्यहाँ न उनको रगतपसिना भिजेको छ; न त उनको भावनासँग जोडिने कुनै वस्तु नै छ । न छरछिमेक, साथीभाइ पाउँछन्; न त पानी नमिसाएको शुद्ध भैँसीको दुध खान पाउँछन् । उनको विचारमा सहरका घर त केवल एउटा बास बस्ने र रात काट्ने ओडार जस्तो मात्र हो । त्यहाँ उनले न वल्लोपल्लो घरको छिमेकी नै चिनेका छन् न त आफ्नै घरमा डेरामा बसेकालाई चिनेका छन् । सहरका मानिसले केवल पैसा चिनेका छन्, मानवीयता र मानवीय भावना चिनेका छैनन्् । पानी खान पनि पैसा तिर्नुपर्ने सहरको बसाइ त केवल लुटिने, लुटाउने, लुट्नेहरू बसेर कृत्रिम जीवन बिताउने ठाउँ जस्तो लाग्छ उनलाई ।

उनीसँगैका दोस्ती, दवाँली धेरै त भारतीय सेनामा भर्ती भए; कोही कोही बेलायती सेनामा पनि पुगेका छन् । कति नेपाली सेना, प्रहरीमा भर्ना भए; कोही कलकत्ता, दिल्ली, बम्बई गएर पैसा कमाएर आए । कति त नराम्रा रोग लिएर आए र भगवान्का प्यारा पनि भइसके । अहिले गाउँका उनका उमेरका धेरै साथीको पेन्सन आउँछ तर धनीराम धनको धनीराम छैनन् नामको मात्र धनीराम रहे । कहिलेकाहीँ उनकी बुढीले पनि उनलाई धनकै कुरामा जिस्क्याउने गर्छिन् । तिन्टी छोरी बिहे गरेर पारि गाउँमा दिएका उनीहरू पनि अहिले गाउँमा छैनन् । चितवन, मधेशतिर बसाइँ सरेर गइसके । वर्षमा एक पटक हिउँदमा भेट गर्न आउँछन् । दुई भाइ छोरा पनि एसएलसी पास गरेर सहर पसेपछि उतै बिहे गरेर घरजम गरे, थातथलो जमाए । गाउँ फर्किने सम्भावना छैन ।

छुट्टीभिन्न भएपछि ढुङ्गामाटोको जोडाइमा बनाएको घर २०७२ सालको महाभूकम्पले छियाछिया पारेर गयो । बस्न नहुने भयो । छोराहरू सहरबाट आएर बाउआमालाई उतै लैजान प्रयास गरेर सहरमा लगे पनि । त्यहाँ एक हप्ताजति के बसेका थिए, सहरको वातावरण र रहनसहनमा उनी रत्तिन सकेनन् । भत्किएको भए पनि उनको भावनाको घर गाउँमै थियो, उनले घरको माया मार्न सकेनन् । एक हप्तापछि बुढी अगाडि लगाएर गाउँमै फर्किए । जस्ताको अस्थायी छाप्रो बनाएर एक साल त्यही छाप्रोमा बिताए । घर बनाउन सरकारी सहयोगका लागि उनको पनि नाम दर्ता भइसकेकोे थियो । गाउँमा सरकारी प्राविधिक आए । केही सरकारी सहयोग रकम पनि आयो, नपुग रुपियाँ आफैँले थपथाप गरेर एउटा सानो भूकम्पप्रतिरोधी घर बनाएका छन् । त्यसो त धनीराम आफैँ पनि गाउँको एउटा सिपालु डकर्मी हुन् । उनले गाउँका कतिको घर, धन्सार बनाइदिएका थिए; त्यसको हिसाब छैन । 

पहिले परिवारबाट छुट्टिएपछि र दोस्रो २०७२ सालको महाभूकम्पपछि उनले पुख्र्यौली थलोमा दुई दुई पटक घर बनाए । यो ठाउँमा दुई पटक घर बनाउँदा उनले परिश्रम र पसिना कति बगाए होलान् ? त्यो पाटो महŒवपूर्ण छ । त्यसैले त उनको घरसँग गहिरो भावनात्मक सम्बन्ध जोडिएको छ । त्यही घरमा पाँच सन्तान सग्लोसँग जन्मिएर लालनपालन गरे । उनीहरू बढे, पढे, हुर्किए । बिहादान भयो, आआफ्ना हिसाबले कमाइ गर्न सहर पसे । छोरीहरू विवाह गरेर आफ्नै घर गए र घरजम बसाए । यो घर धनीरामका लागि फापेको लच्छिनको घर हो, परिश्रम र पसिनाको पुञ्ज हो । अतीतको सम्झनाको धरोहर हो । 

७० वर्ष नाघेका र जीवनको लामो समय ढुङ्गामाटोसँग खेलेका धनीराम पहिले जस्तो परिश्रम, मेहनत गर्न सक्दैनन् । आपूm दुई जनालाई खान पुग्नेसम्म घरबारीको जग्गा खेती गरेका छन् । वस्तुको नाममा पनि एउटा दुहुनो भैँसीका माउपाडा मात्रै छन्, अनि गोडाचारेक कुखुरा छन् । अरू जग्गाजमिन बाँझै छ । गाउँमा काम गर्न सक्ने बलिया ठिटाहरू छैनन् । रोजगारीका लागि कोही सहर पसे, कोही विदेश हानिए । गाउँमा धनीरामको उमेर समूहका दोस्तीदाँैतरी छ÷सात जना अझै बाँकी छन् । हिजोआज उनीहरूको दैनिकी बिहानको खाना खायो, सामान्य केही काम भए ग¥यो अनि डाँडाको शमी चौतारामा भेला भई पुराना कहानी सुनाएर बित्छ । त्यसमा भारतीय, बेलायती नेपाली सेना प्रहरीबाट रिटायर भएकाहरूले सेनामा छँदा तालिम गर्दाका समयको दुःख र लडाइँमा भोग्नु परेका कथाव्यथा सुनाउँछन्, नेपाली सेना र प्रहरीबाट रिटायर भएकाहरू माओवादी द्वन्द्वमा भोगेका कठिनाइ र ज्यान जोगिएकोमा आपूmलाई भाग्यमानी सम्झन्छन् । यही समाजमा रमाएका छन्– धनीराम । उनको भावनात्मक सम्बन्ध गाँसिएको घर यही हो । यही माटो उनका लागि प्यारो छ ।