• ४ असोज २०८२, शनिबार

बब्बाल बौडेश्वर

blog

आम्मामा ! यत्रो भिड ?  यस्तो होला भन्ने त कल्पना नै थिएन ! म सम्झन्छु, ती दिन जतिखेर फाटफुट मात्र मान्छे आइपुग्थे यहाँ । अहिले त मेला जस्तो पो देखिन्छ, माथि सडकदेखि तलसम्म नै !

म चकित हुन्छु, साथीहरूलाई भन्छु, “दिन आएछ यसको पनि ।” कुरा हो, २०८२ साउन ३ गतेको । महिनाको पहिलो शनिबार जुर्ने किफायती यात्रा अर्थात् स्रष्टा पदयात्रा नेपालको आयोजनामा सम्पन्न यात्राको । 

मौसम हेरेर गन्तव्य तय गर्ने प्रचलन छ, यस संस्थाको । वर्षायाम भएकाले यस पटकको स्रष्टा पदयात्रा योजना बनेको छ, टोखा–झोर । नदेखेको, नपुगेको होइन, टोखा पटक पटक डुले फिरेकै, पैतालाले नापिएकै हो र त्यहीँनेर त हो । यस किसिमको कार्यव्रmमै लिएर समूहमा जानुमा भिन्नै स्वाद हुन्छ, यसैले सामेल भइएको छ ।  

यस पटकको यात्राका संयोजक वासुदेव ठकुरी र भोजन व्यवस्थापक माधव विडारी ‘चेतनपथ’ रहेको सूचनाले खानपिनका लागि केही बोक्नु लैजानु नपर्ने भएको छ । हिँड्नु धेरै छैन, हेर्नु, बुझ्नु छ, यस कारण यो यात्रा सहज एवं हल्का छ । 

पदयात्रा नायक शीतल दाइको उर्दी छ, “बिहान ७ बजे ग्य्रान्डी चोक आइपुग्नु ।” सोही सूचना अनुसार हतारहतार निस्कन्छु, घरबाट र ठ्याक्कै भनेकै समयमा पुग्छु सामाखुसी चोक । यताउता हेर्छु, अहँ, मेरा जस्ता पदयात्राका पोसाक लगाउने एउटै पो देखिँदैनन् । 

हैट ! हतारिएछु कि क्या हो ? आफैँसँग शङ्का लाग्छ, ८ बजे पो रहेछ कि समय ? हाते फोनमा समूहको सूचनापाटीमा आँखा पु¥याउँछु, ७ बजे नै हो भन्नेमा ढुक्क हुन्छु । यताउता आँखा लगाउँदै गर्दा देख्छु, विष्णु शर्मा पराजुलीलाई । नजिकिन्छु, उहाँसँग र भन्छु, “समयको पालना गर्नेमा हामी नै पर्ने रहेछौँ, होइन त सर ?”

घुमफिरमा रुचि राख्ने र कतिपय अन्य स्वभाव पनि मिल्ने भएकाले प्रायः सँगसँगै हुन्छौँ, हामी पदयात्रामा । साँच्चिकै सजग छौँ हामी समयको मामलामा पनि, म आफू त सधैँ सजग रहन्छु नै विष्णुसरमा पनि सजगता पाउँछु । केहीबेरमा झुल्कनुहुन्छ, पदयात्रा नायक शीतलदाइ । उ... परै उहाँलाई देखेपछि उतै लाग्छौँ हामी र टोखातर्फ जाने ठुलो बसमा बस्छौँ । बस गुड्ने समयसम्म एक दुई थपिन्छन् सहयात्री । सोध्छु, यहीँ होइन र दाइ जम्मा हुने भनेको ?

शीतल दाइ शीतल शैलीमै भन्नुहुन्छ, “यो त सामाखुसी हो नि, ग्य्रान्डी अस्पताल अगाडि हो, भेट हुने भनेको ।” 

म भन्छु, “त्यसो भए त्यसै गरी लेख्नुपथ्र्यो नि सूचना ! बाहिरबाट आउनेले त यसैलाई पो भन्छन्, ग्य्रान्डी चोक, ग्य्रान्डी अस्पताल जाने बाटो फाट्ने ठाउँ भएकाले, कसो यतै अलमलिने पो रहेछु, मै 

पनि !” बस गुड्छ, एकैछिनमा पुग्छौँ ग्य्रान्डी अस्पतालसामु । त्यहाँ केही जुटेका छन्, जुट्ने व्रmम चल्छ केहीबेर । यस पटक विधान आचार्य दाइ र अरू केही हुनुहुन्छ, पहिलो पटक सहभागी हुने । अन्ततः झन्डै ३० जनाको टोली बन्छ र ८ बज्न लाग्दा हाम्रो यात्रा अघि बढ्छ ग्य्रान्डी अस्पताललाई दायाँ पारेर उत्तरतर्फ ।

यस यात्राका अगुवा वासुदेव ठकुरी “यहाँ पर स्विमिङ पुलसहितको एउटा फनपार्क छ । त्यो अवलोकन गर्ने, चिया पिउने अनि भुतखेल इन्द्रायणी मन्दिर हुँदै टोखा सहरका विभिन्न भागको अवलोकन गर्ने छौँ,” अबको योजना सुनाउनुहुन्छ । 

त्यसै अनुसार अघि बढ्छ गाढा पहेँलो रङको टिसर्ट, उज्यालो खरानी रङको सुरवाल अनि रातो क्यापको पहिरनमा सजिएको टोली ।

देख्नेका आँखा पर्छन्, हाम्रा एकनासका पहिरनमा । पढ्न सक्नेले पढ्छन् हाम्रा छातीमा अङ्कित ‘स्रष्टा पदयात्रा नेपाल २०७३’ नसक्नेले मुखैले जिज्ञासा राख्छन्, सोध्छन् के ? कता ? कसो ? 

यात्राका व्रmममा हामीले यस्तो चासो भोग्दै र जवाफ दिँदै आएका हुन्छौँ, जहाँ पुग्दा पनि । एउटै पोसाकमा यसरी पाकादेखि युवासम्मको, महिला पुरुष सबैको यसखालको उत्साहपूर्ण सहभागिता रहेको समूह देख्दा जिज्ञासा उत्पन्न हुनु अस्वाभाविक पनि त होइन ।

हामी भुतखेलको तल्लोपट्टि पुग्छौँ, यहीँ भेटिन्छन्, भोजन व्यवस्थापक माधव भाइ फनपार्कको प्रवेशद्वारछेउ खडा । 

यहाँ स्थानीयबाट स्वागत हुन्छ, निधारमा राता अक्षता र गलामा राता धजाबाट हाम्रो । फनपार्कभित्र भित्रिँदा साँच्चिकै रमाइलो लाग्छ । यहाँ पौडी पोखरी, बालबालिकाका लागि खेल्ने ठाउँ, विभिन्न सामग्री मात्र होइन स्थानीयले प्रयोग गर्ने गरेका तर हाल लगभग लोप भइसकेका स्थानीय प्रविधि, औजार उपकरणको सङ्ग्रहालय पनि छ । देखे भोगेकाले पुराना दिन स्मरण गर्ने, “समय कहाँबाट कहाँ पुग्यो है ?” भन्ने र नदेखेकालाई दङदास परेर हेर्ने अवसर प्राप्त हुन्छ यहाँ । यहाँ टोखा निवासी सर्जक, समाजसेवी र अगुवाको समेत उपस्थिति छ । पहिलो रचना वाचन सम्पन्न हुन्छ, यहाँ । स्थानीयबाट आफ्ना रचना वाचनका साथै टोखाबारेमा जानकारी प्राप्त हुन्छ ।

टोखा प्राचीन नगरी हो, काठमाडौँ उपत्यकाभित्रको । यसका बारेमा थुप्रै किंवदन्ती छन् । कृषिकर्म यहाँको प्रमुख पेसा हो र यहाँको चाकु प्रसिद्ध छ । यो फनपार्कभित्रको विशेष कार्यव्रmममा एक स्थानीय वक्ता भन्छन्, “हामीले चाकु पहिलो मिठाइ हो भन्ने दाबी गरिरहेका छौँ ।” यस दाबीको पुष्टिका लागि उनी आफ्नो तर्क पनि दिन्छन् । 

यहाँको कार्यव्रmम सकेर हामी अघि बढ्छौँ, भुतखेलतर्फ । सँगसँगै छन् केही स्थानीय र पस्छौँ टोखा सांस्कृतिक नगरीभित्र र चाहार्न थाल्छौँ, कहिल्यै नपुगिएका यहाँका गल्लीहरू । 

चण्डेश्वरी, इन्द्रायणी, सपनतीर्थ आदि टोखाका प्रसिद्ध धार्मिक स्थल हुन् । यीबाहेक पनि यस भूमिका ठाउँ ठाउँमा निकै पुराना मन्दिरलगायतका संरचना र शिलालेख छन् । यहाँ छैटौँ शताब्दीको शिलालेखसमेत भएको दाबी गरिएको छ । 

टोखाभित्र पसेर घुम्दाघुम्दै समय बितेको पत्तै हुँदैन, एकै पटक पेटमा मुसा दगुर्न थालेपछि पो झस्कन्छन् सबै र भन्न थाल्छन्, “भोक लाग्यो !” र पछ्याउन, पिरोल्न थाल्छन् माधव भाइलाई ।

वर्षायाम त्यसमा पनि साउनको महिना । हुनुपर्ने हो, झमझम वर्षा तर छैन झरी, छ चर्को घाम र लिनु परेको छ सहारा छाताको, पानीबाट होइन घामबाट जोगिन ।

अब सपनतीर्थ पुग्छ टोली र दोस्रो रचनावाचन सम्पन्न गरी निस्कन्छ, चर्को घाममा सडकमा । 

पुग्नुपर्ने उ..... पारि बौडेश्वर हो, अबको गन्तव्य तर केही सुर्रिए पनि मध्याह्नको भोको पेट, चर्को घाममा हिँडेरै सो दुरी पार गर्ने आँट अधिकांशमा छैन । यसैले गाडीको सहारा लिने सहमति हुन्छ र टोली बसमा कोच्चिएर पुग्छ बौडेश्वर झरनामाथि । समय दिउँसोको साढे १ भइसकेको छ । भिडभाड चहलपहल छ यहाँ माथि सडकदेखि नै । 

उक्लने ओर्लनेको ताँती समान छ । लाग्छ बिदाको दिन भएकाले यसो भएको होला । तालतालका मान्छे, आधुनिकताको चरम रूप, छाँट बेछाँटका पोसाक र पहिरन देख्न पाइन थाले छ, यहाँ पनि । 

पेट भोकाएको छ तर आँखा रोमाञ्चित हुन्छन्, देखेर । 

नजिकैको होटेलमा छ, भान्छाको व्यवस्था । त्यतै पसेर गरिन्छ, पेटपूजा भोक मिठो मानेर ।  भोकले सुस्ताएको टोली भोजनपछि नयाँ ऊर्जासाथ ओर्लन्छ र भिड छिचोल्दै पुग्छ, बौडेश्वरको आँगनमा । 

त्यसो त धेरै वर्षा भइनसकेकाले हुनुपर्ने जति ठुलो छैन वा भनौँ वर्षायाम झल्काउने उन्मत्त वैँशालु छैन झरना तर छर् छर् छर् छर् छरिएर झरिरहेकै छ । झरनासँग रमाउनेहरू छन् प्रशस्त झरना छेउ, अनि उता बौडेश्वर महादेवको दर्शन गर्न गुफाभित्र पस्ने निस्कनेको लाम उस्तै ।  विस्तार भएर तलतिर र परतिर यताउता पनि सरेको रहेछ, यो क्षेत्र । त्यतातिर पनि देखिन्छ, चहलपहल । यो खोँच, यो सेरोफेरोमा पाइला राख्न, पैताला अड्याउन पनि ठाउँ खोज्नुपर्ने अवस्था छ, मान्छे नै मान्छे भएकाले आज ।

अहो यस्तो भिड पो हुन थाले छ ! म चकित हुन्छु । 

पटक पटक आइएको हो यहाँ तर यस्तो कहिल्यै देखिएको थिएन । लाग्छ अब यसले पनि तान्न थाले छ, मान्छेहरूलाई । यसले पनि पाएछ प्रचार राम्रै । आखिर विज्ञापनको जमाना न हो ? प्रचारप्रसार नभएसम्म कसैले वास्ता गर्दैन । जब विज्ञापन हुन्छ, तब चासो बढ्छ । अनुभव छ हामी सबैलाई निकम्मा चिज नै होस् विज्ञापनले त्यसलाई बिकाउ माल बनाउँछ, बहुमूल्य नै होस् तर विज्ञापन छैन भने उपेक्षित हुन्छ ।  यस्तै त थियो बौडेश्वर अमूल्य भएर पनि मूल्यहीन, उपेक्षित झन्डै एक दशकअघिसम्म । समयले यसको दिन फिरेको छ । उत्साही स्थानीय, युवा, समाजसेवी, जनप्रतिनिधि र सरोकारवालाको चासो र सव्रिmयताले बौडेश्वर एउटा धार्मिक एवं प्राकृतिक आकर्षक गन्तव्यका रूपमा सुपरिचित भएको छ । 

बालबालिका, युवा, युवा जोडी, वृद्धवृद्धा आदि सबै उमेर समूहका मानिसको उपस्थिति छ, यहाँ यतिबेला । बडेबडे ढुङ्गाहरू छन् यहाँ, डुङ्गाहरूकै बिचमा झरनामा खेल्ने र लुछुप्प भिजेर लगाइएका पहिरन चपक्क टाँसिँदा रमाउनेहरू आफैँलाई बिर्सेर प्रकृतिको काखमा हराएका छन्, प्रकृतिमा समर्पित छन् । 

फोटो खिच्न पनि आलोपालो गर्नुपर्ने अवस्था छ । 

यसको विकास प्रयासतर्फ दृष्टि दिँदा यस स्थानको आकर्षण बढाउन विभिन्न प्रयास भएका छन् । झन्डै एक दशकयता यो टोखा नगरपालिकाकै एक धार्मिक स्थल मात्र नभई पर्यटकीय केन्द्रका रूपमा पनि विकास गरिँदै छ । 

स्थानीयमा आएको जागरुकता, आफ्नो ठाउँ बनाउन आफैँ अग्रसरता लिनु पर्छ भन्ने चेतनाको विकास र स्थानीय तह अधिकार सम्पन्न भएसँगै आफ्नो क्षेत्रलाई, आफ्नो पालिकालाई चिनाउने प्रयत्न भई नै रहेका छन्, धेरैतिर । यसै व्रmममा धार्मिक, सांस्कृतिक, घरेलु उद्योग र उत्पादन एवं सम्भावित पर्यटकीय स्थलको विकास, विस्तार गर्न सक्दो ध्यान दिँदै आएका छन् धेरै पालिका जसले लुकेका ठाउँ देखिन थालेका छन्, नयाँ नयाँ गन्तव्य थपिन थालेका छन् । यसले पनि आफूलाई सो सूचीमा समावेश गर्न सफल भएको छ ।

भगवान् शिव अर्थात् महादेव गोसाइँकुण्ड जाने व्रmममा एक रात बास बसेको ठाउँका रूपमा लिने गरिएको छ, यो स्थानलाई । यस स्थानसँग जोडिएका अरू पनि छन्, कथा किंवदन्ती र यो धार्मिक दृष्टिले एक पवित्र स्थलका रूपमा स्थापित हुँदै छ ।

यसअघि पनि पटक पटक गइएको हो, बौडेश्वर झरना । पहिले झरनाको महìव थियो, अहिले झरनासँगै धार्मिक महìव बढेको छ । जुनसुकै उमेर समूहका लागि पनि यो एक उपयुक्त गन्तव्यका रूपमा विकास हुँदै छ । फेरिएको छ, बौडेश्वरको पहिचान अनि खुल्दै छ, यसको वास्तविक रूप । र, हेर्दाहेर्दै बब्बाल बन्दै छ बौडेश्वर ।