सिन्धुली समाचारदाता
सिन्धुलीमाढी, साउन १ गते । बिपी राजमार्गमा सवारी चाप बढेसँगै पैदलयात्रीका लागि सडकपेटी निर्माण गरिएको छ । सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीले कमलामाई नगरपालिकाको माझीटार, मल्लागाउँ, भिमान र गोलन्जोर गाउँपालिकाको खनियाँखर्क क्षेत्रमा बिपी राजमार्गमा जोडेर सडकपेटी (फुटपाथ) निर्माण गरेको हो । सडकपेटी निर्माणसँगै पैदलयात्रीलाई हिँडडुल गर्न सजिलो भएको स्थानीयले बताएका छन् ।
मल्लागाउँ क्षेत्रमा विगत डेढ महिनादेखि बिपी राजमार्गको क्षेत्राधिकारभित्र पैदलयात्री हिँडडुलका लागि सडकपेटी निर्माण भइरहेको स्थानीय बलराम अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “मानिसको बढी चहलपहल हुने ठाउँ हेरेर बनाएको सडकपेटीले पैदलयात्रीलाई धेरै सजिलो भएको छ ।” “बिपी राजमार्ग साँघुरो भएका कारण सडकपेटी नहुँदा पैदलयात्रीलाई हिँडडुल गर्न साह्रै जोखिम र कठिन थियो,” उहाँले थप्नुभयो, “सवारी चापका कारण हरेक दिन बिहान ९ बजेपछि १÷२ बजेसम्म बिपी राजमार्ग निकै व्यस्त रहन्छ । त्यो समयमा पैदलयात्रीलाई बाटो काट्न पनि मुस्किल हुन्छ ।”
केडिएन ब्रदर्स प्रालिले एक करोड ३४ लाख रुपियाँको लागतमा मल्लागाउँमा ४६० मिटर र खनियाँखर्क क्षेत्रमा ३६० मिटर लम्बाइको सडकपेटी निर्माण गरिरहेको छ । त्यस्तै सुनापाती कन्स्ट्रक्सन प्रालिले एक करोड १२ लाख रुपियाँ लागतमा माझीटारमा तीन सय मिटर लम्बाइको र रोइलिङ कन्स्ट्रक्सन प्रालिले भिमानमा पाँच सय मिटर लम्बाइको सडकपेटी बनाइरहेको सडक डिभिजन कार्यालय खाल्टेले जनाएको छ । सडकपेटी निर्माणको रेखदेखमा संलग्न कार्यालयका प्राविधिक नवीन चौलागाईंले सडकपेटीको चौडाइ डेढ मिटर रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सडकपेटी निर्माण मल्लागाउँ क्षेत्रमा अन्तिम चरणमा पुगेको छ । माझीटारमा ७५ प्रतिशत, भिमानमा ९५ प्रतिशत सकिएको अवस्था छ ।”
आवश्यकता अनुसार रिटेनिङ वाल, छेउमा रेलिङ र इँटा बिछ्याएर प्राविधिक स्टिमेट अनुसार सडकपेटी निर्माण भइरहेको उहाँको भनाइ छ । सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दीबास सडक (बिपी राजमार्ग) आयोजनाले गत वर्ष पनि राजमार्गको मल्लागाउँ, रातमाटा, माझीटार क्षेत्रमा सडकपेटी निर्माण गरेको र निर्माणमा लापर्बाही गर्नाले माझीटार क्षेत्रमा सडकपेटी भत्किएको अवस्था रहेको स्थानीयले गुनासो गरेका छन् ।