राजेश्वर नेपालीसँग मेरो चिनजान पैँतीस वर्षजति पुरानो हो । चिनजान २०४५ सालको प्रारम्भमै गोरखापत्रमा जागिर खाँदा भएको हो । कसरी भयो ठिक ठिक यकिन छैन । न्युरोडमै कसैले गराइदिएको हुनु पर्छ । त्यसपछि चिनजान गराउने काम उहाँको थियो । “हमर अहाँके चेहराके एक मात्र प्रतिनिधि सरकारी सञ्चारमाध्यम मेँ” ... यसरी भन्नुहुन्थ्यो । मलाई आश्चर्य लाग्छ मेचीदेखि महाकालीसम्मका यतिका मानिससँग उहाँको चिनजान कसरी सम्भव भएको होला । नेपालगन्जका पन्नालाल गुप्तादेखि सुनसरीका श्यामलाल मिश्रसम्म । राजनीतिज्ञदेखि कर्मचारी, प्रशासक, प्राध्यापक, शिक्षक, विद्यार्थी, वकिल, साहित्यकार, व्यापारी, सत्तापक्ष विपक्ष कुन क्षेत्रका मानिससँग उहाँको सम्बन्ध थिएन । सम्झना यति बेजोड कि प्रदीप गिरिले त उहाँलाई ‘इनसाइक्लोपीडिया’ नै भन्नुहुन्थ्यो ।
समाजवादी सङ्गत
बिहारका प्रखर समाजवादी नेता जयप्रकाश नारायण, मुख्यमन्त्री कर्पुरी ठाकुर, समाजवादी नेता बसावन सिंहसँग उहाँको उठबस थियो । स्वतन्त्रता सेनानी बसावन सिंह (जसले १८ वर्ष जेलमा बिताए) सँग उहाँको विशेष दोस्ती थियो । जेलमै ५७ दिनसम्म आमरण अनसन गर्दा सिंहको अनसन टुटाउन उहाँको आमालाई पठाइयो तर आमाले छोरो बसावनलाई अनसन नटुटाएस्, स्वतन्त्रताका लागि लडाइँ नछाडेस् भनी आशीष दिएर फर्केर आइन् । भनिन्छ, सन् १९७४ को इन्दिरा गान्धीविरुद्ध आन्दोलन सुरु गर्नुअघि जयप्रकाश नारायणले तीन जनासँग सल्लाह गरेका थिए तीमध्ये एक थिए बसावन सिंह । ती बसावन सिंहसँग राजेश्वर नेपालीको घन्टौँ छलफल हुन्थ्यो । भन्नु परेन यस्ता त्यागी नेताको प्रभाव राजेश्वर नेपालीमा प¥यो ।
पटना बसाइ र हिमाल एसियाको कथा
नेपाल सन्देश पत्रिकाका मूल मानिस थिए बालेश्वर अग्रवाल । उनी नेपालका हितैषी थिए तर जनसङ्घ (आरएसएस) सँग सम्बद्ध । उनको टिममा डा. तुलसी गिरि, जोगेन्द्र झाहरू थिए, उनीहरू राजतन्त्र समर्थक थिए । नेपाल सन्देशका सम्पादक दुर्गाप्रसाद खबारेले एक पटक सम्पादकीय लेखे, बिपीलाई यतिका दिनसम्म जेलमा राख्नु ठिक होइन । यसले त्यो टिममा ठाकठुक प¥यो । अनि खबारेले २०२६ मा छुट्टै पत्रिका निकाले हिमाल एसियाको नाममा । राजेश्वर नेपाली त्यसका लागि लेख्न थाल्नुभयो । नेपालीको उग्र लेखन पञ्चायती शासनको कोप भाजनमा प¥यो । त्यसैले उहाँ प्रायः पटनामा बस्न थाल्नुभयो । त्यति बेला दिल्लीभन्दा पटना नेपालको सेन्टर थियो ।
निधि प्रकरण
गान्धीवादी नेता महेन्द्रनारायण निधिसँग उहाँको निकै राम्रो सम्बन्ध थियो । उहाँका पुत्र बिमलेन्द्रसँग भने सम्बन्ध कहिल्यै सुमधुर रहेन । यसको कारण थियो, जनकपुरको राजनीतिमा बिमलेन्द्रद्वारा राजेश्वरजीलाई निषेध गर्ने नीति । उहाँले पनि बिमलेन्द्रविरुद्ध मोर्चा कस्नुभयो । बिमलेन्द्रसँग नेपालीको सम्बन्ध यति खराब थियो, यति चित्त दुखेको थियो कि एक पटक उहाँले मलाई भन्नुभयो, “महेन्द्रनारयण निधिसँग भएको पत्राचार बिमलेन्द्रले मसँग मागिरहन्छ तर म दिन्नँ, सबै जलाइदिने छु....।” तर मैले उहाँलाई त्यसो नगर्न सुझाव दिएको थिएँ । धनुषा जिल्ला सभापतिको निर्वाचनमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता पनि दिइएन उहाँलाई । १२६ जनामा उहाँलाई त्यसको दुःख सधैँ रह्यो ।
तानाशाहीविरुद्ध पत्रकारिता यात्रा
धनुषाको बिन्धी बेलाग्रामका राजेश्वरजी २०१८ सालमा मात्र १६ वर्षको उमेरमा पत्रकारितामा आउनुभयो । त्यसपछि आजीवन पत्रकार रहनुभयो । तथापि पत्रकारिता उहाँका लागि मिसन रह्यो, मूलध्येय थियो प्रजातन्त्र । पहिले निरङ्कुश पञ्चायती शासनविरुद्ध त्यसपछि संवेदनहीन प्रजातान्त्रिक नेताविरुद्ध । राजाले भर्खर भर्खर प्रजातन्त्र खाएका थिए । एउटा युवक जसको पैतृक लिगेसी थियो । पिताजी रामदुलार साह महात्मा गान्धीलाई भेट्न मुजफ्फरपुर पुग्नुभएको थियो । फर्केपछि खादीको लुगा लगाउन थाल्नुभयो र पछि राणाविरोधी आन्दोलनमा होमिनुभयो । राजेश्वरजीले एक अन्तर्वार्तामा भन्नुभएको छ, “पिताजीको प्रभाव प¥यो । त्यही आगो २०१८ मङ्सिर २६ गते प्रस्फुटित भयो पत्रकार राजेश्वर नेपालीका रूपमा ।” महेन्द्रनारायण निधि र बलराम नायक आदि पव्रmाउ परे । त्यो पहिलो समाचार नेपाल सन्देशको लागि लेखे र त्यसपछि फर्केर हेरेनन् ।
तानाशाही व्यवस्थाविरुद्ध निरन्तर सङ्घर्षमा होमिएका नेपालीको कलम नै हतियार बन्यो । सत्य नछाड्ने आगो ओकल्ने निर्भीक र सत्ताविरोधी पत्रकारिता उहाँले गरिरहनुभएको थियो । यो शासकहरूलाई सह्य हुने कुरा थिएन । २०३६/३७ सालमा पटक उहाँ जेल जानुभयो । तैपनि राष्ट्रपुकार, नेपाल टाइम्स, विश्वदीप, नेपाल वाणीमा सक्रियतापूर्वक समाचार पठाउन छोड्नुभएन । पटनाको हिमाल एसियाको संवाददाता पनि हुनुहुन्थ्यो उहाँ । २०४२ सालको बमकाण्ड उहाँको जीवनमा ठुलो मोड लिएर आयो राजकाज मुद्दाको रूपमा ।
बमकाण्डमा यातना
२०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह चलाइरहेको बेला रामराजाप्रसाद सिंहको जनवादी मोर्चाले ठाउँ ठाउँमा बम विस्फोट गरायो । यसै पनि नेपालीजी प्रशासनको हिट लिस्टमा हुनुहुन्थ्यो । उहाँलाई डा. लक्ष्मीनारायण झा, ईश्वर लामा, सूर्यनाथ रानी, पदम लामा, दीलिप चौधरी, साकेतचन्द्र मिश्र आदिसँगै पक्राउ गरी कठोर यातना दिइयो । झासँगै प्रायः मारिए । नेपालीजीलाई नौ महिनासम्म नारकीय जीवन भोग्नु प¥यो । कति कुटाइ खाए कति । हातमा हतकडी खुट्टामा बेडी दुई जनालाई सँगसँगै । एक पटक पालो बदल्ने सेन्ट्रीले हतकडी कडी खोल्न बिस्र्यो । धोतीमै पिसाब भयो । नलमा नुहाउँदा पुलिसले डन्डा बर्सायो । नेपालीजीको कसुर यति मात्र थियो, उहाँले भारतमा रामराजाप्रसाद सिंहलाई भेट्नुभएको थियो । रामराजाले आफ्नो पार्टीमा आउन प्रस्ताव गर्दा म गान्धीवादी हुँ गोली ठोके पनि देशमै लेखेर बस्छु भन्नुभएको थियो । एक दिन महेन्द्र पुलिस क्लबमा उहाँलाई ल्याइयो । डिएसपी थिए कुनै बेला जनकपुरमा सई । उहाँले भन्नुभयो, “तपाईंहरूसँग मेरो ब्याक हिस्ट्री होला म कांग्रेसी हुँ । गान्धीवादी कांग्रेसी हुँ ‘बम फटाका’ मा मेरो विश्वास छैन । उता मदनमणि दीक्षित, चन्द्रलाल झा, मणिराज उपाध्याय, गोपालदास श्रेष्ठ, देवेन्द्र गौतम सबैले लेखे पत्रकारलाई दुःख दिनु ठिक भएन ।”
बिपी होइन गणेशमान आदर्श
यति हुँदा पनि कांग्रेसमा मूल्याङ्कन भएन । नेपाली कार्यकर्ता हुनुहुन्थ्यो तर कार्यकर्ता मात्र हुनुहुन्थेन । गल्तीमा कसैलाई नछाड्ने, सत्यमा हिँड्ने मानिसको पीडा गजबको हुँदो रहेछ । ऊ सबैको हुन्छ, उसको कोही हुँदैन । उहाँ गुटको हिसाबले गिरिजाप्रसाद कोइरालासँग नजिक हुनुहुन्थ्यो तर चाकरिया कहिल्यै हुनुभएन । चाकरी नजान्नेको जे हबिगत हुन्छ त्यही नेपालीको भयो । सद्भावना परिषद्का नौ जनामध्येका संस्थापक हुनुहुन्थ्यो नेपाली । पहिचानहितको प्रजातन्त्रको पक्षधर नेपालीको आदर्श बिपी थिएनन् गणेशमान सिंह हुनुहुन्थ्यो । गजेन्द्रनारायणलाई पनि उहाँ प्रेरणाका स्रोत मान्नुहुन्थेन ।
समानतायुक्त नेपालको सपना
धोती कुर्ताबिनाको मधेश अकल्पनीय र अस्वीकार्य छ भनेर लाग्नुभयो । भेदभावमुक्त र समानतायुक्त नेपाल नै उहाँको सपना थियो । कांग्रेसले उहाँलाई अन्याय गरेको कारण उहाँको मधेशी एसेन्स (भावना) नै होला । राष्ट्रवादको नवीन व्याख्या लिएर हिँडिराख्ने मधेशबाट उठेको नेपाली स्वर हो उहाँ । नेपालीजी पहाड र मधेशकाबिच कडी हुन भनी नबुझ्नेले नै उहाँमाथि अन्याय गरे । त्यो अन्यायविरुद्ध नेपाली आजीवन लडिरहनुभयो । उहाँको विचारमा समदर्शी सहअस्तित्व र समानता नै नेपालको प्राण हो । शासकहरू जागून भनेर मधेशको झन्डा उठाए पनि उहाँले प्रजातन्त्र छाड्नुभएन । सम्भवतः यसै कारण उहाँले न्याय पाउनुभएन । कांग्रेसले सद्भावना र सद्भावनाले कांग्रेस बुझ्ने कारण पनि उहाँ ओझेलमा पर्नुभयो । अझ उहाँ हिन्दी अभियन्ता पनि हुनुहुन्थ्यो । मिथिला र मैथिलप्रिय नेपालीका मैथिली र नेपालीमा कैयौँ कृति छन्, हिन्दीमा हुने नै भयो । हिन्दीलाई भने मधेश जोड्ने सूत्र ठान्नुहुन्थ्यो ।
२०६७ साल कात्तिक अङ्कको युवामञ्चका लागि तपाईंलाई कुन रूपमा सम्झियोस् भनी प्रश्न राख्दा “मलाई कलम वा राजनीतिबाट स्वाभिमानको लडाइँ लड्ने व्यक्तिको रूपमा ठान्दिए हुन्छ । म कुनै पदमा रहुँ नरहुँ लोकतन्त्र सबल होस्, सारा नेपालीका भावना समेटियोस् ।” राजीव गान्धी क्यान्सर हस्पिटलमा २०८० भदौ ११ गते नेपालीको भौतिक काया पञ्चतत्वमा विलीन भयो । उहाँसँग विमति राख्नेहरूले पनि प्रार्थना गरे । उहाँप्रति माया र सद्भावको अभूतपूर्व उभार देखेँ । समानता र न्यायका लागि, भातृत्व र सद्भावका लागि, समावेशी प्रजातन्त्रका लागि आजीवन सङ्घर्षरत एक अभूतपूर्व योद्धाप्रति जनकपुरमा अभूतपूर्व जन सम्मान देखेँ । सबैको प्रार्थनाले चमत्कार हुन्छ कि भन्ने लाग्थ्यो तर कालको अगाडि कसको सिप लाग्छ र ? नेपालीजीले जीवनमा कुनै पद पाउनुभएन । त्यो उहाँको अभीष्ट थिएन । अभीष्ट थियो, उहाँको राष्ट्रको दायरा फराकिलो होस् । आफ्नै बन्धुलाई परायी आँखाले हेर्न बन्द होस् । उहाँले अप्ठ्यारो परिस्थितिमा प्रजातन्त्रको लामो लडाइँ लड्नुभयो । प्रजातन्त्र आएपछि त्यसको कमजोरीविरुद्ध सङ्घर्षमा लाग्नुभयो र अस्ताउनुभयो ।