• १ साउन २०८२, बिहिबार

कार्यालय भवनका लागि नेपालि कांग्रेस रौतहटद्वारा जग्गा खरिद

blog

गौर –३ मा खरिद गरिएको जग्गा अवलोकन गर्नु हुँदै नेपाली कांग्रेस रौतहटका नेता कार्यकर्ताहरु । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 
चन्द्रपुर (रौतहट), साउन १ गते ।
नेपाली कांग्रेस रौतहटले सदरमुकाम गौरमा जग्गा खरिद गरेको छ ।  कार्यालय भवन निर्माण गर्ने उद्देश्यले गौर नगरपालिका –३ मा ५ कठा ९ धुर जग्गा खरिद गरेको नेपाली कांग्रेस रौतहटका सचिव मिथिलेश कुमार मिश्रले जानकारी दिनुभयो ।

पार्टीका नेता कार्यकर्ता, शुभचिन्तक तथा चन्दा दाताको सहयोगमा २५ लाख प्रति कठाको दरले सो जग्गा खरिद गरिएको सचिव  मिश्रले बताउनुभयो ।

नेपाली कांग्रेस रौतहटका सभापति एवम् मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादवले वर्षौ देखिको अथक प्रयासपछि पार्टीको जिल्ला कार्यालयका लागि आफ्नै जग्गा खरिद गरिएको बताउनुभयो ।

जिल्ला कार्यालयको आफ्नै भवन नहुँदा कार्यालय सञ्चालनमा हुँदै आएको समस्या केहि महिनामै  अन्त्य हुने जिल्ला सभापति एवम् मधेश प्रदेश सरकारका अर्थमन्त्री यादवले बताउनुभयो । नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादवले चाँडै भवन निर्माण कार्य सुरु हुने बताउनुभयो ।

सबैको अपनत्व हुने गरी कार्यालय भवन निर्माण गरिने तथा भवन निर्माणमा सहयोग गर्न सबैको साथ सहयोगको खाँचो रहेको मधेश प्रदेश सभापति यादवले बताउनुभयो ।

नेपाली कांग्रेस रौतहटको आफ्नै कार्यालय भवन निर्माणपछि  पार्टीको  गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने मधेश प्रदेश सभापति यादवले बताउनुभयो ।