• १ साउन २०८२, बिहिबार

जुम्लीखोलामा पुल बनेपछि जैमिनीको यात्रा सहज

blog

जैमिनी नगरपालिका–१ को जुम्लीखोलामा बनेको पुल । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, साउन १ गते ।
गत वर्ष असारमा परेको वर्षातले जैमिनी जोड्ने सबै सडक अबरुद्ध भए । सबै सडकमा पहिरोको सास्ती थियो । मालढुङ्गा कुश्मीसेरा सडक खण्डको जुम्ली खोलाले भने ढुङ्गामुढा ल्याएर थुपारेपछि यातायात चल्न सकेन ।

झरी पर्नासाथ जैमिनी नगरपालिका– १ को जुम्लीखोलामा यस्तै सास्ती भइरहन्थ्यो । सवारी चल्न नसकेर यात्रीले हैरानी खेप्थे । सामान ढुवानी गर्नेले झनै बढी समस्या भोगेका थिए । यो वर्ष भने वर्षात लाग्दा–नलाग्दै जुम्लीखोला पुल बनेको छ । यो पुलबाट सवारी साधन पनि गुड्न थालिसकेका छन् ।

पूर्वाधार विकास कार्यालयको लगानीमा बिएम जयकालीका भगवती संयुक्त निर्माण कम्पनीले एक करोड ९४ लाख ५१ हजार रुपियाँमा यो पुल बनाएको हो । गत पुसमा काम थालेर समयमै काम पूरा गरेको नगर उपप्रमुख हरिहर शर्माले बताउनुभयो । जुम्लीखोलामा झण्डै १६ मिटर लामो पुल बनेको हो । यो वर्ष जैमिनीको कुश्मीसेरा बजारदेखि राङखानी जोड्ने रुम्टाखोलामा पनि पुल बनेको छ । यो पुल पनि छिट्टै सञ्चालनमा आउने उपप्रमुख शर्माले जानकारी दिनुभयो ।

पुल बनेपछि जैमिनीको यात्रामा हुने सास्ती हटेको छ । कुश्मीसेरा जोड्ने जैमिनी धामदेखि पनि सडक बनिसकेको छ । कालीगण्डकी करिडोर जोड्ने सडकले धेरै सवारी करिडोर भएर गुड्न थालिसकेका छन् । तर बलेवादेखि टाकुरीहुँदै कुश्मीसेरा बजार र टार जानेहरुलाई यो पुल उपयोगी बनेको छ ।

सडक बनेको दुई दशकपछि अघिल्लो वर्ष सडक कालोपत्र भए पनि यहाँ पुल नभएर यात्रीले हैरानी खेपेका थिए । अब भने यो सडकले सहज यात्रा बनाएको वडा नं. १ कुश्मीसेराका अध्यक्ष विष्णुप्रसाद आचार्यले बताउनुभयो । २०६५ सालदेखि यो सडकमा नियमित सवारी चल्न थालेपनि जुम्लीखोलामा धेरैले समस्या भोग्थे । पुल नभएकोले पल्लोपाखा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीले समेत सास्ती खेप्ने गरेकोमा अब भने सहज भएको अध्यक्ष आचार्यको भनाइ छ ।