• १ साउन २०८२, बिहिबार

मुस्ताङको थासाङमा सुविधासम्पन्न प्रशासकीय भवन बन्ने

blog

थासाङ गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 
मुक्तिनाथ (मुस्ताङ), साउन १ गते ।
तल्लो मुस्ताङको थासाङ गाउँपालिकामा भूकम्प प्रतिरोधात्मक ३० कोठको तीन तले नयाँ सुविधासम्पन्न प्रशासकीय भवन बन्ने भएको छ ।

लामो समयदेखि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले आगामी २०८३ साल फागुन मसान्तसम्म सम्पन्न गर्ने गरी भवन शिलन्यास गरेको छ । बुधबार एक समारोहका बिच कोवाङमा अध्यक्ष प्रदिप गौचन तथा उपाध्यक्ष सोमल हिराचनले संयुक्त रुपमा गाउँपालिकाक प्रशासकीय कामसँगै समुदाय अनुकूल हुने विभिन्न कार्यहरुलाई सहज हुने गरी सभाहल सहितको भवन बनाउने गरी शिलन्यास गर्नुभएको हो ।

भवनको शर्मा अनिष एण्ड आशिष जेभीले निर्माणको लागि ८ करोड ४९ लाख २ हजार ६१ रुपियाँमा सम्झौता गाउँपालिकाका इन्जिनियर त्रिलोचन गिरीले बताउनुभयो । नेपाल सरकार सहरी विभागमा स्थानीय पूर्वाधार आयोजनाको ६० प्रतिशत र गाउँपालिकाबाट ४० प्रतिशत लगानीमा सम्पन्न हुने छ ।

प्रशासकीय भवन बनाउन स्थानीय विष्णु शेरचनले डेढ रोपानी, प्रदिप गौचन र प्रविण गौचनले तीन रोपनी, दुरेन्द्र शेरचन एक रोपनी र रत्न शेरचन आधा रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो ।

गाउँपालिकाले भवन उद्घाटन समारोहमा जग्गादातालाई सम्मान समेत गर्ने जनाएको छ ।  निःशुल्क जग्गा प्राप्ति भएपछि भवन बनाउन सहज भएको गाउँपालिका अध्यक्ष गौचनले बताउनुभयो । भवन शिलान्यास कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत निमित्त सकुन्तला अधिकारी, वडा नं २ का वडा अध्यक्ष गौतम शेरचन लगायतका वडा अध्यक्षहरु, वडा सदस्य तथा कर्मचारीहरुसहित स्थानीयहरुको उपस्थिति रहेको थियो ।